आँगनभन्दा पहिले घरभित्र बडारौं
भक्त घिमिरे-पेन्सिलभेनिया/ अमेरिका
तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक रूपमा बनेको घरको कुरा गरिरहेको छुइनँ । यहाँ संस्कारको घर, संस्कृतिको घर अथवा सामाजिक आस्थाको घरको चर्चा उठाउन खोजिरहेको छु । यहाँनेर घर भनिरहँदा घरभित्र एउटा सिंगो परिवार पनि हुन्छ भनेर साथ साथै बुझ्नु पर्दछ । त्यो परिवारमा नयाँ सदस्य जन्मिँदा उत्सव हुन्छ भने कसैको देहान्त हुँदा शोक व्याप्त हुन्छ । हामी त्यही शोक अथवा मृत्यसंस्कारको सन्दर्भमा केही चर्चा गर्न लागिरहेका छौं ।
करीब करीब वर्ष पुग्यो होला; नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीको दुर्घटित मृत्युपछि उनको कृयाकर्म कति दिन गर्ने-गराउने भनेर ठूलै तहल्का मच्चियो । सञ्चारमाध्यमहरुमा यस विषयले निक्कै चर्चा पनि पायो । यद्यपि, सञ्चारमा यो कुरा उठेको त्यतिबेला मात्र होइन । त्योभन्दा लगत्तै अघि जून, २०१८ मा डा. उपेन्द्र देवकोटाको निधन हुँदा पनि त्यस्तै भएको थियो । त्योभन्दा अझ केही वर्ष अघि पनि नेपालमा यो कुरा उठाएर परिवर्तनमा जोड दिएका कारण एकजना राजनीतिज्ञलाई धार्मिक अभियन्ता भनिने केही रुढीका हिमायती पण्डाहरुले निकै ‘श्राप’ दिएका थिए । त्यतिबेलामात्र होइन, जहिल्यै पनि यस्ता सांस्कारिक विधिहरुमा आवश्यक फेरबदल गर्नुपर्ने राय र छलफलहरु चलाउने मानिसहरुलाई कोल्टे आँखाले हेरिन्छ । कृयाकर्मको अवधि घटाउन चर्चा चलाउनेहरुलाई जवाफ दिनका लागि अहिले एउटा पुस्तक नै प्रकाशित भएको छ जसले चलिआएको १३ दिने कृयाकर्मलाई छोट्याउने अनुमति दिँदैन । अनुमति नदिनेमात्र होइन, त्यस्तो चर्चा उठाउनेहरुलाई अपराधी नै करार गरिन्छ ।
त्यस्तो मिथ्या अपराधीकरणका कारण १३ दिने काजकिरियालाई तीन, पाँच वा सात दिनमा सिध्याउन नमिल्ने अड्चन कहाँनेर छ भनेर सोध्न निकै गाह्रो छ । तर, सामाजिक साझा सहमति भएमा यो काम गर्न केही पनि गाह्रो छैन । हेरक संस्कारका कर्मकाण्ड विधिले ‘कुनै कर्म विवादित भएमा वेदसित तामेली गर्नु अथवा पञ्च समाजले गरेको निर्णयलाई सर्वोपरी ठान्नु’ भनेर समाजको हातमा अधिकार सुम्पिएका छन् । तर, समाजलाई निर्देशन गर्ने पण्डित पुरोहितहरु एकमत हुनु जरुरी छ । किन पण्डित पुरोहित यहाँ म भनिरहेको छु भने, उनीहरु बीचको मतान्तरले समाजमा अन्योल सिर्जना भइरहेको छ । उदाहरणको लागि अघिल्लो वर्षको दशैंमा भएको एउटा प्रसंग पेश गर्नचाहें ।
एक परिवारमा दशैं टीकाकै दिन कसैको जन्म भयो । अभिभावकले कसरी दशैं मनाउने-अथवा मनाउन मिल्छ-मिल्दैन भनेर एकजना पण्डितलाई प्रश्न गरे । “बच्चा जन्मिएपछि दश दिनसम्म सुतक बार्नुपर्ने हुनाले दशैंको कुरै आएन”, जवाफ आयो । फेरि अर्का पण्डितलाई प्रश्न राखियो । उनको जवाफ यस्तो आयो- “सात दिनमा कुश-गहुँत गरी कार्यसम्पन्न गर्न मिल्छ । तर, सात दिनमा दशैं पनि गइसक्छ ।” बल्ल बल्ल वर्षदिनमा आएको दशैं, रमाइलो गर्न नपाएर कच्मरिएका परिवारको मन शान्त भएन । फेरि अर्का पण्डितलाई सोही प्रश्न राखियो । उनले भन्दिए,“बच्चाको जन्मले कहाँ चाड-पर्व र शुभकार्य रोक्छ र; कत्रा कत्रा पुराण, विवाह र ब्रतहरु पूरा गर्न तीन दिनमै न्वारण गरिदिएको छु मैले स्वयं, बोलाउनुस् एकजना ब्राह्मण र शुद्धा-शुद्धि गराउनुस अनि मनाउनुस दशैं ।”
काजकिरियाको कुरा पनि यस्तै हो । केही पण्डितहरुको कुरा छः वेदमा किरिया-कर्मबारे केही लेखिएन । महाभारतको युद्धमा मर्ने कसैको अन्त्येष्टिकार्य बाहेक १३ दिन किरिया गरिएन । द्वापर युगका अन्तिम राजा परीक्षित र कलिका प्रथम राजा जन्मेजयको १३ दिन किरिया गरिएन । गरुड पुराणमा मानिसको आत्म मृत्युपछि प्रेतलोकमा जान्छ र पुनर्जन्मको लागि पहिलो अंग शिर बन्छ भन्दै मृत्युपछिका १३ दिनमा विभिन्न अंगहरु बनिने बयानबाजी जोडेर किरियाकर्मलाई १३ दिनसम्म तन्काइएको छ । तर यसमा कुनै वैज्ञानिक आधार छैन भनेर फेरि केही पण्डितहरु नै उफ्रिरहेका छन् । ती उफ्रिने पण्डितहरुको तर्कमा आंशिक सत्यता छ कि जस्तो पनि लाग्छ । किनभने शास्त्रले मानिसको मृत्युपछि ८४ लाख जीवयोनी पार गरेरमात्र पुनः अर्को मानव जन्ममा प्रवेश गर्दछ-भनिएको छ । यो पनि वैज्ञानिक रुपमा पुष्टि हुने कुरा त होइन तथापि मानिसको मृत्युपछि पुनः अर्को मानव जन्मका लागि तयार हुने कुरालाई शास्त्रले नै काटिदिएको कुरा यही वर्णनले प्रष्ट पार्दछ । वैज्ञानिक तर्कमा जाने हो भने कुनै पनि प्राणीको भ्रूण बनिरहँदा शुरुमा टाउको बन्ने प्रश्नै हुँदैन । बन्यो भने पनि पहिला श्वास-प्रश्वासका छाती र रक्तसञ्चारका लागि मुटु नबनी त्यो टाउको सजीव हुँदैन । त्यसैले पहिले मुटुको धमनी बनेरमात्र विस्तारै अरु अरु अंगहरु बन्दै जान्छन् । शरीर तथा प्रजनन् विज्ञानको कुरा छोडेर परम्परागत सन्दर्भमा मात्रै अडिने हो भने केही गम्भीर अन्योलहरुलाई उचित व्याख्यान विधिले चिर्नुपर्दछ । जीवनभरि पुनर्जन्म लिन नपरोस्, यही जीवनपछि मोक्षप्राप्त होस् भन्दै रात-दिन बैकुण्ठवासको कामन गर्ने भक्तिसमर्पित आत्माहरुलाई गरुड पुराणले मृत्युको केही दिनपछि लगत्तै जन्माउने प्रयास गर्दछ । मृत्युको लगत्तैपछि अर्कै कुनै मानवरूपमा जन्माइएको आत्मालाई फेरि वर्षदिनमा प्रेत बनाएर श्राद्धको पिण्ड खान निम्ता गर्दछ । वैदिकी संस्कृतिमा खिसी गर्न म यी वाक्यहरु यहाँ लेखिरहेको छुइनँ । यहाँनेर समाजलाई शास्त्रका विज्ञहरुको यथोचित परामर्श चाहिएको छ ।
माथि नै भनियो वेदमा काज-किरियाबारे केही लेखिएको छैन तर, “पारस्करगृह सूत्रमा छ, यो पनि वेद समान महत्वपूर्ण शास्त्र हो; त्यसकारण यसलाई पनि वेद बराबर मान्नु पर्दछ”, भनेर हिन्दू कर्मकाण्डविशेषज्ञ डा. आमोदवर्धनले फर्मान जारी गरेका छन् । यद्यपि, घर सञ्चालनका लागि बनाइएको पारस्करगृहसूत्र जस्तो सामान्य नियम वा गृविधानलाई वेदको दर्जा दिनै नमिल्ने सयौं दिग्गज महात्माहरुको मत पनि छ । पारस्कर गृहसूत्रलाई ‘वेदजस्तै हो’, भन्नुमा केही निहित उद्देश्यहरु होलान् । तर, यो कथन यथार्थमा एउटा थुम्कोमा चढेर मैले सगरमाथा आरोहण गरें भन्नुजस्तै हो ।
यो प्रथालाई १३ महिना, १३ हप्ता, छ हप्ता (४५ दिन) बाट १३ दिनमा झारिएको मानिन्छ । यसको प्रमाण के छ भने विसं १९९८ कात्तिक १६ गते राणाकालीन नेपालका प्रधानमन्त्री जुद्धशमशेरले “अब उपरान्त १३ दिनभन्दा बढी किरिया गर्न नपाइने” भनी ‘इश्तिहार’ जारी गरेका छन् । जसको अर्थ त्योभन्दा अघि १३ दिनभन्दा बढी किरिया गरिन्थ्यो र त्यसलाई कम गरेर १३ दिनमा ल्याइयो भन्ने हो । अब यसलाई समयसापेक्ष तीन, पाँच वा सात दिन बनाउन किन नमिल्ने ?
चार वेद र एकलाखभन्दा धेरै श्लोक भएको महाभारतमा १३ दिने काजकिरियाको बारेमा केही स्पष्ट उल्लेख नभएकोले यसलाई तीन, पाँच वा सात दिनमा पुरा गर्नु शास्त्रसम्मत नै हुन्छ भन्ने मत भएका मान्छेहरुको संख्या कम छैन । अझै गहिरिएर गीताको अध्याय २ श्लोक २१,२२ र २३ लगायत कोशितुकि उपनिषद अध्याय एक श्लोक ६ र ७ लाई अर्थ लगाएर विचार गर्नुहोस्, मृत्युपछिको दानदक्षिणा पितृले पाउने कुरै छैन ।
१३ दिनबाट किरिया-कर्मलाई घटाउँदा आमा-बाबुले आफूलाई पालन-पोषण गरेको ऋण चुक्ति नहुने भनेर लिँडेढिप्पी गर्नेहरु घोत्लिएर यहाँनेर सोचून्, बाँचुञ्जेल वृद्धाश्रममा जिम्मा लगाएर मरेपछि सय-झड्का विधान गर्दा त्यो ऋण ब्याजसहित चुक्ति हुन्छ त ?
परम्परागत कट्टरताका पुलिन्दाहरुले गहिरिएर सोच्नुपर्ने हो, उहिले अधिकांश पुरुषहरु घर-गृहस्थमा भन्दा युद्ध र तपस्यामा लिप्त हुन्थे । युद्धमा जानेहरुले कुन मुलुकमा छोडिएका आफ्ना आमा-बाबु वा आफ्न्तको खबर समेत समयको अन्तरालमा मात्र प्राप्त गर्थे । तपस्यामा रहेकाहरु त कैयौं तपस्याकै दौरान समाधिस्थ पनि हुन्थे । उनीहरुले आफन्तको वा आफ्न्तले उनीहरुको किरियाकर्म गर्नु कसरी सम्भव भयो होला ? यो चर्चा हो, यसबारेमा जानकारी भएकाहरु सौहार्द्रपूर्ण छलफलमा सहभागी बनौं ।
पारम्परिक कट्टरताका पक्षधरहरु आज मान्छेको बाँच्ने शैलीमा आएको परिवर्तनले हाम्रो समाजलाई कहाँबाट कहाँ पुऱ्याइदिएको छ-भन्ने कुरै बुझ्दैनन्, बुझे पनि बुझ्न चाहँदैनन् । समाजका पुराना अन्तर-सम्बन्धहरु कताबाट कता पुगेका छन् भनेर सोच्नै सक्तैनन् । चेतना र विश्वासको आधारमा हरेक परिवारभित्र सांस्कृतिक विद्रोह, सांस्कारिक विघटन देखाहा पर्नथालेको छ अनि धर्म-संस्कृतिका कुरा त्यही विघटनको दोसाँधमा रहेको समाजसित अन्तरसम्बन्धित छन् भन्ने कुरामा उनीहरुको चिन्तन देखिँदैन । धर्म-संस्कृतिको नाममा शदियौंदेखि चलेका पुराना अभ्यासहरुमा इतिहासका राजा-महाराजाद्वारा लादिएका राजनीतिक चलनहरु पनि मिसिएका थिए भनेर उनीहरुका छेउमा चर्चा गरे त्यस्तो चर्चा गर्नेहरुलाई उनीहरु ‘धर्मविरोधी’ को ठप्पा लगाइदिन्छन् ।
अबका दिनमा मानिसका आपसी अन्तरसम्बन्धहरुको सवालमा पुरानै बुझाइ राखेर सामाजिक जीवनको गति बढ्नेवाला छैन । यसर्थ धर्म र संस्कृतिका पहरेदार अगुवाहरुले तिनको वैज्ञानिक आधार केलाएर पुरानो समयको राजनीतिक इतिहासबाट आएका सांस्कृतिक आधारशीला र खास अर्थमा धर्मको पृथकता छुट्याइदिनु जरुरी भएको छ । धर्मको नाममा समाजमा जबरजस्ती थोपरिएका विश्वासका अधिकतम पुरातन शैली र ढाँचाहरुलाई अबको पुस्ताले ‘धर्म’ मानेर थाम्नेवाला पनि छैन । जस्तैः बालविवाह र सतीप्रथालाई धर्म-संस्कृतिमा कसरी मिसाइयो ? असली देवपूजन नारीले गर्न नहुने-वेद तथा संस्कृत साहित्यको अध्यापन जनै र टुप्पी नपालेकाहरुले गर्नै नपाउने आदिजस्ता कुरा धर्म कसरी भए ? यी धर्म हुन् कि पाप हुन् ? यस्ता प्रश्नहरु सोधिएमा धर्मको अख्तियारी बोकेका अगुवाहरु कोही च्याँठिएर भाग्छन्, कोही बाउँटिन्छन् र उत्तर दिँदैनन्; कोही प्रश्न सोध्नेहरुमाथि नै ‘धर्मछाडा’ भनेर अभियोग लगाइदिन पनि बेर लाउँदैनन् । ‘ठूला मान्छेलाई सोझो नजरले हेर्नै हुँदैन’ भन्ने पाठ पढाइएका हामी लठेप्राहरुलाई त्यस्ता गहकिला प्रश्न सोध्ने हिम्मत पनि कसरी पो आउला र ! आइहाले पनि समुचित व्याख्या र शालीन उत्तर पाउन असम्भाव प्राय हुन्छ ।
यस्ता तमाम कारणहरुले धर्म-संस्कृति भनेको बुढाहरुले मात्र मान्ने चलन हो भनेर नयाँ पुस्ताले बुझिरहेको छ । नयाँ पुस्ताका मान्छेहरुले कुनै संस्कृतिक अनुष्ठानको आयोजना नै गरिहाले पनि पुरानो पुस्ताका बुढाखाडालाई खुशी पार्ने हिसाबले मात्रै गर्दछन् । अतः अबका दिनमा समाजका सबैखाले सांस्कृतिक आधारहरु केलाएर तिनको संरक्षणका लागि साझा समझ्दारी कायम गर्नु अनिवार्य भएको छ । ‘यसो भएन भने त्यसो हुन्छ, त्यसो भएन भने यसो हुन्छ-खबरदार’; भन्दै धम्कीको भाषा, चेतावनीको शैलीमा गेरुधारीहरुले ललकारेको ठ्याम्मै सुहाउँदैन । धर्म बुझेर त्यसको अभियानमा लागेका मान्छेहरु समुद्रजस्ता शान्त, शालीन र सौहार्द्र हुनु श्रेयस्कर हुन्छ ! शास्त्रहरुले धर्मको रक्षा साधु-सन्तहरुले गर्ने बताएका छन् । साधु-सन्तको कुनै जात-थर हुँदैन । उनीहरु सागरजस्ता हुन्छन् । कुनै निश्चित जाति, वर्ण, वर्ग, लिंग, भाषा र देशका सिमानाहरु धर्मका लागि आधार हुँदैनन् । धर्म सर्वव्यापी छ । मान्छे जहाँ जहाँ छ ती सबै ठाउँमा धर्म छ र ‘धर्म’ बाहेक यसको अर्को कुनै नाम पनि छैन । मानिसका पृथक विश्वासका आधारमा बनेका संस्कार-संस्कृतिहरुलाई मात्र भाषा, क्षेत्र र देशका सीमानाहरुमा बाँड्न सकिन्छ । धर्म त्यो होइन ।
हामीले माथि शुरु गरेको सन्दर्भबाट टाढा पुगियो कि ! मूल सन्दर्भमै लागौं है त । अहिले धर्म-संस्कृतिकै शिराबाट एउटा सवाल व्यापकरूपमा उठिरहेको छ;-कसको मृत्युमा कति दिन किरियाकर्म गर्ने ? मतहरु विभिन्न छन् तर, सवाल उठाउने प्रायःसबैको उद्देश्य र चिन्तन एकै लक्ष्यमा केन्द्रित देखिन्छ । दुवै पक्षले राखेको आशा त संस्कार-संस्कृतिको दीर्घकालीन संरक्षण नै हो । दुवैतर्फीका अन्तिम लक्ष्य सबैका लागि मान्य नै होलान् । तर, दुवैतिर ‘मेरा गोरुको बाह्रै टक्का’ भन्ने लिँडेढिप्पी छ । नयाँ शैलीको वर्तमान जीवनपद्दति, नयाँखाले सामाजिक सम्बन्ध, हरेक व्यक्तिका पारिवारिक आर्थिक सम्बन्ध आदि परिवेशलाई हेरेर हाम्रा सांस्कृतिक आधारहरु फेरिनुपर्ने, पुरानो ढाँचाबाट फेरिएमात्र यसलाई दीर्घकालनसम्म टिकाएर लान सकिने जिकिर एउटा पक्षले गरिरहेको छ भने अर्को एउटा पक्ष छ जो हरेक पुराना कुराहरु यथावत राख्नुपर्ने, यी ‘ईश्वरकै पालाबाट सुचारु भइआएका’ले अपरिवर्तनीय छन् भन्नेजस्ता ढिप्पी गरिरहेको छ ।
हिन्दू धर्मशास्त्रहरुले कुनै एउटा कुरालाई ठोसरूपमा व्याख्या गरेर एउटै अडानमा कायम राखेका छैनन् । जस्तो कि, मनुस्मृतिले एकथोक भन्दिने, गीताले त्यही कुरालाई अर्को अर्थमा बताइदिने, अन्य पुराणहरुले झन् अर्कै अर्कै तात्पर्यहरुमा अर्थ्याइदिने जस्ता द्विविधाहरु प्रशस्तै छन् । वेदलाई अपौरुषेय भनिन्छ । अपौरुषेय हुन् कि पौरुषेय, हिन्दू-संस्कृतिका मूल स्तम्भ वेदहरु नै हुन् । त्यसपछि ब्राह्मणसूत्रहरु छन् जस्तै ऐतेरिय ब्राह्मण, शतपथ ब्राह्मण, ताण्ड्य र गोपथीय ब्राह्मणहरु ! यी पछि नारदीय पुराण, अग्निपुराण, स्कन्ध पुराण, विष्णुपुराण, वराहपुराण, भविष्यपुराण एकातिर छन् भने उपनिषदहरु अर्कातिर छन् । यहाँनेर विडम्बनाको कुरो के छ भने यी सारा पुस्तकहरु एकठाउँमा राखेर, तिनका व्याख्याताहरु एक ठाउँमा बसेर, मूल्यांकन, अनुसन्धान गरी एकमुष्ट विचार र विश्वासको आधार बाहिर ल्याइँदैन ! वास्तवमा धर्म र संस्कृतिको व्याख्या गराइमा एकरूपता नभएर नै समाजमा गनेर नसकिने सम्प्रदायहरु विकसित भएका छन् । संस्कृतका चार-पाँचवटा श्लोक हाँक्न सक्ने कसैले लामो टुप्पी पालेर, निधारमा चन्दन दलेपछि सडकमै रुमाल फिँजाएर हल्ला गर्न थाल्यो भने पनि ठूलै समूह जम्मा पार्नसक्छ । तर, समाजका आवश्यक र अनिवार्य विषयहरुमा कहिल्यै पनि सामूहिक चर्चा हुँदै हुँदैन ।
आफ्नो मतमा धेरै भन्दा धेकै अनुयायी भएदेखिन् त्यसबाट आफ्नो आय-आर्जनको बाटो निर्धारित हुने आशामा कति हो कति मान्छे धर्मको झण्डा बोकेर हिँडेका छन् । ती सबैको कुरा पालैपालो सुन्यो भने एउटै बुझिन्छ तर, निचोडमा लगेर अलिकति फरक बताइदिन्छन् । जस्तो कि, एउटै ग्रन्थ श्रीमद्भागवत पुराण वाचन गर्नेहरुमध्ये एउटा वाचकले श्रोताहरुलाई बैकुण्ठ लान्छन्, अर्का वाचकले गोलोकधाम पुऱ्याउँछन् अनि अझै अर्काले परमधाम र कता कता पुऱ्याइदिन्छन् ! एउटै ग्रन्थ पढेर सुनाइने उपदेश एकैखाले हुनुपर्छ कि पर्दैन ? यदि वैदिक/पौराणिक ज्ञानको तात्पर्य एउटै हो भने सबैको अर्थ्याइ एक हुनुपर्छ कि पर्दैन ? पर्छ भने वाचक र उपदेशकहरुले सांसारिक रीतिका कुरामा अल्झिएर धर्मलाई राजनीतिकण किन गरेका हुन् ? उनीहरुकै बीचमा एकात्म्यता हुनु जरुरी छ कि छैन ? पण्डितहरुलाई यजमानले ३, ५, ७ वा १३ दिन वा कति दिनमा किरिया गराउने भन्ने कुराको गल्फती गर्दैमा फुर्सद छैन, यस्ता तमाम प्रश्नहरुको गहिराईसम्म पुग्ने पहल कसले गर्न भ्यावस् ? प्रश्नै गरिहाले पनि कुनै न कुनै बहाना जोडेर दायित्वबाट फुत्किनु उनीहरुको अर्को धर्म छँदैछ !
यस पंक्तिकारको विचारमा तीन, पाँच वा सात दिनमा किरियाकर्म गर्ने परम्परा हिन्दूहरुमा अब ल्याउने होइन, उहिलेदेखि चलेर आएको थियो । विचार गर्नुहोस्, केही दशकअघिसम्म तीनदिन, पाँचदिन वा सातदिनको किरियाकर्म गर्ने गैर-तागाधारी समूहलाई पनि हाम्रो समाजले मज्जासँगले हिन्दू मानेको थियो । उनीहरुका घरमा गएर हाम्रा पुरोहित पण्डितले मनग्गे कर्मकाण्डको सुरो चलाएर आएकै थिए । कुम्ले थैलो भरी दानको गुण्टुरो बोकेर आएकै थिए । केही समय अघिका राष्ट्रिय जनगणनाहरुलाई हेरौं; राई, लिम्बू, मगर, सुनुवार (मारापाचे), तामाङ, गुरुङ, शेर्पा आदि सबैलाई ‘हिन्दू’ भनेर तथ्यांक समेटिएको कुरा कसैले नकार्न सक्तैन । यदि संस्कारमा भिन्नता भएका ती तमाम जातिपरम्पराहरु हिन्दू हुनसक्छन् भने सबैले तीनदिन वा सातदिनको किरियाकर्म गर्दा के हुन्छ ? अथवा ती सबैलाई १३ दिन (अहिले कसैले १६ दिन पनि भन्छन्-खास गरी भागवत पाठ थपेर १६ दिन बनेको हो, वास्तवमा १३ दिन नै हो) को किरियाकर्म नगरेमा तिमीहरुलाई हामी हिन्दू मान्न सक्तैनौं भनेर किन भनिएन ? जीवविज्ञानको तक्निकीय प्रावधान मिसाएर धर्मशास्त्रले नै १३ को दिनको किरियाकर्म गरिएमात्र ‘भवसागर’ पार तर्ने सिद्धान्त बताएको बखान गर्नेहरु पनि अहिले थुप्रै देखिँदैछन् । त्यो अर्थमा अस्तिसम्म गैर-तागाधारीको किरियाकर्म गराउने पुरोहित-पण्डितहरुले किन उनीहरुलाई पार तर्ने विधि नसुझाएर तीनदिन, सातदिनको मात्र कर्म गराए ? उचित कर्म नगराई दानको रुपमा घूस लिएको दण्ड ती पुरोहित पण्डितहरुलाई लाग्छ कि लाग्दैन ? त्यसो गर्ने पुरोहित-पण्डितहरु बितेरै गइसकेका भए तिनका उत्तराधिकारीहरुलाई तिनको पितृदण्ड लाग्छ कि लाग्दैन ? असली तथ्य भन्नुपर्ने हो भने त्योबेलाको सामाजिक परम्परा बहुआयामिक थियो । संस्कृतिमाथि सर्वपहुँचको माध्यम विद्यमान थियो समाजमा । अतः अबका दिनमा हिन्दूसंस्कृतिलाई सबैको साझा सांस्कारिक आधार बनाउने र यसलाई सर्वग्राह्य बनाउने हो भने आफूलाई हिन्दूसंस्कृति (वास्तवमा सनातन वैदिक भन्नुपर्ने हो-तर हिन्दू फेशनेबल नाम चलेको छ) का अनुयायी सम्झिनेहरु सबैले मृत्युसंस्कारमा ३ देखि १३ दिन किरियाकर्मको तर्क-बितर्क छोडेर गम्भीर चिन्तनका साथ साझारूपमा शास्त्रीय अनुसन्धान र सामाजिक रूपान्तरणको बाटोमा अघि बढ्नुपर्दछ । निश्चितरूपमा पढ्नु वा शिक्षित हुनु भनेको कमाउन सक्ने हुनु नै हो । तर, कमाउनुको अर्थ आफ्नो चार इञ्चको पेट र चार फिटको शरीर ढाक्ने उद्देश्यका लागि आर्थिक उपार्जनमात्र गर्नु होइन । समाजको चेतनास्तर, दीर्घकालीन अस्तित्व र भाइचारापूर्ण सहिष्णुता पनि कमाउनुपर्छ !
किरिया गर्नु भनेको कुनै धर्म होइन, यो पूर्णरूपमा एउटा संस्कारमात्र हो । किरियाकर्म भनेको मरिसकेकाहरुका लागि हो कि बाँचेकाहरुका लागि हो ? भन्ने प्रश्नको उत्तर पनि गरुडपुराणको बयान भन्दाबाहेक अरु स्रोतबाट आजसम्म जाहेर हुनसकेको छैन । शास्त्रहरुको विश्लेषण गर्दा किरियाकर्म भनेको धर्म त हुँदै होइन; यो अशुद्ध भएको ठाउँमा गरिने शुद्धिकार्यमात्र हो भन्ने नै बुझिन्छ । धर्म भनेको नितान्त व्यक्तिनिहीत गुण हो भने संस्कार-संस्कृति भनेका सामूहिक अभ्यासहरु हुन् । काजक्रिया भनेको पनि संस्कारको सामूहिक अभ्यास नै हो । धर्म र संस्कारबीच भिन्नताहरुलाई स्पष्टरूपमा छुट्याएर बुझ्नु जरुरी हुन्छ । हाम्रो समाजमा देखिएका साधु-सन्तहरुले कसैलाई पनि धर्म गराउन सक्तैनन् । उनीहरुले केवल अर्ती-उपदेश बाँड्दै संस्कृतिको रक्षार्थ कार्यक्रमहरु चलाउन सक्छन् । यसर्थ, संस्कार-संस्कृतिको सवालमा उनीहरु सामाजिक सहिष्णुता र सद्भावना कायम गराउने लक्ष्यका अभियन्ता हुन सक्छन् । त्यस्ता अभियन्ताहरुले समाजको विकासक्रमलाई ध्यान दिनुपर्छ । अभियन्ताहरुले समाजलाई टुक्य्राउने होइन, जुटाउने अभ्यास गर्नुपर्दछ ।
शास्त्रीहरुले आफ्नो बजार र आफैंलाई मनपर्दो पाराले शास्त्रहरुको व्याख्या गरिरहेका छन् ! विश्लेषण चाहियो, अनुसन्धान चाहियो । हरेक कुरामा कारण र वैज्ञानिक पुष्टिसहित विवरण पेश गर्नुपऱ्यो ! उहिले नै फलानाका बाजेले, फलानाका नातिले यसो गरेका थिए, त्यो नै परम्परा बन्यो अनि हामीले पनि त्यसै गर्नुपर्छ; नत्र हाम्रो धर्म नासिन्छ भन्नेजस्ता हावा कुरामा कोही पनि नलागेस् ! बाजेले ढुंगा धेरै भएको जमीनमा ढुंगा पन्साएर खेतीयोग्य माटो बनाउन पर्खाल उठाए होलान्; अहिले नातिले प्लटिङ गरेको जमीनमा घर बनाएर, बाजेको परम्परा धान्न ढुंगा किनेर ल्याई बारीमा पर्खाल लाउनु पर्दैन !
साधु-सन्तहरुले धार्मिक/सांस्कृतिक रूपान्तरणमा मुख्य नेतृत्व वहन गर्नुपर्छ । अरुले सहयोग पुऱ्याउने छन् । साधु-सन्तहरु पनि समाजका जिम्मेवार सचेत वर्ग हुन् । यसर्थ, सज्जनहरुले बिग्रिएका कुराहरुमा पनि जिम्मेवारी बोध गर्न सक्नुपर्छ । सन्तहरुले निन्दा र स्तुतिमा भिन्नता देख्तैनन् भनिन्छ । ‘सप्रिएकाजति आफूले गरेको र बिग्रिएका जति अर्काले’ भन्ने अवसरवादको लक्षणा देखाउनु विद्वान् हुनुको संकेत होइन । घरभित्रको दुर्गन्ध हटाउन आँगनभन्दा पहिले घरभित्र बडार्नुपर्छ । यसर्थ, धर्मको आँगन छोडेर भँडार, चुह्लो-चौकोदेखि बडार्दै कसिंगर फालौं । कसिंगरहरु के के हुनसक्छन् ? धेरै होलान् तर, केही नमूना तलको तालिका अनुसार लिन सकिन्छ ।
१. स्त्री र पुरुषबीचको समागमी प्रजनन् प्रक्रियाबाट छोरोमात्र जन्मिनुपर्ने, छोरैले मात्र स्वर्ग, वैकुण्ठ पुऱ्याउने ! (छोरोको आशामा दर्जन छोरी जन्माइरहने वा छोरोको लागि स्वास्नीको संख्या दर्जन बनाउने परम्परा जिउँदै छ; यो किन भयो ? यसलाई सकारात्मक नतिजा ल्याउने गरी कसरी मास्न सकिएला ?
२. लोग्ने मरेपछि स्वास्नीले जिउँदै अग्निदाहमा होमिनुपर्ने नियम किन बनाइएको थियो ? (सतीप्रथा हटाउन धर्म-संस्कृतिका अगुवाहरु उठेनन्, राजनीतिक हस्तक्षेपपछिमात्र रोकियो)
३. छोरी हुनेहरुले ऋतुस्राव नभइकन कन्यादान दिएमात्र धर्मको फल मिल्ने ! (ऋतुस्रावपछि विवाह गरिएमा धर्म नष्ट हुने भ्रमबारे धर्मका अभियन्ताहरु बोलेनन्)
४. किरियाकर्म अंश र वंशमा आधारित सत्ताप्रणालीभन्दा कसरी अलग छ भन्ने पुष्टि हुनुपर्छ ! (किरिया कति दिन भन्ने त अति गौण कुरो हो । “छोरी अर्काको घर जाने जात”, सन्तान नहुने वा छोरीमात्र हुनेहरुको मृत्यु भएमा नाता पर्ने अरुका छोरा ल्याएर सम्पत्तिको अंशनामा कबुल गरिकन किरिया गर्न किन लगाइन्थ्यो ? यस कुराको निर्क्यौल पहिले हुनु जरुरी छ । पित्रेष्ठीमा छोरीको अंश-हक भगवानले नै छिनेका हुन् ? यसको ठोस उत्तर चाहिएको छ-)
५. सभ्य, शालीन, लज्जालु, इमानदार, प्रेममयी हुनुपर्छ भन्ने उपदेश छोरीका लागि मात्र दिइने ! (छोरो असभ्य, बेइमान, आपराधिक गतिविधि गरे पनि सजाय नलाग्ने भाव)
६. पुर्ख्यौली सम्पत्तिमा छोरैमात्र उत्तराधिकारी बन्ने ! (सम्पत्ति र सत्ता लगभग एकैखाले कुरा हुन् । सम्पत्तिको हकदार भएकै आधारमा छोरो बैकुण्ठ पुऱ्याउने माध्यम बनेको हो ।)
७. एउटै देवी-देवता मान्ने, पूज्नेहरुलाई “पानी अचल”, अनि सनातनीहरुले लक्ष्मी वा माता मानेको गाईलाई आहार बनाउनेहरुलाई चाहिं “पानी चल” किन मान्नुपर्ने? (संस्कृतिमा न्याय पनि हुनुपर्छ)
८. गौमाता (आफ्नै आमाको दर्जा दिइएको पशु) मर्दा त्यसको सद्गत आफैं नगरेर किन ‘अछूत’लाई जिम्मा लगाएको ? (भारतीय समाजमा चमारलाई अनि नेपाली समाजमा सार्कीलाई जिम्मा लगाइन्थ्यो) । कर्मकाण्डको विधिले आफ्नै आमाको किरियाकर्म नगर्ने सन्तती कुन धर्मको भागिदार भए ?
९. राजाले किन आफन्तको मृत्युमा काजक्रिया नगरेको ? (राजा पनि नश्वर शरीरधारी जीव होइन र? राजा र योगीलाई किन किरियाबाट छुटकारा दिलाइएको हो ?)
१०. कसैको मृत्यु हुँदा सोही जातीय दर्जाकाहरुले मात्र छुन हुने, अरुले छोए मुर्दा जागेर उठ्ने कुरा आजको परिवेशमा कता पुगेर अड्किएको छ ?
११. छोरा नहुनेको मृत्युमा छोरीलाई किरिया गर्ने छुट नदिएर सोही थर-गोत्रका अरु नै बन्धुद्वारा क्रियाकर्म गराउने र उसलाई मृतकको नाममा रहेको सम्पत्तिको अंश दिने चलन किन?
