अनुत्तरित: छोरीको प्रश्न

कवि
कवि

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

सुमेरु भन्दा भारी पर्वत
चुनौतीका चट्टान
शिर माथि धराप अड्ढीएर
मेरो छायाँ विचरण गरिरहेछ,
लाग्छ
आवश्यक्ताहरू दैलादेखि भण्डारसम्म
लम्पसार सुतेका छन्
इच्छा जति सबै- यस घड़ी
सिथिल छन्
सिकमानी छन्
अझ भनौं
मुर्छित छन् लक्ष्मण झैँ
( न मरी जानु न गरी खानु ! )

आशाको सानो फिलंगो
अकवरको खिचड़ी
टाढाको बत्ती
मनका कुना काप्चामा
सानी छोरी काखमा लुटुपुटु गर्दा
कालो बादलका प्वालबाट जुनको किरण- चुहिन्छ
आँखाका डिलबाट पोख्खिएर
(रात पछिको उज्यालो !)

‘आमा, तपाईँ र ममी-भूटान
दिदी-नेपाल
म- क्यालिफ़ोर्निया’
साना औंला एक एक गर्दै गन्दै
छोरी भन्छिन् –
‘हामी तीन देशका किन?’
म भन्न सक्तिन-
‘तिमी यी सब बुझ्न सानै छ्यौ छोरी !’
भोलि भन्छु-
यसरी टारिदिन्छु
पाँच वर्षे दिमागमा
म के रोपुँ?
(जस्तो बीज उस्तै बोट टुसाउँछ !)

चिनारीको प्रश्न
पहिचानको प्रश्न
मेरो निन्द्रा चोरिरहेछ
मेरो तन्द्रा भङ्ग गरिदिन्छ
यी भूगोलका धर्काहरूले
तेरो, मेरो र उसको बनाएर
धर्ती कहिले कसले किन चिर्यो हँ ?
एउटै हाड रगतको नाता
किन चिनारी विभाजित छ
(प्रश्न छ)

बुढी आमाका निधारमा
पुरानो पुस्तकको ठेलीका पानाझैं
नातिनी खेलाउँदै मुस्कुराउँदा
छालाका पत्ती-पत्तीका थाक लाग्छन्
साना औंलाले-
हजुरआमाको निधारका मुजा सुम्सुम्याउँदै
मेरी सानी छोरी
दिउसो शिशु कक्षामा सुनेको
क्यालिफ़ोर्नियाको सौन्दर्य
वर्णन गर्छिन्
हजुरआमालाई
(बत्तीका फेदको छायाँ-हजुरआमा!)

One Reply to “अनुत्तरित: छोरीको प्रश्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *