हामी र हाम्रा वाद्य-वादन

मधु घिमिरे
वस्टर,मासाचुसेट्स,अमेरिका

(अनुष्टुप छन्द)

नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति
वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति
बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ
मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ  । १

बज्दा प्रभातमा घण्टी हाम्रा यी कान खुल्दछन्
आवाज सङ्खको सुन्दा सबै किटाणु भाग्दछन्
झुकाई शिर यो नित्य गर्नु पर्दछ वन्दना
दिनको थालनी हाम्रो गर्दछन् वाद्य-वादन ।  २

बाजा नौमति ती बज्दा विवाह भव्य बन्दछ
नर्सिंगा सनही बन्छन् शोभा सौन्दर्य दायक
सारङ्गी तबला झ्याम्टा थप्दछन् सान रौनक
नेपाली हुनुमा हाम्रो आफ्नै छुट्टै छ गौरव । ३

बजाई बाँसुरी रम्छन् बाँसुरी पारखी हरू
बजाई मुरली नाच्छन् मुरली पारखी हरू
हार्मोनी डफली झ्याली दमाहा डम्फु ढोलक
बज्दा मादल  मुर्चुङ्गा गाउँछन् गीत गायक । ४

एकतारे बिनायोले हर्दछन् सबको मन
ढ्याङ्ग्रो बजाउँदै धामी उफार्छ फुर्तिलो तन
साह्रै उदेक लाग्दा छन् नेपाली वाद्य-वादन
जोगाई नित्य राख्नाले हाम्रो हुँदैन दोहन । ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *