अँध्यारामा टेकेका पाइलाहरु

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे

अझै पनि कताकता अल्मलिए जस्तो
मानसिक सन्तुलन गुमे झैँ
ती हिजो भोगेका क्रुर याताना अनि
टेकेका अँध्यरा रातहरु
तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन्
उही घर, आँगन, त्यही दैलाको ठेलो
अँध्यरोमा टेकेका पाइलाहरु ठोक्किन पुग्छन् ।

जिग्मेका तिनै अस्त्रधारी निशाचरहरु
मेरै तलासमा डुलिरहेका हुन्छन्
तिनै कुक्करहरु घर वरिपरि भुकिरहन्छन्
कस्तो विडम्बना!
सातसमुद्र तरेर पनि आत्मले सुख पाउन सकेको छैन
दिन अर्कैका हातमा सुम्पिएको छु
शरीर अर्कैले चलाउँछ
मेरो रात भने
अझैँ पनि त्यही जिग्मेका हातमा छ ।

कस्तो दुर्दशा, दुर्भाग्य,
देशबाट लखेटिएर पनि
उस्को पञ्जाबाट मुक्त हुन नसक्नु !
पानीको घुट्को निल्दा पनि मेरो घाँटी बिझाउँछ
ती कहालीलाग्दा रातहरुको सम्झनामा
त्यही गोली चलेको आवाज
तिनै निर्दोषहरुलाई दिएको क्रुर यातना
अनि तिनै चिच्याहट, बलात्कारका दृष्यहरु
सजीव भएर आँखा अगाडि देखा पर्दछन् ।

ऊ पनि त शरणार्थी नै हो
तिव्वतबाट हामी जस्तै लखेटिएको
देशबाट लखेटिँदाको पीडा
उस्का बाबु, बाजेले भोगेका थिए
तर आज ख्वै त
जनता खेदेर पनि उसको शासन स्थिर रहन सकेको छैन
कर्कौलाका पातका पानी जस्तो
ढल्पलाइरहेको छ
आखिर शासक गल्नै पर्छ
निरंकुश शासन ढल्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *