अनुभूत दृश्य

विशु निछा
मेलबर्न, अस्ट्रलिया

हेर्दाहेर्दै सुन्दर नङहरू
नंग्रा भइदिन्छन्
मखुन्डो भिरेका साइनोहरू
नेपथ्यमा कुटिलता साँध्दै
खोक्रो हार्दिकता र सौहार्दताको
नाटक मञ्चन गर्छन्
ईमानहरु
नोटका बिटाहरूसँग निर्लज्ज साटिन्छन्
श्रद्धा आस्था र विश्वासहरु
सन्देहको करौँतीले काटिएर चिराचिरा परेका छन्
सुनेर अचम्म नमाने हुन्छ
प्रेम त अचेल कागजी गुलाबमा अनुवाद भएको छ

यहाँ –
सर्वाङ्ग नांगिनेहरु कलाकार ठहरिन्छन्
मौलिकता कुँदिएका कलाहरु असभ्य र फिका ठहरिन्छन्
एक्काइसौं शताब्दीको भूतले सताएका दिमागहरू
होडबाजीमा रोबोट दौडिरहेछन्
हो,हिजोआज मान्छेहरू
मान्छे कम रोबोट धेरै जन्मिरहेछन्।

दिनानुदिन पुलहरू भत्किँदैछन्
पुलहरू भत्किनुसँगसँगै पर्खालहरू
अझ गगनचुम्भी ठडिँदैछन्
पत्यार नलाग्ला !
भत्किएर पुलहरू
आफूसम्म पनि पुग्नसक्न छाडेको बिचरा मान्छे
आज आफूले बनाएको पर्खालभित्र आफै थुनिएर
आफैसँग पनि टाडाटाडा हुँदै गइरहेछ।
साँच्चै एक्लोएक्लो हुँदै गइरहेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *