अलिकति- नरम सरम

कवि
कवि

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

अलिकति फुर्सत उबारेर
हरेक बिहान मेरी साथी
सानो मायालु ऐनासँग भुल्लिन्छिन्
के के गर्छन् ती दुई साथी गोप्य कोठामा
मैँले कहिल्यै गोपनियताको पर्दा उचाल्या छैन
खाली सिउँदो लिएर पसेकी साथी
रंग्याएर निक्लिन्छिन्-
(लालीगुराँससँग होली खेलेझैँ)

कति रमाउँछिन् होला मन मनै
कति मुस्कुराउँछिन् होला छन्छनी
याद पगार्दी हुन् त्यो दिन मन्दिर पस्ताको
माया बोल्दो हो गुलाबसँग ऐना साट्ताको
सिउँदो रंगाई जग्गे सामु बस्ताको
फैल्याउँदी हुन् ऐना भरी सर्मिन्दा आँखा
सयार्दा सम्माल्दा यदाकदा लत्रेका परेली
अहो!
त्यो ऐना बोल्ने हुनु हो भने
साथीका साउती सबै मलाई सुनाउँथ्यो
ऐना भित्र एउटा क्यमरा अझ हुनु भने
प्रत्येक दिनका मृदु लज्जालु मुस्कानसँगै
सर्मिन्दा नयनबाट बेला बखत खुस्केका हर्षका मोती
कोमल ओठमा लाली छर्किँदा फुर्फुराएको मुस्कान
रिलका रिल कैद भा हुन्थ्यो होला
मेरो मन पानी पानी भई झुल्थ्यो होला
(कमलको थुँगोमा भ्रमरा बस्ता डाली नुहिएझैँ)

हिजो जस्ती थिइन् प्रत्येक आज उस्तै
सुन्दर मुहारमा निख्खर सुन्दरता छिपाउँदै
दिनानु दिन मायालु तलाउ बन्दै छिन्
सुन्दर दुई थुँगा फूल हुर्काइसकिन्
आफ्ना कुम कुम अग्ला बनाइसकिन्
हिजो जस्ती थिइन् प्रत्येक आज उस्तै-मेरी साथी
उही सुकोमल हात-पाउ
उही सदाबहार नरम सरम
उही मन्दमुस्कान झुलिरहेछ मायालु गमलाभरि
बाहिरीभन्दा अझ भित्र भिन्न राम्री
(पूर्ण पाकेको अनार दानो जस्तै)

उनी-श्रीमति, बुहारी, आमा, माइजू, काकी…
के के भइसकिन् नाताका आँखामा
कुरूपता त्यो शब्दैमा सीमित छ
बिरूपता तार बार बाहिरै बन्दी छ
उही प्यारी, उही सुन्दरी रसिली
उही हँसिली टम्म बाटुली पोटिली
पहिलो चोटि-
गुलाबको थुँगो सर्माउँदै साट्या पलमा झैँ
एक नास सुकोमल छिन् मेरी साथी
आज पनि
पोखी रहन्छिन् प्रत्येक नजर जुधाइमा
उही नरम सरम

बेला बखत झुक्याएर
गुलाबसँग साटेको त्यो ऐनामा मलाई हेर्छु
उनकै मुहार खिच्न बानी परेर हो या
मेरा आँखाको भ्रम?
ऐना भित्रबाट-
मेरो अनुहारसँगै उनको मुहार जिस्किन्छ
तप्क्याउँदै अलिकति नरम सरम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *