हिर्दोक जिन्दगी

–तुम्बेहाङ्ग लिम्बू

तिम्रो बयलपाते कुराले
फल्गु भएको जीवन
प्वाकलमा
दुःखको मुस्लीले कुटेको चिउरा जस्तै
चेप्टो भएको छ
सबै–सबै जीवनको रसहरु गुमाएर ।

तथापी
भर्सेला परोस् भन्दिन म
बरु बनाएर एउटा परिखात
दुमो जोगाएकोछु विचारको
यही विचारको पाहुर दिनेछु अर्को पिडीलाई
ता कि उनीहरुको स्वभिमान
तिम्रो निकृष्टता सामु
हाराकिरी गर्न विवश नहोस् ।

तिमी जे पनि भन
तिमी जेसुकै सोच
तर अब म तिम्रो हैकमी हरक
कदाचित फैलिनदिने छैन
मेरो सपनाको स्वच्छ बस्तीमा

बरु उभ्याउने छु पिकपाया
तिम्रो र मेरो वैचारिक साँधमा
अनि रोक्नेछु तिम्रो प्रभावको अनैतिक संसर्ग ।

यति भएपछि, मलाई लाग्छ –
स्वतन्त्रताको गौँथलीले गोताखानेछ निस्सीम आकाशमा
र हामीले
बाँच्नु पर्नेछैन एउटा हिर्दोक जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *