अमेरिकी चुनाव र नारी नेतृत्व

भक्त घिमिरे
पेन्सिलभेनिया/अमेरिका

 

हुनलाई त अमेरिकामा जोकोही पदमा आए पनि ठूलो भिन्नताको आशा गर्नु पर्दैन । किनभने लगभग सबै राजनीतिज्ञहरु,  आन्तरिक राज्यव्यवस्था र वैदेशिक सम्बन्धका रणनीतिहरु एउटै पूँजीको केन्द्रद्वारा सञ्चालित हुन्छन् । तथापि, ट्रम्पको श्वेतसर्वोपरिताको ज्वालोमा थोरै भए पनि पानी खन्याउने कामचाहिं पक्कै हुनेछ ।

कमलादेवी ह्यारिस अमेरिकाको वैकल्पिक राष्ट्रपति पदमा निर्वाचित भएपछि अमेरिकी राजनीतिक इतिहासमा प्रथम नारी प्रतिनिधित्वको धरोहर स्थापित भएको छ । यहाँनेर मैले उपराष्ट्रपतिलाई वैकल्पिक राष्ट्रपति भनिरहँदा अचम्म नमान्नु होला ।   

हो, अमेरिकामा उपराष्ट्रपतिको पद भनेको वैकल्पिक राष्ट्रपति नै हो । त्यो कसरी भने कुनै परिबन्दले राष्ट्रपतिले आफ्नो पद त्याग्नु परेमा अथवा निधन भएको खण्डमा उपराष्ट्रपतिले कार्यवाहकका रूपमा नभएर पूर्णाधिकार सम्पन्न राष्ट्रपतिकै तहमा काम गर्दछन् । अरु देशहरुमा उपराष्ट्रपति वा उपप्रधानमन्त्रीहरु विद्यमान कार्यकालभित्र पद बढोत्तरी भएर प्रधानमन्त्री वा राष्ट्रपति बन्ने सम्भावना हुँदैन । तर, अमेरिकामा त्यो सम्भव छ । सन् १८४१ मा तत्कालीन उपराष्ट्रपति जोहन टाइलरले यो थीति बसालेका हुन् ।

वास्तवमा कुरो के भएको थियो भने, आफू राष्ट्रपति बनेको एक महिनामै ह्वीलियम हेनरी ह्यारिसनको निमोनियाको कारण ह्वाइट हाउसभित्रै निधन भयो । राष्ट्रपतिको निधन भएको आधिकारिक सूचना प्रकाशन गर्ने सिलसिलामा जोहन टाइलरले आफू उपराष्ट्रपति अथवा कार्यवाहक राष्ट्रपतिको रूपमा सूचनामा हस्ताक्षर गर्न तयार नरहेको अड्डी लिए । त्यसपछि बाध्य भएर अमेरिकी कंग्रेसले टाइलरलाई नै राष्ट्रपतिको रूपमा सिफारिश गरिदियो । धेरै जिद्धि र हठी भएको अभियोगमा पछि टाइलरलाई उनको दल ‘ह्वीग पार्टी’ ले दलको सदस्यबाट निष्कासन त गऱ्यो तर, निश्चित परिस्थितिमा उपराष्ट्रपति नै पूर्ण राष्ट्रपति बन्ने उनले बसालेको थीति भने संवैधानिक प्रावधानकै रूपमा विकसित भएर रह्यो ।

यस्तो गरिमामयी पदमा निर्वाचित भएर कमला ह्यारिशले आफैंलाई एक पराक्रमी नारीका रूपमा उभ्याएकी छन् । उनको सफलताले अमेरिकी राजनीतिमा नारी सहभागितालाई मात्र प्रत्याभूत गरेको छैन । श्वेतसर्वोपरिता अर्थात, गोराहरुको सर्वसत्ताका लागि मरिहत्ते गरिरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुइ बल्ड्याङ पछारेर उठेका जननिर्वाचित जोइ बाइडेनको अगुवाइमा उपराष्ट्रपति बनेकी कमलाले आफू उपराष्ट्रपति बन्दै गर्दा अश्वेत समुदायको गर्वगाथालाई पनि उचालेकी छिन् । किनभने अमेरिकाको लागि उनी ‘रंगीन’ नारी हुन् । त्यसमाथि दक्षिण एशियाबाट आप्रवासनमा अमेरिका पसेकाहरुलाई पनि उनले हौसलाको विजारोपण गरेकी छन् । किनभने दक्षिण एशियासित उनको पारिवारिक नाता-सम्बन्ध छ ।

हुन त अमेरिकी राजनीतिमा नारीहरुको चासो र सरोकार नरहेको होइन । डेढसय वर्ष पहिलेदेखि नै नारीहरुले अमेरिकाको सर्वोच्च नेतृत्वका लागि जमर्को गर्दै आएका हुन् । सन् १८७२ मा भिक्टोरिया हुढुलले राष्ट्रपति पदको लागि उम्मेदवारी दिएकी थिइन् । तर, उनको उम्मेदवारी नै विवादमा तानियो । त्यसपछि नारीहरुले लगातार रूपमा विभिन्न तहबाट अमेरिकी राजनीतिको उच्च नेतृत्व आफूलाई उभ्याउन विभिन्न प्रयत्न गरी नै रहे पनि उनीहरुको सहभागिता लगभग शून्यझैं रहँदै आएको थियो । तर, सन् २०१६ मा हिलारी क्लिन्टनले फेरि सोही पदको हकदाबी गरिन् र त्यो शून्यतालाई तोडिन् । यद्यपि, हुढुलदेखि र हिलारीसम्मका नारीहरुबाट तोडिएको शून्यता त्यति धेरै ऊर्जाशील हुनसकेन ! किनभने एक त उनीहरु कसैले पनि त्यो पद आर्जिन सफल भएनन्; सफल भएका थिए भने पनि उनीहरु सबै श्वेत समुदायबाट थिए । अहिले कमलाझैं मिश्रित समुदायको प्रतिनिधित्व गर्ने उनीहरुको हैसियत थिएन ।

हुनलाई त अमेरिकामा जोकोही पदमा आए पनि ठूलो भिन्नताको आशा गर्नु पर्दैन । किनभने लगभग सबै राजनीतिज्ञहरु,  आन्तरिक राज्यव्यवस्था र वैदेशिक सम्बन्धका रणनीतिहरु एउटै पूँजीको केन्द्रद्वारा सञ्चालित हुन्छन् । तथापि, ट्रम्पको श्वेतसर्वोपरिताको ज्वालोमा थोरै भए पनि पानी खन्याउने कामचाहिं पक्कै हुनेछ । जोइ बाइडेन र कमलालाई निर्वाचन सफलताका लागि हार्दिक बधाई साथै सफल संयुक्त कार्यकालका लागि शुभकामना !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *