असार पन्ध्र

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

 

जीवनले नवीकरण खोजिरहेको बेला,
भारि अल्छी बोकेर आयो आसार पन्ध्र
मानौ आसार पन्ध्र केही होइन
मानौ केही हो पनि,
मेरा लागि
म हली हो, हली होइन पनि
यो बन्ध कोठामा बसेर
कल्पना लोकमा गोरु जोत्दै छु
र हिलोमा खेल्दै छु
रोपारहरु छन्, चुराहरु बजाउँदै
गाड्दै छन् धानको बीउ हिलोमा
सुनबाला फुलाउने सपना बोकेर
असारे भाकामा हराउँदै……….
बाउँसेहरु छन्
जिन्दगीको छेउभित्ता छाँट्काट गरिदिने
असारे भाकाहरु……….
कतै कानमा आए जस्तो पनि लाग्छ कतै नआए जस्तो पनि
हतार छ, हतार छ…..
फुर्ति देखाउनु छ, गोरुको पुच्छर निमोठ्दै
होरा………..हो.रा ……हो…रा, ह ह हह….
झाले हह, तारे हह, हो…रा हह
क्षितिजको किनारमा सम्झनाको बादल वेगले उड्दै छ
यतिखेर नालोङ् बडेर आएको होला
असारले वैँश बटुलेर आएपछि मुल फुट्नु पर्ने हो जताततै
सम्झनाका तरेलीहरुमा….
म खेत हो पानी पानी भइसकेँ…………
रोप रोप सिर्जनाका बीउहरु…….
म आफैँ असार पन्ध्र हो
यो सहरमा………………
यो नयाँ परिवेशमा दही चिउरा चबाउँदै छु नयाँ स्वादको
यो नयाँ दुनियाँमा असार पन्ध्र छ क्षण क्षणमा……
यो सहर असार पन्ध्र हो
म आफैँ असार पन्ध्र हो
गर्नु छ रोपाइँ……..पलपलमा…………..
रोपाइँ छ….(रोजाइ होइन)…..रोपाइँ छ………

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *