अस्ताउँदो आकाश
रुप पोखरेल
अमेरिका
स्वार्थ- निस्वार्थ
इच्छा- अनिच्छा
निन्द्रा- अनिन्द्रा
संगति- असंगति
अनेक चक्र चंगुल बीच,
बाँच्तो छ जिन्दगी ।
दृश्य-अदृश्य
कटु यथार्थका खोपी चाल्दै
प्रलयअग्नीको ज्वालो आँतमा बाल्दै
चिसिएका हातपाउ मसार्दै माथ सेक्तै
एक मुठी प्राण सन्चय गर्नैका लागि
बनेको
नतमस्तक दास
लोरो सिलौटो बीचको मसला सरी
गोढ्दै भविष्यको ब्याड
अदृश्य भोलिका पाइला पछ्याउँदै
पर्सी भेट्न
परिस्थितिका अस्तिपन्जर पन्छाउँदै
अस्तित्व रक्षार्थ आधा पेट खाएर पनि
अघि बढ्दो छ जिन्दगी ।
पूर्खाको निधि
आफ्नोपन
मौलिक परम्परा
धितो राखेरै भए पनि
जीवन धान्ने निहुमा
आफ्नै पसिनाको कर तिर्न
रातोदिन अखनी लाऊँदै
घोटिंदो छ जिन्दगी ।
सास रहुन्जेल आस
बाध्यताका सोइला गर्धनमा छन्
जोताराको कसाइ- कसिलो
आफ्नो थकान- मालिकको मुस्कान
किस्ता किस्तामा तिरो भर्न
बरफ पगाली आहारा टोक्तै
हस्तरेखाको भाग्य पद्दै
जोतिंदो छ जिन्दगी ।
रित-
मन नपर्ने सबै बुकीफूल
आफ्ना जति चाँप चमेली
निर्धो;
ऊ नतमस्तक छ
साट्छ इच्छा अनिच्छासंग
मेट्छ निद्रा अनिन्द्रासंग
निस्वार्थको थुन्से भारी
स्वार्थ खातिर सुकाउँछ पसिनाको बिस्कुन
आहा!
तारा अस्ताउँदो आकाश हेर्दै
मुस्कुराउँछन् निद्रे आँखा
पात झरेका वृक्षका आँतमा
भविष्यका हजारौं फल छिन्कींदै
दुखका बियाँ उधार्दै
बित्तो छ जिन्दगी ।