हराएको पहिचान
नवीन भट्टराई
अष्ट्रेलिया
लाग्थ्यो मलाई भूटानी हुँ
भूटानको माया गर्दछु
थाहा हुन लाग्यो पछि जब
असली भूटानी वर्गमा पर्दोरहेनछु ।
दँग हुन्छु, भँग हुन्छु
ज़िन्दगीसँग छर्लङ्ग हुन्छु
आफैँलाई एक अभागी ठान्छु
जिज्ञासु दिमाग ड्यम्म थुन्छु ।
फेरि अर्कों जिज्ञासा पलाउँछ
जत्ति खिचे त्यत्ति उर्लाउँछ
म को हुँ? कुन देश मेरो?
प्रश्न माथि प्रश्न पहिर्याउँछ
लाग्थ्यो मलाई नेपाली हुँ
नेपालको माया गर्दछु
त्यै भेष मेरो त्यै भाषा-भूषा
यद्यपि नेपाली भन्न पछि किन सर्दछु ?
न जन्मिए म के भो र त्यहाँ
खाई-खेली हुर्केँ त्यही जमिनमा
चरे धेरै डाँडा-पाखा अनि खोला-नाला
गाएँ त्यही देशको महिमा
जाग्छन् धेरै प्रश्नहरू आफ्नो पहिचानको
तर, उत्तर कस्ले गरी दिने ?
जिउँदै छु म पहिचानहीन जीवन
तर, उद्धार कसले गरिदिने ??