अन्तिम कविता
यतिराज अजनबी
एड्लेड अस्ट्रलिया
कथाको गुमानेको अवस्था
सुनेर रुने श्रोताहरू धेरै छन्
तर गुमानेको कथा सुनेर
गोहीको आँसु झार्ने सम्म कोही छैन,
डाई घण्टे वियोगान्त फिल्मका
नायक नायिकाको बिछोड
खप्न नसकेर आँखा पुछ्दै
हलबाट बाहिर निस्कने
दर्शकहरू थुप्रै हुन्छन,
हुन्नन् कोही नायक नायिकाको
दैनिकी देखेर पीर मान्ने,
उपन्यासभित्रको काल्पनिक पात्रको
चरित्र पढेर छियाछिया हुने
पाठकको कमि छैन,
सजीव पात्रको वृतान्त
पढ्ने भेटिंदैन कतै,
त्यसैले गर्दैछु यो अनुरोध
न्यारेटरलाई म
कि कथा भन्न छाडिदेऊ
अभ्यर्थना गर्दैछु फिल्म निर्मातालाई
अब उसो फिल्म निर्माण नगर्न,
उपन्यासकारलाई पनि यही
बिन्ती चढाऊँ कि
नलेखियोस उपन्यास अब उप्रान्त,
मेरो पनि अन्तिम कविता हो यो
भनेनौ भने तिमीले कथा,
उपन्यास लेखेनौ भने,
बनाएनौ भने फिल्म,
अनि कविता नलेखे मैले
मान्छे वास्तविकतासंग कैल्यै
अनैतिक ब्यवहार गर्ने छैन,
प्राकृतिक बन्ने छ,
सृजनशील हुने छ निश्चय,
आफैं पोत्ने छ अनुहारमा कान्ति
गंगामा गएर आफैं पखाल्ने छ भ्रान्ति
र भोग्ने छ आफ्नै शान्ति
त्यसैले यहाँदेखि उता
नभनियोस् कथा
नबनियोस फिल्म
नलेखियोस् उपन्यास
र
फेरि पनि भन्दैछु म
यो मेरो अन्तिम कविता हो |
१३ अगस्ट २०११, एड्लेड