अब के हुन्छ

CM Nirola
कथाकार

सिएम निरौला, न्यू ह्याम्पशायर

 

कामबाट हैरान भएर घर टुप्लुक्क आइपुगेको मात्र के थिएँ, घरमा गफ गर्दै बसेका मध्ये मीतआमाले ठूलो स्वरमा, “आयो है जेठा” भन्दै मेरो बारेमा फलाक्न थालीहालिन् । त्यातिकैमा तल्लाघरे भण्डारी काकाले “गलेका मान्छे र चरेको घोडासँग नजिस्किन”, उर्दी जारे गरे, एकै छिनका लागि वातावरण शोकसभाझैं भो ।

शान्ति खल्बल्याउँदै मीतआमाले थपिन्,”के गर्छ र, यो फुच्चेले-हिजो अस्तीसम्म यसको पिँध धो’को । ठूलो कुरा गरो भने त गाला पड्काउँछु ।”

मैले बोल्नु पर्ने कुनै जरूरी देखिनँ । नानुले नास्ता ठीक भएको संकेत गरिन् । चुह्लामा पसेर हात मुखको लड़ाईं शुरु गराएँ !

केही बेरमा छेउमै बसेर गफ सुनिरहेका जन्तरे काकाको फोनको घण्टी बज्यो, ‘बुहारीको  काममा जाने समय भएछ’, भन्दै उनले कुलेलम ठोके ।

“बिचरा जन्तरे नाति भने पछि मरिहत्ये गर्छ । बुहारीलाई स्वर्ग छ त्यहाँ । घर पाओस् त त्यस्तो”, भन्दै फलाक्न थालिन् मीतआमा!

अचम्म पर्छु यी कसरी सबैकी मीतआमा भइन् ! एक दिन किन सबैले मीतआमा भनेको भनेर जिज्ञासा राखेको त बुढीले,”किन/ ज्वाइँ हुने मन छ, राधिकाले मार्ला निः” भन्दै सानो बेइजत गरिनन् ।

डाँडाघरे गुरुको कुराले मन छोयो । सत्यता थियो उनको कुरामा र अनिश्चितता पनि । आज पनि उनको कुरा सम्झँदा मन कटक्क   खान्छ । भित्रैबाट अमिलो भएर आउँछ । मन पोल्छ र सत्यताको आभास हुन्छ ।

उनले कुरै कुरामा भने,”मेरो नातिले त नेपाली बोल्दैन होला जेठा ! भात खानै मान्दैन । खाली बजारको त्यो के खान्छु भन्छ ।”

उनी अक्मकिए ! “पिजा हो पिजा”, मीतआमाले सही थप्तै भनिन् । “ए अँ, पिजा ।  भूटानमा हुँदामा त देखेको पनि थिएन । त्यसका बाउको पिजा हो कि गिजा”, भावुक हुँदै उनी कड्किए ।

“के को भूटान हौ गुरुजी, मैले त आजसम्म पनि देखेको छैन । कताको हाम्रो त्यति राम्रो दालभात अनि गुन्द्रुक सिन्की, कताको यो…!”

“ए जेठा साँची त्यो पिजा के को बनाउँछ हँ ? कहाँ बनाउँछ”, काकाले प्रश्न तेर्स्याए ।

जान्ने मीतआमा छँदै थिइन्, “खै मासुको त होला निः” भन्दै खलल हासिन् ।
“राम राम, यति नै हुनु रहेछ, हे भगवान” यसै पनि गाउँमा सबैले मानेका पण्डित; कुरा सुनेपछि उनी झण्डै ढलेनन् । सास्ति त हुने नै भो । त्यसमा पनि साकाहारी मान्छेलाई असहज नै भएको अड्कल काट्न सकिन्थ्यो ।
“हैन गुरु तपाईंको मात्र हो र, नेपालमा छँदा हाम्री रिना ८ कक्षामा पढ्थी, अहिले अमेरिका आको चार वर्ष भयो, त्यसको नेपाली र हाम्रो अंग्रेज़ी उस्तै उस्तै छ, बुझ्नुभो निः? हाम्रो अंग्रेजीसँग तुलना गर्न मिल्ने भनेपछि ! ऊ बेला पढ्न पाउनु भने त हामी पनि बोल्न सक्थ्यौं होला । तर, जति नै जिब्रो बंग्याए पनि “१२ वर्ष कुन्नि के को पुच्छर ढुंग्रामा राखेझैं”, लामो खुई तान्दै काकाले माहोल झनै बिगारे !

तल्लो घरको पुष्प भाइलाई सम्झें, सानामा हनुमान चालिसा, गिताका स्लोकहरू त नहेरी नै फरर भन्थ्यो । हिजो मात्र भेट भएको बेलामा भन्न लाएको त चाइनिसले नेपाली बोलेको भन्दा फरक थिएन । बिचरा चाइनिसलाई जति नै शुद्ध बोल्छु भनेपनि उस्कै भाषा झैं बोल्छ । आज अमेरिका आएको चार वर्षमै यो हालत छ, अबको दशवर्षमा ! मनमनै कल्पना गरें तर, बोलिन । बोल्न पनि कसरी बोलौं- अघि नै उनीहरूले माहोल बिगारी सकेका छन् भन्ने लाग्यो । चुपचाप रहें !

“हैन हौ, अब त घरमा नानीहरूसँग बोल्न पनि त्यो के रे, खोई भन्न पनि आएन । ए जेठा के रे? थुक्क दिमाख ! हैन हस्पिटलमा डाक्टरको अगाडि उभेर बोल्छ नि हौ । ए भन्न न है कप्टी जेठा”, मीतआमाले आक्रोशित जिज्ञासा पोखिन् ।

उनले दोभाषेको कुरा गर्दैछिन् भन्ने मैले बुझें, तर पनि उनलाई भनिन, किनभने उनले के भन्छिन् भन्ने कौतहलता ममा जागेको थियो ।

“ए त्यो अधिकारी बा’को छोराले गर्छ नि, त्यो भनेको”, काका?

“हो त्यही हो”, मीत आमाले एक सासमा भनिन् ।

“ए त्यो त पेटर हो पेटर”, उनले भन्न खोजेको ‘इनटरप्रेटर’ भन्ने मैले थाहा पाएँ ।

“हो त्यी पेटर । अब त घरमा नाति नातिनीसँग बोल्न पनि ‘पेटर’ चाहिने भो । यति नै खान आ’को यहाँ । खूब भाषा, संस्कृति बचाँउन भोटांग छोडेथें”, भावुक हुँदै मीतआमाले भनिन् ।

मेरो मन रोयो, भित्रबाट बादल लागेको अनुभव भयो । अस्ती दशैंमा रामहरि काकाको नातिले दशैं भनेको के हो ? कृस्टमश ट्री ल्याइदिनु भनेर झगडा गरेको कुरा सम्झें, हाम्रो संस्कृति कता जाँदै छ ? आफैंले आफूलाई प्रश्न गरें । जवाफ पाइनँ । भूटान-नेपालतिर छँदा त्यत्रा रूख बिरूवाको फेदमा हुर्केको कहिल्यै चाहिएन तर, अहिलेका केटाकेटीलाई त्यो बजारमा राखेको नक्कली रूखबिना खानै नखाइदिने । कस्तो ज़माना आयो ! समाजको ठुलै नेता हुँ, आफैंले समाज बँचाएको र संस्कृति-परम्परा संरक्षणको ढोल फिट्ने नेता भनाउँदा, पत्रकार भन्न रूचाउने, आफूलाई होनहार पण्डित ठान्नेहरूलाई सम्झें । बिचराहरू भन्ने लाग्यो । अरूले आएर यो देशमा आफ्नो छाप छाडेको दृश्य सम्झें । पिजा, फ्राइस, चाइनिस टाउन हुँदै धेरै सम्झँदा अन्य देशकाहरुले यो देशमा आफ्नोपन बँचाएको पाएँ । हाम्रो भने आफ्नो दैनिक प्रयोग गर्ने गाडीदेखि नास्ताघरसम्म आफ्नोपन कतै पनि पाइन ।  अनि आफूहरूले त आएको ७-८ वर्षमै सबै गुमाउन थालेको दृश्य सम्झँदा सम्झँदै आँसुले लपक्क भिजेंछु !

“ए जेठा, हन रूँदैछस् कि के हो? हैन के भयो ?” मीतआमाले कल्पनाको मेरो संसार नै भत्काइदिइन् ।

“के भो जेठा”, भण्डारी काकाले पनि सोधिहाले ।

हैन काका हाई काड्दा आँसु आएछ । मैले टारें ।

“ए अँ मलाई पनि त्यस्तो हुन्छ”, काकाले सहमतिको संकेत गरेपछि म केही आश्वस्त भएँ ।

तर, मलाई भने भित्रभित्रै यी कुराले आगो लगाइसकेको थियो । मेरो मनको चिता बलिसकेको थियो । हराएको र सबै गुमाएको आभास हुँदै थियो । बाबा-आमाले भूटान छाड्नु परेको कारण र परिस्थिति मनन गर्दै थिएँ । …

“हैन हो तल्लाघरे साइँलीले त उसको नानीलाई नेपाली केटाकेटीसँग खेल्न पनि पो दिन्न रै’छे । नेपाली त बोल्दै नबोल्नु भन्छे रे उसका नानीलाई”, मीतआमा झोक्किँदै कुर्लिइन् ।

“ए त्यसो त बोल्नु पो भ’को छैन, खासै नेपाली त घरमा नआए पनि हुन्थ्यो झैं गर्दी रहिछिन् ती साइँली त । म जानै छाडेको हप्ता-पन्ध्र जति भयो”, भण्डारी काकाले पनि सही थपे ।

भूटानमा उ बेला जुलुसमा जाँदा एक दिन एकजना सरकारी अफिसरले तिमीहरू आफैं झैझगडा गरेर सकिन्छौ; बाँचेका पनि त्यतिकै बिलाउँछौ भनेको थियो भनेर बुढाबुढीले कुरा गर्थे, त्यो के भनेको होला भन्थें तर, विस्तारै उत्तर पाएको महसूस हुँदैछ ।

“अब पनि हामीले विचार नपुऱ्याउने हो भने हाम्रो इतिहास खोज्नु पर्ने हुनेछ”, डाँडा घरे गुरुजी भन्दै हुनुहुन्थ्यो । कलेज जाने समय भएकोले म कलेज तर्फ लागें । त्यो दिन कलेजमा पनि यिनै कुरा मनमा खेलीरह्यो । हराउन र सक्किन थालेको महसूस हुनथाल्यो । मन पोल्यो । कता कता डर लागेको अनुभव पनि हुँदैछ । खै… अब के हुन्छ; सोच्न पनि सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *