अर्ग्यानिक धुलो
जे एन दाहाल
अमेरिका
झापाको कुनै गाउँमा धुलो, माटो खेल्दै हुर्केको
हिलो मैलो खोलामा पैरी खेलेको
धुलोमा लडीबडी गरेको
धुलै खाएर पढेको, बढेको
लडेको, चढेको जे जे .. ऽऽ भने पनि !
तर अचम्म ! कस्तो चेत पसेछ युवा अवस्थामा
बाटामा त्यही धुलो कुल्चियो तर खाइएन
पैतालाले माडियो तर हातले उठाइएन !
कोसौँ वरबाट धमिलो खोला तिर पुलुक्क हेरियो
तर पौरी खेल्ने आँट सम्म गरिएन ।
अध्वैंशे उमेर लिएर अहिले म सहर पसेको छु,
कुनै समृद्ध देशको
मजदुरी गर्छु- भुँइ पुच्छने
जुत्ता या स्याण्डलले ल्याएको धुलो सफा गर्ने
धुलो त उही धुलो हो
तर धुलो पनि कति दूषित हुन सक्दो रहेछ
कति रसायन मिश्रित हुँदो रहेछ
यो धुलो खाँदा मान्छे बिरामी पर्छ सहरमा
र मुखमा बाँध्छन् मास्क नामको एक टुक्रा कपडा
बरु त्यो सुखी गाउँको बालापन रमाइलो हुन्थ्यो
जत्ति खाए पनि रोग बिराम केही नहुने
त्यो धुलो त अर्ग्यानिक धुलो थियो !