अण्डा र कुरिन ढुङ्गा

तुम्बेहाङ लिम्बू

एक दिन कुखुराको फुल
एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो
र भन्यो– ऊ त्यो फौजीको तोपमा
तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा
हिम्मत छ तँ सँग ॽ

कुरिन ढुङ्गालाई झनक्क रिस उठ्यो
फ्युज गाको पटेकासरह
टुप्पीबाट बुङ्ग धुवाँको मुस्लो छुट्यो
ऊ तत्काल गएर देखाउन चाहन्थ्यो हिम्मत
र भन्न चाहन्थ्यो शानसँग–
देखिस् त मेरो करामतॽ

त्यो सरासर गयो
गएर तत्काल पस्यो मोहरीमा
र फायर भयो “डढ्याम्म !”
र धुलो पिठो भयो बिनसित्तिमा ।

अण्डा मुसुक्क हाँस्यो
एउटा दिग्विजयको हाँसो
र लाग्यो
कुरिन ढुङ्गाको विरासत राज गर्न ।

हामी वीर पुर्खाका सन्तानहरू
पटक–पटक भोगिरहेछौँ कुरिन ढुङ्गाको नियति
र, उपहास गरिरहेछौँ सायद आफ्नै सामर्थ्यताको
एउटा निरीह (ॽ) अण्डा सामु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *