अव्यक्त प्रेमको परिणाम
डी.पी. ओस्ती
क्यानाडा
कहिले म अघि
कहिले तिमी अघि
अघि-पछि जसरी हिँडे पनि
हामी एउटै बाटोमा हिँड्थ्यौं
कहिले म आउँदै गर्दा
तिमी जाँदै गर्थ्यौ
अनि कहिले तिमी डोको बोकेर आउँदै गर्दा
म हलो-जुवा बोकेर जाँदै हुन्थें
जहाँ जसरी भए पनि
तिमी र म भेट हुने त्यही बाटो थियो
त्यही चौतारी थियो,
त्यही देउराली थियो,
हामीबीच निशब्द कुराकानी हुन्थे
मलाई देखेर तिमी मुसुक्क मुस्कान छोड्दै
बाटो काट्दथ्यौ,
कैले कहीँ तिमी मेरै प्रतिक्षामा झैं
चौतारीमा चराहरूसँग मेरो प्रशंसा गरिरहेकी हुन्थ्यौ
जब म पुग्दथें
अनि तिमी मुसुक्क हाँस्दै
चौतारी मलाई सुम्पिएर हिँड्थ्यौ ।
म चौतारीमा बसेर भरेसम्म
तिम्रो मुस्कानभित्र मडारिरहेको हुन्थें
तिम्रो मुस्कान सुगन्धित फूलको पराग झैं
भरेसम्म मेरो मन मस्तिष्कमा मग्मगाइरहन्थ्यो
तिम्रो त्यो लजालु हेराइले,
मेरा सारा थकानहरू मेटिन्थे
हामी आँखा-आँखाले बोल्दथ्यौ
मुटु-मुटुले बोल्दथ्यौ
भरेसम्म तिम्रो तस्वीर
मेरो आँखाको पर्दा बनेर झुन्डिरहन्थ्यो,
लाग्दथ्यो हामी वर्षौंदेखिका आत्मिय जोडी हौं,
मलाई पूर्ण विश्वास थियो
यो अव्यक्त प्रेम कुनै दिन व्यक्त हुनेछ
अनि यो बाटोमा गाँसिएको माया घरसम्म पुग्नेछ ।
मैँले सपना देख्न थालिसकेको थिएँ,
दुलाहा बनेर उनको आँगनको जग्गेमा बस्नेछु,
उनको खाली सिउँदोमा सिन्दुर रंगाउनेछु,
अनि बाटोमा लगाएको मायालाई
डोलीमा चढ़ाएर जन्तीहरूकाबीच
आफ्नै घरमा भित्र्याउनेछु ।
यस्तै-यस्तै कल्पनामा रम्दै थिएँ,
मुटुभरि मिठो माया सजाउँदै थिएँ,
केही दिन पछि मात्र हो,
उनलाई भेटेर मनका सारा भावना पोखुँला भनेर
बाटाको चौतारीमा उनकै प्रतिक्षा गरिरहेको थिएँ,
उनी अवस्य आइन् !
तर, उनि त सयौं जन्तीले घेरिएर
दुलहीको रूपमा नव दुलाहाको अघि लागेर-
डोली चढ़ेर आइन्
र, मेरो उनको जीवनप्रतिको प्रतीक्षालाई
अव्यक्त शैलीमा अन्त्य गरिदिइन् ।
तर, फरक यतिमात्र थियो,
सधैं उनी हाँस्दै जान्थिन् र मलाई पनि हसाउँथिन्
आज उनी रुँदै गइन् र मलाई पनि रुवाइन्,
शायद मैँले पाउनुपर्ने यहीँ थियो ।