अपरिचित

कथाकार
कथाकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

अग्लो रुख गर्ल्याम्म ढलेझैं ढलेपछि हतारहतार उठाएर गाउँलेहरूले अस्पताल लगेछन् । एउटा अपरिचित मान्छेलाई अस्पतालसम्म लाने गाउँलेहरूको उदार मनलाई हृदयदेखि नै स्वागत गर्नैपर्छ । अस्पताल पुर्याएपछि उपचारको लागि खर्च जुटाउनुपर्ने भएपछि गाउँलेहरूले सकेसम्म आफ्नो गोजीबाट सबैले पैसा निकालेर दर्तासम्म गरिदिएछन् । अस्पतालमा दर्ता गरिसकेर सबै आफ्नो घर फर्किएछन् ।

एउटा मानवीय सहयोग गरेर अपरिचित मान्छेलाई अस्पतालसम्म पुर्याएर फर्केका गाउँलेहरू उसको उपचार हुने कुरामा ढुक्क थिए । उता उपचारार्थ अस्पताल भर्ना गरिएको त्यो अपरिचितको अवस्था झन झन नाजुक बन्दै गैरहेको थियो । उसको बोलीसम्म आएको थिएन । दुई दिनसम्म ऊ बेहोस अवस्थामा नै थियो । गाउँलेहरूले जम्मा गरेको पैसा सकिएपछि उसलाई अस्पतालका कुनै पनि चिकित्सकहरुले उपचारार्थ नजरसम्म लाउन छोडिसकेका थिए ।

पशुले पशुलाई सहयोग गरेको खबर सुन्न पाइरहेको अवस्थामा एउटा मानिस जस्को बोलीसम्म छैन, जो अचेत अवस्थामा छ उसलाई यसरी पैसाको मुख हेरेर बेवास्ता गर्नु भनेको कहाँसम्मको लज्जास्पद कुरा हो । मानव मन आज दानवीय रूप लिएको भान हुन्थ्यो ।

दिन बित्दै गयो । त्यो अपरिचितको अवस्था झन झन नाजुक बन्दै गइरहेको थियो । यत्तिकैमा अस्पतालको सुपरिटेन्डेन्टले उपचार गर्न पैसा नभएकाले यस्ता बिरामी अस्पतालको बेडमा सुताइरहँदा अर्को पैसा भएको बिरामीले ठाउँ नपाउने भन्दै बाहिर कुरुवा कक्षमा लगेर छोडिदिने आदेश भएपछि त्यो अपरिचितलाई कुरुवा घरमा लगेर छोडियो । पुष माघको जाडोमा बाहिर खुल्ला ठाउँमा लगेर छोडिएपछि बिचरा त्यो अपरिचितले कठ्याङ्ग्रिएर दम तोड्न बाध्य भयो ।
यसरी एउटा अपरिचित, लावारिस बनेर त्यहीँ लडिरह्यो । लडिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *