अमेरिकन राष्ट्रपतिलाई यौटा एसियनको चिठ्ठी
यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया
प्रिय राष्ट्रपति !
मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन
मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो
यद्यपि आजीवन बेघर मैले
सरकारले दरबारबाट जारी गरेको ‘स्टे इन्डोर’ आदेश
निष्ठाका साथ सफलतापूर्वक पालना गरी
कैयौँ दिन बिताइसकेको छु
म भोकले मर्न तयार छु तर
कोरोनाले मर्न मन पटक्कै छैन
किन कि कोरोनाले मर्दा मैले अरूलाई पनि मार्नेछु
विवेकको कुपी बाली आध्यात्मिक अरण्यको कुटीमा बसेर
आँखा चिम्ली नियाल्दा
जनको मोल धनकोभन्दा कोटी धेर देख्छु म
विज्ञानको चश्मा लगाई महानगरको
त्यो आलीशान आलयबाट हेर्दा के देख्छौ तिमी?
पूर्वीय विवेचनाको तराजुमा त
कपास झैँ कोमल जीवनको तौलले धनको ढकलाई सधैँ खिच्छ
त्यही हिरण्य जीवनलाई पश्चिममा फलामे ढकले कसरी जित्छ?
त्यो तुलोमा खोट हुनुपर्छ अथवा
तिम्रो तौलाइमा अवश्य दोष छ
कि त कसैसँग तिम्रो द्वेष छ
किन कराउँदै छन् लकडाउन विरुद्ध मान्छे प्रथम पथहरूमा ?
मेरो देशमा पनि स्वतन्त्रता छ
प्रजातन्त्र छ
अझ भन्नुपर्दा लोकतन्त्र छ
तिम्रो देशमा पत्र-पत्रिका छैनन् ?
कि तिम्रो जिभ्रोमा टाँसिएको ‘फेक’ उक्किएको छैन अझै?
ती अखबारबाट किन बेखबर छन् ती मान्छेहरू?
ती कागजहरूमा मुद्रित समाचार सत्य हैनन् अनि
दूरवीक्षणमा देखिएका दृश्यहरू असत्य हुन् भन्छौ भने
तिमीले मलाई देख्दैनौ
तिमीदेखि प्रकाश वर्ष दूर छु
टाढा भएपछि देखिँदैन
एकअर्कालाई देख्न नजिक हुनुपर्छ
तर म तिमीलाई हेरिरहेको छु, देखिरहेको छु
तिमी मेरो निकट छौ
‘गरीब’को दिमाग बोधो भए नि आँखा तीखो हुन्छ
त्यसैले प्रायः उनीहरू चश्मा लगाउँदैनन्
जबसम्म अर्थतन्त्रको मन्त्र जप्छौ तिमी
तबसम्म म तिम्रै पासहुँदै गए पनि देख्नेछैनौ मलाई तिमीले
अर्थतन्त्रको कालो जादूले अन्धो बनाउँछ
एकोहोर्याउँछ, लट्ठ्याउँछ, सम्मोहित पार्छ
अर्थतन्त्रको तिम्रो बकवास र घमन्ड चिरायु राख्न
मान्छे र मृत्युलाई भिडाएर
रणभूमिको सबैभन्दा अग्लो र सुरक्षित स्थानमा स्थित
गादीजस्तो सोफामा ढेस्सिएर
जुलुम गर्ने बादशाहले झैँ अवलोकन गरिरहे छौ यो यद्ध
यो भिडन्तमा मान्छेको अन्त असन्दिग्ध छ
जसको आयतन अति रिक्त तिम्रो दिमागको आकार अतिरिक्त छ
जो विश्वलाई अति तिक्त छ
कोरोना सङ्कटकालमा पनि अर्थतन्त्र अक्षुण्ण राखी
संसारकै शक्तिशाली बनिरहने तिम्रो सर्वसत्तावादी सोचले
अन्ततः सबभन्दा बढी अमेरिकनहरूलाई नै शहीद बनाएको छ
त्यसो त अफगानिस्तान, इराँक, सिरियामा खाल थापेर
तिमीले हानेका सैनिक नामधारी कति कौडालाई उत्तानो त
कतिलाई घोप्टो पारेर पनि तिमीले दाउ पारेकै हो
जितौरी पनि बाँडेकै हो
योद्धा थिए उनीहरू विजेता कसरी बन्यौ तिमी?
सस्तो सामग्री बनाएर विश्व बजार चलाउने चीनले
के मृत्यु पनि उत्पादन गर्छ सक्छ जस्तो लाग्छ तिमीलाई
र ‘चिनियाँ’ भाइरस भन्दैछौ COVID-19लाई?
कि राजनैतिक चित्रकारले भाइरसमा पनि रङ्ग पोत्नैपर्छ?
के यौटा ‘परम शक्तिशाली’ देशको अभिभावक अनि संरक्षक
मनुष्य भक्षक विस्तारवादी कोरोना भाइरसको अतिक्रमण रोक्न
मान्छेको चहलपहल नियन्त्रण गरी उनीहरूको जीवन रक्षक बन्न सक्दैन?
नागरिक नै नरहे नगर रहेर के गर्नु?
प्रशासितहरू लोप भएको लोकमा प्रशासकको के मूल्य?
अर्थोपोभोक्तारहित अर्थ अर्थी किन्न बाहेक व्यर्थ छ
यो चिठ्ठीको अर्थान्तर नहोस्
मैले तिम्रो अर्थतन्त्रको धाकको धज्जी उडाएको हैन
अर्थतः यो समयले अनावरण गरेको यथार्थ हो
क्षेप्यास्त्र, लडाकू विमान, गोला-बारुद
अथवा कुनै पनि युद्धास्त्रले परास्त पार्न सकेन कोरोनालाई
अनिश्चितकालीन बन्द गर शस्त्रास्त्रोत्पादन
त्यसको बिक्री-वितरण र तोपखानाहरू
मान्छेले हारेको छ यो अभूतपूर्व महासङ्ग्राम
पराजित मान्छेलाई अब चाहिँदैन कुनै हातहतियार
अब मान्छेले मान्छेसँग कहिल्यै नगरोस् युद्ध
म एसियनको अमेरिकन ड्रिम तुहिएको छ
शुभचिन्तकको नाताले भन्दै छु
बरु ग्रहयुद्ध होस् तर गृहयुद्धले नच्यातियोस् अमेरिका
तिमीलाई मैले यो चिठ्ठी घृणाले होइन
प्रेमले लेख्दै छु
प्रेममा त पराजयले पनि
विजयले झैँ आनन्द दिन्छ, शान्ति दिन्छ
मलाई यही सिकाएको छ
म उभिएको भारतीय उपमहाद्वीपको इतिहास र धरातलले
जहाँ दरबार त्यागेर तपस्वी बनेको युवराज भगवान् बन्छ
जहाँको जमीनमा प्रेमको बीज छर्दा ताज महल उम्रन्छ
जहाँ प्रेममा पराजित भएपछि खण्डित सम्राटले
प्रेमिकाको स्मृतिको भट्टामा इँटा पोल्छ, जोड्छ अनि
विश्व चकित पार्ने इमारत उभ्याउँछ
खास्टोभित्र अहिंसाको आफूलाई अविरल लपेट्ने
जहाँको यौटा नपत्याउँदो निशस्त्र पित्र पुरूषले
नित्य देश र देश-बन्धुको पवित्र प्रेम पूजकले
संसार परास्त पार्ने दिवास्वप्न देखेको
शस्त्रास्त्रले सुसज्जित अङ्ग्रेज उपनिवेशकहरूलाई
विश्वसामु उसको अघि घुँडा टेकाउँछ
मैले बादशाह, तानाशाह
जिग्मे सिङ्गे, गदाफी अनि जिग्मे गेसारलाई त चिठ्ठी लेखेको थिएँ
तर प्रजातन्त्रको घाम उदाएको पश्चिमतिर फर्केर
२१सौं सदीको अमेरिकन राष्ट्रपतिलाई
रातभरि यसरी चिठ्ठी लेख्नुपर्दा
अर्ती दिनुपर्दा मलाई अति अर्ति लागेको छ
