हाम्रो जिन्दगी बित्दछ

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

हतार छ चटारो छ काम कर्तव्यको सधैँ
किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ
लालाबाला र सन्तान अगाडि पनि लानु छ
खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ १

अर्को घोडा चढ्यो भन्दै हात्ती नैं चढ्नु पर्दछ
परिश्रम गरे मात्र जिन्दगी फुल्छ फल्दछ
ऑंट हिम्मतले खोज्छन् सुशान्ति सजिलो पथ
खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ २

ओराली र उकालीमा पाखा भन्ज्याङ खोचमा
बालुवा घाम पानीमा मरुभूमि र फाँटमा
दोकान कारखानामा जिन्दगी यो दगुर्दछ
खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ ३

कार्यालय र कुर्सीले पर्खिन्छन् नगए पछि
चुलोमा अग्नि बल्दैन आम्दानी नभए पछि
पैसाको मोहले गर्दा अहङ्कार बढाउँछ
खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ ४

देखासिकी गरी खान मनले यो सिकाउँछ
बढी आरिस गर्नाले भित्र भित्रै जलाउँछ
घाटमा लास देखेर मृत्युले झकझक्याउँछ
खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ ५

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *