अन्तिम पाना
विशु निछा
अस्ट्रलिया
ऊ समुद्र किनारामा डुल्दै छ ।
घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ । तर ऊ भूटानदेखि नै पैदल हिँड्न अभ्यस्त मान्छे । शिविरमा बस्दा पनि हिँडेरै टाडाटाडासम्म पुग्थ्यो भने, घरदेखि यो समुद्र तटसम्म आइपुग्न उसको निम्ति ठुलो कुरा हुँदै होइन । यसैले, ऊ यहाँ पैदलै आउँछ । आएर अबेरसम्म तटमा घुम्छ। डुल्छ। बालुवामाथि धीमा गतिमा पाइला चाल्दै किनारैकिनार निकै परसम्म पुग्छ । उसलाई घरमा परिवारमाझको एकाकीभन्दा यहाँको एकाकी अथवा लाग्छ । ऊ चुपचाप बगिरहेको शान्त समुद्रको पानी हेर्दै टहल्छ । गगनमा निर्विघ्न कावा खाइरहेका निस्फिक्री पन्छीहरूलाई धीत मरुन्जेल हेर्दै हिँड्छ ।
साँच्चै, घरमा ऊसँग बोल्ने कोही हुँदैन । छोरा र बुहारी काममा गइहाल्छन् । नाति र नातिनी स्कुलतिर लाग्छन् । घरमा दिनभरि ऊ एक्लै बस्नुपर्छ । हेर्-नहेर् त्यै टिभी। कति हेर्नू! हेर्दाहेर्दा वाक्कदिक्क लाग्छ । बेलुकीपख चारैजना घरमा त आइपुग्छन् । तर आइपुग्नासाथ छोरा र बुहारी मोबाइल कोट्याउन थालिहाल्छन् । नाति र नातिनी ट्याब्लेट समाउन पुगिहाल्छन् । छोरा र बुहारीसँग बोल्न खोजे फेरि त्यै टिभी खोलिदिन्छन् र हेर्न लाउँछन्। नातीनातिनीहरुसँग बोल्न थाल्दा उनीहरू जिब्रो बटारेर अङ्ग्रेजी हाँक्न थाल्छन् । ऊ अङ्ग्रेजी बुझ्दैन । ऊ तारी-पूँडी गाईहरू, माले-झुले गोरुहरू पढेको मान्छे । ऊ कुट्मेरो र खन्युको घाँसका भारीहरू, कटुसका स्याउलाका भारीहरू पढेको मान्छे । ऊ त डोको, नाम्लो अनि हलोजुवा पढेको मान्छे । ऊ अङ्ग्रेजी के बुझ्थ्यो र ! बुझ्दैन । नबुझेको ऊ अकमक्क पर्छ । एकातिर अकमक्क पर्छ । अर्कोतिर, नातिनातिनीहरुले अङ्ग्रेजी फररर बोलेकोमा गर्व गर्नु, खुसी हुनु कि पुर्खादेखि बोलिआएको आफ्नो भाषा आफ्नै अगाडि आफ्नै वंशजले बोल्न छाडेकोमा डराउनु, दुखी र चिन्तित हुनु ! ऊ बडो दोधारमा पर्छ । तर नाति र नातिनी भने आफूले बोलेको अङ्ग्रेजी हजुरबाले नबुझेर अकमक्क परेकोमा खित्का छोडेर हाँस्छन्। नाति र नातिनीको खित्कामा छोरा र बुहारीले थप्छन् । हुन त यो सानो कुरा हो, नगन्य, तुच्छ । तर कहिलेकाहीँ यस्तै कुराले मान्छेको मनलाई नमिठो गरी चस्काइदिन्छ। दुखाइदिन्छ । सायद ऊ पनि मान्छे नै भएर होला, उसको पनि भित्र कहिलेकाहीँ नमिठो चस्किन्छ, दुख्छ, घरपरिवारको यस्तो व्यवहारले। यद्यपि त्यो चस्काई र दुखाइलाई भित्रै दबाएर ऊ हाँसिदिन्छ, बनावटी हाँसो । पीडा लुकाउन पनि मान्छेले अभिनय गर्नुपर्दो रहेछ । ऊ मनैमन सोच्छ।
नबोल्नेहरुको बिचमा चकमन्न भएर बसिरहनु उसलाई मन लाग्दैन । त्यसैले चुपचाप उठेर आफ्नो कोठातिर लाग्छ। ओछ्यानमा पल्टिन्छ । ब्ल्याङ्केट ओढ्छ । तर निद्रा पर्दैन। मन एकतमासले उडिरहन्छ । वर्षौँअघि भूटानमा रातारात छोडेर आउनु परेको आफ्नो गाउँको याद उसको मानसपटलभरि ताजा भएर आउँछ। दु:ख गरेर बनाएको घर, लाएको बाली रहरै लाग्दो फस्टाउने खेत र बारीको याद आउँछ । बाँसघारी, गुवाबारी, लेच्ची र सुन्तलाबारीको याद आउँछ । बिहानको भुकभुके उज्यालोमा फोक्सोमा स्वच्छ हावा भर्दै बेँसीखेततिर झरिन्थ्यो । असारे गीत गाउँदै धान रोपिन्थ्यो । गाउँमा बिहेमा नौमतीको तालमा रातभरि नाचिन्थ्यो । खेतको डिलमा लहरै बसेका जन्तीलाई भतियार बाँड्दाको मजा बेग्लै हुन्थ्यो । गाउँले साथीभाइहरुसँग मिलेर सुख-दु:खका कुरा गर्दै, हाँसखेल र ठट्टा गर्दै मेलापात गरिन्थ्यो । वनजंगल र हाटबजार गइन्थ्यो, आइन्थ्यो । अर्थात् जे-जस्तो भए पनि जिन्दगी एक प्रकारले आफ्नै लयमा बगिरहेको थियो । तर अचानक कस्तो कहर टुट्यो ! सबै छोडेर हिँड्नु पर्ने कस्तो विवशताले छोप्यो ! सबै लथालिङ्ग भयो । सपनामा समेत नसोचेको दशाले जीवन नै असरल्ल भयो ! यी र यस्तै विगतहरू सम्झँदै कहिले ऊ निदाउँछ। कहिले त्यतिकै उज्यालो हुन्छ । अनि फेरि कोही कामतिर, कोही स्कुलतिर लाग्छन् । ऊचाहिँ समुद्र तटतिर लाग्छ ।
उसलाई मन थिएन । सात समुद्र तरेर यहाँ आइपुग्न मन थिएन । ऊ त आफ्नै पुर्खाले उर्वर तुल्याएको आफ्नै देश फर्कन चाहन्थ्यो । आफ्नै घर, आफ्नै खेत र बारीमा फर्किपुग्न चाहन्थ्यो । त्यहाँ गएर, त्यहीँ पुगेर आफ्नो ईहलीला विसर्जन गर्न पाए हुन्थ्यो भन्ने उसको मनभरिको इच्छा थियो । त्यसैले, शिविरमा रहँदाबस्दा स्वदेश फिर्तीसम्बन्धी जेजति पहलहरू हुन्थे, ती सबैमा ऊ उपस्थित हुन्थ्यो । एउटा सोझो गाउँले ऊ आफू बोल्न नजाने पनि त्यतिखेर बोल्न जान्नेहरूको पछिपछि धेरै दौडियो । नेतृत्व पङ्क्तिमा उभिएकाहरुले जेजति अह्राए, उसले दिल खोलेर सश्रद्धा ती सबैथोक गर्यो। जुलुसमा धायो। नारा लगायो । भोक हडताल बस्यो। केवल स्वदेश फर्कन पाइने अदम्य इच्छा र आशाले ऊ लागिपर्यो । दौडियो । धेरै सुरुवाल-कमिजहरू, धेरै चप्पल-स्यान्डलहरु फटायो । प्वाल पार्यो ।
यतिकैमा तेस्रो मुलुक पुनर्वासको विकल्प अगाडि आइदियो । यो विकल्पको चुम्बकीयतामा शनैशनै मान्छेहरू तानिन थाले । पछिपछि त शिविर नै उर्लियो । भूटान फर्कने अभियानमा नेतृत्व गर्छु भनेर पाखुरा सुर्कीसुर्की ठूल्ठूला भाषणको भोज पस्कनेहरु आँखै अगाडिबाट बाटो लाग्न थाले । प्राध्यापक, डाक्टर र वैद्यहरू बाटो लाग्न थाले । कलाकार, साहित्यकार र गीतसंगीतकारहरु बाटो लाग्न थाले । लामा, बिजुवा र फेदाङमाहरु बाटो लाग्न थाले । यसरी जेष्ठ, कनिष्ठ, अग्रज, अनुज, बौद्धिक अनि बुद्धु सबैसबै बाटो लाग्न थाले। लागेको ऋण तिर्न, मिठोमसिनो किनिखान भनेर दुईचार पैसाको जोहो गर्न शिविरबाट निस्केर अलि वरपर गएकाहरु पनि फर्कि आएर धमाधम फाराम भर्दै जान थाले। हेर्दाहेर्दै शिविर रित्तिन थाल्यो ।
उसलाई पनि छोरा र बुहारीले बेलाबेला फकाउन थाले। आफ्ना साथीभाइ र चिनेजानेकाहरु पुनर्वासित देशहरूमा पुगेर गाडी र घरसमेत किनिसकेका कुराहरू गर्न थाले। शिविरको छाप्रोजस्तो बर्खामासमा छानो नचुहुने र हावाहुन्डरीले आधारातमा छानो उडाएर निद्रासरि घरको धुरीमा चढेर प्लास्टिक टाँग्नु नपर्ने पक्की घरमा बस्न पाइने कुराहरू सुनाउन थाले । त्यतिमात्र होइन, बिरामी हुँदा औषधिउपचार पनि राम्रो हुने जस्ता अनेक कुराहरू गर्न थाले । तर ऊ छोराबुहारीको कुरा सुन्न मान्दैनथ्यो । छोराबुहारीले कुरा कोट्याई निकाल्नासाथ ऊ एउटाएउटा निहुँ निकालेर भागिहाल्थ्यो । तर, ऊ त्यसरी कति दिन भाग्न सक्थ्यो र ? एक दिन ऊ भाग्न भ्याएन। छोराले बाटो छेक्यो । त्यो दिन घरमा बाबु, छोरा र बुहारीबिच निकै चर्काचर्की पर्यो । उनीहरू बिचको होहल्ला सुनेर डेट-वेटिङहरु, केसवर्क, मेडिकल, प्रि-मेडिकल र डिएचएस सक्नेहरू उनीहरूको घरवरिपरि भेला भएर हेर्न-चियाउन थाले ।
“बाउ, भूटान फर्कनुपर्छ भनेर कराउने, चिच्याउने र दगुर्ने अगुवा, बाठा र बुद्धिमानी भनौदाहरु हाम्फालिसके। तिमी के सोचेर, के भनेर भूटान नै फर्कने आशामा छौ? मलाई ताजुब लाग्छ।”
ऊ बोलेन । छोराको कुरा सुनिमात्र रह्यो ।
“बाउ, अब तिमी नजाने भए हामीलाई साइन् देऊ । हामी जान्छौँ ।”
ऊ झसङ्ग भयो । आफ्नै छोराले यसो भन्न सक्छ ? साठी नाघेको आफ्नो बाबुलाई छोडेर जाने यति कठोर कुरा गर्न सक्छ? उसलाई विश्वास लागेन । छोराको आँखामा आँखा गाडेर हेर्यो ।
“हो, बाउ, छोराले साँच्चै भन्या हो । हामीलाई साइन् दिनुहोस् । हामी जान्छौँ ।”- बुहारीले अझ थपिन् ।
शब्दहीन ऊ अझ शून्यशून्य झैँ भयो । बोलेन । बरु मनमा सम्झिरह्यो । यो छोरा जन्मिँदा लोग्नेस्वानी कत्ति खुसी भएका थिए । अपार हर्ष छाएको थियो उनीहरूको मनमा । उनीहरूको जीवन र जगत नै हँसमुख भएको थियो । छोरालाई अलिकति दुखबिमार हुनुहुन्थ्यो । कोक्रोमा पालैपालो बोकेरै साम्ची अस्पताल पुर्याउँथे, एकदिनको बाटो हिँडेर । छोरा टुकुटुकु हिँड्न थाल्दा छोराकी आमा बितिन्। गाउँलेहरूले अर्की बिहे गर्न उसलाई कति सल्लाह दिए । तर, कान्छी आमा भित्र्याएपछि छोरालाई हेला हुन्छ भनेर उसले अर्की बिहे गर्न पटक्क मानेन । ऊ यही एउटा छोरा हुर्काउनमा लाग्यो । जिउमा एउटा चोटपटकसम्म लाग्न नदिई हुर्कायो । बढायो । यही छोराको रेखदेख र लालनपालन गर्दागर्दै केश केश फुल्यो । आँखामा चस्मा बस्यो। आफूलाई बुढेसकालले छोपिसकेको यस्तो अवस्थामा त्यही छोराले कति सजिलैसँग एक्लै छोडेर अन्यत्र जाने कुरा गर्दा उसको छातीभित्र भक्कानो फुट्लाजस्तो भएर आयो । उसको गला रुद्द भयो । गहभरि नुनिलो पानी भरिएर आयो। तर, जीवनमा अनेकन दु:ख, कष्ट अनि पिडाहरू सम्हालिआएको उसले छातीभित्रको भक्कानोलाई साहस बटुलेर थाम्यो । गहको आँसु एक थोपा भुइँमा खस्न दिएन । सम्हाल्यो ।
“मंगला, तिमी चाँडै गयौ । राम्रै भो । कम्तीमा तिमीले यो दिन त देख्नु परेन ।”
उसले आफ्नी दिवङ्गत पत्नीलाई सम्झ्यो र मनैमन भन्यो।
जन्मँदा एक्लै । मर्दा एक्लै । जेजति गरे पनि आखिर एक्लाएक्लै न हो। आफ्नै रगतबाट जन्मेको छोराले त यो बुढेसकालमा छोडेर जाने कुरा सजिलैसँग गर्न सक्छ भने यहाँ कसको के नै छ र ! उसलाई यस्तै लाग्यो र आफूबाट उत्तर पाउने प्रतीक्षामा अधीर भएर बसिरहेका छोरा र बुहारीलाई साइन् दिन ऊ राजी भयो । उसले यति भनेपछि छोराबुहारीको अनुहारमा घाम लाग्यो ।
त्यहाँ, त्यो दृश्यलाई रमिते बनेर हेर्नेहरुको माझमा एक जना यस्ता मानिस पनि थिए, जसले त्यो दृश्यलाई रमिताको रूपमा हेरिरहेका थिएनन् । उनी सायद उसको दु:खलाई बुझ्न सक्दथे । उनी सायद उसको दर्द र पीडाको मर्मलाई महसुस गर्न सक्दथे । उनी भूटानदेखिकै उसको आत्मीय साथी थिए । सुखदुःखमा एकाअर्कालाई सधैँ साथ र सहयोगको हात बाँड्ने, नुन-खुर्सानी ऐँचोपैचो गरिखाने हितैसी छिमेकी थिए । उनीले उसलाई बोलाए र एकान्तमा लगे । धेरैबेर सम्झाए ।
र अन्तमा भने ।
“म तेरो मर्म बुझ्छु । तेरो घाउ मलाई पनि दुखिरा’छ । मलाई दुखिरहेको यो तेरो घाउ तँलाई र मलाई मात्र होइन, तँ र मजस्ता कयौँलाई दुखिरा’छ, यति बेला । तर पनि, मलाई आफ्नो आत्मीय, आफ्नो हितैसी मान्छस् भने तँलाई मेरो बिन्ती छ । तँ जिद्दी नगर्, चुपचाप आफ्नो परिवारसँग जा । यो घडी, यो अवस्था आइपुगेपछि ढिपी गर्नु मुनासिब कतै देखिन्न ।”
उसले उनीको कुरालाई मौनता साँधेर सुन्यो । सुनिरह्यो । अन्ततः लामो सास फेर्यो र स्वीकृतिसूचक टाउको हल्लायो ।
त्यसपछि ऊ सपरिवार यहाँ आइपुग्यो र अहिले यो समुद्र किनारामा डुल्दै छ । ऊ बालुवामा धीमा गतिमा पाइला चाल्दै किनारैकिनार निकै परसम्म पुग्छ । उसलाई घरमा परिवारमाझको एकाकीभन्दा यहाँ, यो समुद्र तटको एकाकी अथवा लाग्छ । ऊ चुपचाप बगिरहेको शान्त समुद्रको पानी हेर्दै टहल्छ । गगनमा निर्विघ्न कावा खाइरहेका निस्फिक्री पन्छीहरूलाई धीत मरुन्जेल हेर्दै हिँड्छ । हिँड्दाहिँड्दै उसलाई मनमा लाग्छ, ऊ, लामो कथा लेखिएको एउटा पुरानो र बेवारिस पुस्तकको अन्तिम पाना हो, जुन अब च्यातिन लागेको छ।