अन्धविश्वासको सिकार
कर्ण गुरुङ्ग
नेब्रास्का, अमेरिका
बिचरा कालो बिरालोको के दोष
तिमीले एक पाथी थुक्यौ
ऊ त आफ्नै बाटो हिँडिरहेको थियो
तल्ला घरे माइलीको के दोष
उनी त सोझी सिधा गरिब छिन्
आफ्नो जीवन धान्न मुस्किल छ उनलाई
बोक्सीको निहुँमा तिमीले बेस्मारी कुट्यौ
सारा गाउँलेहरू बोलाएर बेइज्जत गर्यौ
थुक्क ! मानव हुनुको सीमा पनि काट्यौ
सोझो हुनु पनि पापै हुँदो रहेछ
लाटा कान्छालाई तिमीले बोक्सा बनायौ
सिसौको फेदमा बाँधेर सारै कुट्यौ
बिचरा आइया पनि भन्न नजान्नेलाई
कुन जुनिको पाप भन्दै महापाप गर्यौ
देउरालीमा अलिक बटारिएको ढुङ्गा देख्यौ
सिन्दूर हाली देउता-भगवानको प्रतीक बनाई दियौ
आफू त ठिकै हो अरूलाई पनि समेट्यौ
भएभरको बोका, कुखुरा हाँस बलि चढाई
देवी देउताको नाममा तिमीले खाने मेलो गर्यौ
बिचरा ती गाउँले
जसको बिहान बेलुकी खाने छैन
जसको झुप्राको छानो छैन
उजाड माथि पनि तिमीले उजाडी दियौ
भगवानको नाममा दान देऊ धर्म हुन्छ
पुजारी मन्दिर, गुम्बा, चर्च, मस्जिद, घरमा
गाई, भैँसी, पैसा, गहना अन्न दान गरायौ
पाप काटिने दन्ते कथा सुनाई तिमीले लुट्यौ
शुभलाभ भन्दै तिमीले घरै रित्त्यायौ
बालक बबुरो – स्वच्छ मस्तिष्क पानी जस्तै
पहिले त नाम जति धर्म विशेषमा रखिदियौ
यो त्यो जात, धर्म, ग्रन्थमा छुट्ट्यायौ
एउटा स्वच्छ पानीलाई रङ्ग भरी
मेरो पहिचान यस्तो त्यस्तो भन्ने बनायौ
भइरहेको नाक कान तिमीले सबै छेडायौ
अन्धविश्वासको सिकार आज
जाति जातिमा रचायौ
धर्म धर्ममा रचायौ
संस्कार संस्कृतिमा रचायौ
जसरी भए पनि तिमीले अन्धकारको संसार रचायौ
बिचरा उसलाई के थाहा के हो सत्य
दिमाग साफ गरी गोला बारुद बोकायौ
आत्मघाती बम बोकाई
मानव हुनुको अधिकार समेत खोसायौ
तिम्रो के स्वार्थ विचार छ तिम्रै हो
एउटा स्वच्छ स्वतन्त्र मानवलाई
अन्धविश्वासको सिकार बनायौ !
अरू के नै गर्न सक्छौ र तिमीले
घर -घरमा, गाउँ-सहरमा, देश-बिदेसमा झगडा बनाई
दुख, पिडाको बिउ रोपी सबैलाई रुवायौ
के भनु तिमीलाई
सबैलाई अन्धविश्वासको सिकार बनायौ !