हामी गोबर्धन उठाउछौं

बुद्धमनि ढकाल

पश्चिम आकाशको पहेंलो घाम
खरको छानाभरि पोखिएको बेला
गोधूलिमा बन चरेर फर्कन्थे
तिलकु, गोल्मु, तार्कु र गोठु
पहेंलपुर निहुरिएका बालासँग
सयपत्री हाँसेको हुन्थ्यो
नांग्लाभरि थुपारेर
गासिन तयार हुन्थे , थुँगाहरु
त्यो उन्माद
मादल च्याब्रुङ्सम्म घन्केको हुन्थ्यो
हाम्रो गाउँमा
तिहार पसेको होला फेरि |
खोइ यहाँ त,
सयपत्री फुलाउन सकिएन ,
हरियो गोबरले आँगनभरि
स्वागत् ओछ्याउन सकिएन
सहरमा मुर्झाएका थुँगाहरु
बेचिँदा रहेछन्, यहाँ
सडक छेउका पसलबाट
हाम्रो वैभव किन्न
आफ्नो अश्मिताले दिएन
अन्तरात्मा छचल्किएर पोखिन खोज्छ ,
खोइ देउसी भट्ट्याउन
यहाँ आँगनको चारकुना मिलेन,
भैलेनीको आशिस थाप्न
एक नांग्लो दीपशिखा बाल्न सकिएन
मादल च्याब्रुङ् ठोकेर
एक फेर नाच्न पनि त
प्रकृति चाहिँदो रहेछ
यहाँ त साक्षात्कार गर्न सकिएन
प्रकृतिको त्यो अथाहा भण्डारसँग
जहाँ हामीले
हातमा हँसिया लिएर
सुनौला बाला बटुलेका थियौं
छुपुछुपु हिलोसँग रसिया गाएका थियौं ,
मियो गाडेर
मंग्सीरमा दाइँ गरेका थियौं ,
थोपा थोपा फुलेको थियो
हामीले जिलाएको माटो
साँच्चै उर्वरा भूमी बनेको त्यो ।
अब हामी गोबर्धन उठाउन
देशभरि छरिएका छौं ,
औंसीको कालरात्रीलाई चिर्न
खिनौरा मोमहरु जोडेर
भोलि राँको सल्काउने छौं
भातृत्वको संखनाद
बहिराहरूलाई सुनाइछाड्ने छौं
धनसिरी, जलढक्का बाँधेर
कुलागांग्रीको चुचुरोमा,
अनि फर्फरिनेछ, एउटा झण्डा
जसले युग-युगान्तर वकालत गर्नेछ
नागरिकहरुको पक्ष्यमा ।
२०५४, तिहार

2 Replies to “हामी गोबर्धन उठाउछौं”

  1. Shiva lal dahal

    Sir,
    The poem is spontaneous and nostalgic too.i am happy to read your creation after a long break of time.Hope we will be reconnected through creation and mail.
    Sl dahal.

  2. Raghu Osti

    sir,the poem is both realistic and optismistic.those readers who haven`t known abt bhutan and the way we lived there may not be able to get the gist of the poem .however those who were once familiar with `goothu,` `lalmu`,tilku`,tarku`, really reach to the depth of your poem.even i can visualise the whole poem infront of my eyes,the one which was very common to me. sir i expect more such creations from you in the distant future .thank you sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *