अहमको उन्माद
शिवलाल दाहाल
केन्टकी, अमेरिका
कहिले ऊ
मरेको सिनु गनाउँदै
खोलाका किनारको ढुङ्गामा छलिएर
जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर
अन्धाधुन्ध माछा समाउने दाउमा………………
कहिले ऊ
मुर्कट्टा पाइलाले
नाप्तै सफलताको छलाङ बालुवामा
हिँड्छ अँगार चपाउँदै मसानघाटको
वितृष्णाको तिर्खा मेट्दै………….
कहिले ऊ
सर्पको फँडा फैलाउँदै हिँड्छ
मान्छेको सिकारमा
सडकहरूमा शंखघोष गर्दै प्रलयको…………….
कुनै दिन
अहमको उन्मादमा हिँडेको
ऊ
आफैँ डढेर खण्डहर इतिहासको
मुर्कुट्टा सडकमा……….
टाउको टेक्दै हिँड्दो हो
विवेक बन्दकीमा राखेर
भस्मासुरको बिँडो थाम्दै……………