अपेक्षा
हो त !
नेताहरूमा एकता भयो रे…
दलहरूमा सम्झौता भयो रे…
परिवर्तनको जग बसाल्ने
दृढ़ताबद्ध अठोट पनि बन्यो रे…
हो निः
आजको ऐक्यबद्धताको नाराले
मेरो त हृदयमा सूर्य उदायो,
आशाको किरणले जरा फैलायो
कलिलो आँकुरा आशामा पलायो !
तर… आजपूर्व पनि धेरै धेरै
आस्थाका मुनाहरू, विश्वासका आँकुराहरू
यता-उती नपलाएका होइनन्,
सम्झ त ! ती मुना आँकुराहरूलाई
आकाश-पातालका दाह्रा भएका,
आफ्नै दलबलका भातृपीड़कहरूले,
भाइमारा नरपिशाचहरूले,
आस्थाका हत्याराहरूले,
खस्रा हातहरू प्रयोग गर्दै,
ती वैचारिक आधारका मुनाहरू
सबै निमोठिदिएर निमिट्यान्न पारेका,
अहिलेझैं लाग्दैछ !
विगत कथाका ती
‘दैंत्य’हरूको छवि-छत्र
झझल्को हामी सबै सामुन्ने छ ।
तर अचम्म ! हाम्रो नेतृत्वगण
हाम्रो बाबु, संघर्षका अभिभावक,
भर्खर धुलिखेलमा सिन्का राखेर
भाँडाकुटी खेल्नमै मदमस्त छन् !
विचरा बाबु, अनभिज्ञ-अज्ञात,
उनी ‘संघर्षकारी’ जन्माउने कुरा गर्दैछन्,
के थाहा उनलाई म पहिले नै
मरुभूमिमा जन्मेर बढिसकेको छु,
उनी मलाई फेरि जन्माउने कुरा गर्दैछन् !
के थाहा उनलाई कि आज
तिनले मलाई नभई
म नै आफू तिनलाई जन्माउने तर्खरमा
अस्तिदेखि हरदम लागिरहेको छु !
बाबु, तिमी मेरो छोरो भए म
कापी र कलम बोकाएर
कान निमोठ्दै सिकाउने थिएँ,
संघर्ष के-कस्तो हुन्छ,
बलिदान कसरी गरिन्छ,
तर दुर्भाग्य, बुद्धु बाबु नै भयौ !
यसर्थ, प्रकृतिसित म
वर्दान माग्छु, बाबु र मेरो
झट्ट अर्को जन्ममा प्रवेश होस,
मलाई उनको बाबु र
तिनलाई मेरो छोराको,
हामी दुईलाई अवसर मिलोस् !
तब म तिनलाई मार्गदर्शन गराउने छु,
सही दिशाबोध गराउने छु,
हातमा छड़ी लिएर कर्तब्यपथ,
जिम्मेवारी र नैतिक दायित्वको
सुपथ, सफल र परिणाममुखी,
सहज गन्तब्यको बाटो देखाउने छु,
घाम अस्ताएपछि बिस्कुन नसुकाई
समयमै विषयतर्फ ध्यान दिन पनि सिकाउने छु !