अन्तिम ट्रान्जिट
तिलारूपा आचार्य (अधिकारी)
ओहायो , अमेरिका
सधैँ जसो,
उनी त्यहॉं
कसैको पर्खाइमा
बग्रेल्ती आशा ओछ्याएर
आँखा उतैतिर
हेरी रहेकी हुन्छिन् ।
अति नै माया गरेको
‘ऊ’ पनि छैन ,
आज उनीसँग
हिजो सँगै रोपेको
गुलाफको बोट,अनि फूलहरू
हुने छैनन् त्यहॉं
त्यो बेला देखेका
अनगिन्ती सपनाहरू
भत्किँदै, टुक्रिँदै, चोइटिदै
रित्ती सकेका छन्
केवल उनी मात्र छिन्
त्यो अन्तिम ट्रान्जिटमा।
दिनहुँ आउने गर्छन्
उनी जस्तै धेरै…..
टाउकोभरि सेत्तै हिमाल लिएर
आँखाका नानीभरि
कुहिरो ड्याम्मै लागेका,
मुहारभरि सकसको तलाउ लिएर
सन्तानको याद अटाएर
ममताको नाउ तारी रहन्छन् ।
चाउरिएका अनुहारहरू
आउने जाने क्रम…..
निरन्तर चलिरहयो
झ्याल ढोकाभरि,
आँखा तन्काएर
एकनास ऑंसु बगिरहन्छन्।
अझै पनि,
देख्न छोडेकी छैनन्
भोलिका कैयौँ सपनाहरू
ती निभिसकेका आँखाहरूले
बुन्छिन् – कल्पनाहरू
अस्ताई सकेको मनभरि,
केवल उनी मात्र छिन्
अन्तिम ट्रान्जिटमा।
पन्छीले हरेक खतरामा
चल्लालाई छोपी जोगाए जस्तै
उनी छोप्न, जोगाउन चाहन्छिन्
उनीहरूलाई – त्यो क्षण झैँ
यो बेला पनि
आफ्नै आँचलमा ।
सानो छँदाको उसको भोटो
छातीमा राखेर सुत्ने गर्छिन्
त्यो अँध्यारो कोठामा
सिरानीभरि,
दु:खाइका थाक भए पनि
काफी छन् यादहरू
दिन कटाउनलाई।
बेचैनमा टोलाएर
कसैको आगमनलाई
निम्तो दिइरहेकी हुन्छिन्
फाँसी अघिको , अन्तिम इच्छा झैँ
अन्तिम उडान भर्नु अघि
कसैको बाटो हेरी रहेकी हुन्छिन्
भाव बोली रहेथ्यो…..
यस पछि चाहेर पनि
भेट हुने छैन,
अन्तिम उडान सँगसँगै अस्ताउछन्
यसै गरी यी ताराहरू
साँच्चै…., हो रहेछ
जीवनको
अन्तिम ट्रान्जिट -वृद्धा आश्रम ।।।
Kavira asal lagyo.