१२. शुक्रराज शास्त्रीलाई हिन्दू समाजमा जातीय विभेद र छुवाछूतको परम्परा हटाउने अभियान चलायो भनेर मारियो तर, आरोप के लगाइयो भने उनले राज्यविरुद्ध षडन्तत्र गरेका थिए ।
यी माथि राखिएका बुँदाहरुमा प्रश्न उठेमा ‘उहिले त्यस्तो कतै भयो होला, आज त भएकै छैन’ भनेर चुपचाप कन्दनीमा लुकाउने गरिएको छ । लु त यस्ता केही विषयहरुलाई बाहिर ल्याएर छलफल र चर्चा गरौं त ! किन, कसरी, के अर्थ र औचित्यमा धर्मको बहानाबाट यी चलन स्थापित भएका रहेछन् भनेर टुंगो गरौं । प्रश्नहरुबाट भागेर वा झोंक देखाएर अबको पुस्ता अधीनमा आउने छैन । साँच्चै संस्कार-संस्कृतिप्रति चिन्तन छ भने समुद्रझैं शान्त बनेर अभियन्ताहरु लाग्नु जरुरी छ । यो उद्देश्यका लागि समाजका सबैपक्ष जिम्मेवार छन् यद्यपि साधु-सन्तहरुले तुलनात्मक रूपमा अधिक दायित्व लिनुपर्दछ ।
साधु-सन्तहरुले फर्शुराम शैलीमा आफ्नो मतलाई आदेशपूर्वक हुकूम गर्न छोडेर कहिलेकाहीं समाजको बनोट कस्तो छ भनेर चिन्तन पनि गर्नु पर्दछ । हिन्दू समुदायमा पुरुषलाई मात्र समाजको हकदार मान्ने चलन सामान्य नै हो । यसमा पनि विशेष गरी नेपाली समाजमा केही समयअघिसम्म बाबुलाई एकमात्र आदर्श स्रोत मानिन्थ्यो । बाबुले आर्जेका ज्ञान, सीप, अंश र वंशको सम्पूर्ण उत्तराधिकार छोरालाई हस्तान्तरण गरिन्थ्यो ! छोराहरुले आफ्नै वंशजपेशालाई धानेर जीवन चलाउने परम्परा अझै पनि कता कता छँदैछ । तर, पछिल्लो सामाजिक जीवनको शैलीमा पुराना चलनचल्तीहरु भग्नावशेषको रुपमा परिणत भएका छन् । बाबुलाई आदर्शज्ञानको स्रोत मान्न छोडेको छ आजको पुस्ताले । बाबुले धानेको पेशा र अर्थोपार्जनका साधनहरुमा आज को अडिएको छ र ?
माया र आश्रयको हिसाबले सानो छँदामात्र बाबु-छोराको सम्बन्ध रहन्छ । जब छोरो बढ्दै जान्छ, बाबु र छोराबीचको सम्बन्धमा पनि खाडल बढ्दै जान्छ । छोरोमा सामाजिक संगतको प्रभाव बढ्दै जान्छ भने बाबु आफ्नो छोरोमाथि जबरजस्ती शासन गर्न चाहन्छ । बेलाबखत् उनीहरुबीचमा खट्पट् पनि हुन्छ । अतः छोराले आफ्ना बाबुबाट भन्दा सामाजिक संगतबाटै धेरै कुरा सिक्छ !
समाजलाई एउटा सूत्रमा राखेर सद्भावना कायम गर्न सबैभन्दा पहिले परिवारको वैचारिक आधारलाई निर्क्यौल गर्नुपर्छ । समाजको आधारभूत इकाई भनेकै परिवार हो । अब परिवारलाई सह्माल्नका लागि हरेक परिवारका बाबु र छोराबीचको सम्बन्धलाई सुमधुर बनाउने उपायहरु सोच्नुपर्छ । बाबु-छोराको सम्बन्ध सुधार्न बाबुले बुझेका ज्ञान-सीपका कुरा छोरालाई चित्त बुझ्ने हुनुपर्दछ । त्यसो नभएको खण्डमा आफू उसकी आमासित प्रजनन् प्रक्रियामा सामेल भएकै आधार लिएर छोरोलाई जीवनभर आफ्नो ऋणि सम्झिने भूल बाबुले पनि गर्न छोड्नुपर्छ । अब हाम्रो समाजको कुरामा बाबु छोराबीचको सामाजिक आर्थिक सुमधुरता कतिको साध्य छ ? छोरोको चित्त बुझ्ने गरी संस्कारको परिष्कार गरौं नत्र छोरोमाथि आफ्नो हैकमी शासन गर्न छोडौं । समाजका छोराहरु भड्काउने उद्देश्यमा म यसो भनिरहेको छैन है । म किन यसो भनिरहेको छु भने अबका छोराले बाबुको बिँडो थामेर जीवन चलाउनै सक्तैनन् ।
हाम्रो समाजमा ‘बाबुको बिँडो’ थाम्ने हो भने हल गोरु, दुइटा गाई वा भैंसी, एक-दुइवटा बाख्रा, बारीको डिलमा एउटा गोठ र घर-खेत भए पुग्छ ! तर, अहिलेको सामाजिक परिवेश त्यस्तो छ र ? अहिले गाउँमा होस् कि शहरमा, बाबुको पेशा अपनाउन कोही राजी छैन । बाबु र छोराबीचमा शिक्षाको अन्तर, विकसित प्रविधिको प्रयोग, तार्किकता र उपार्जनका सामाजिक साधनहरु आदिमा कति हो कति अन्तर आइसकेको छ । आजको पुस्ताले हरेक कुरालाई ‘किन’, ‘कसरी’, ‘कहिले’ जस्ता प्रश्नहरुको कसीमा तौलिएर मात्र अंगीकार गर्दछ । यस्ता प्रश्नहरुको सहजै चित्त बुझ्दो उत्तर दिनसकेन भने उसका लागि न बाबु आदर्शपुरुष हुनसक्छ न कुनै समाजको कुनै अगुवा अथवा कुनै पन्थका गुरु नै ! अहिलेको पुस्तामा केही दह्रिएका युवाहरु पनि आफ्ना बाबुप्रति जन्म दिएकोमा कृतज्ञ छन् तर, उनैलाई सम्पूर्ण आदर्श मानेर जीवन पद्दति चलाउने पक्षमा छैनन् । कारणहरु धेरै हुनसक्छन्; जुनसुकै कारणले पनि बाबुको सीमितता थाहा पाएपछि छोरालाई आफ्नो बाबु पुरातनपन्थी लाग्ने अनि बाबुलाई आफ्नो छोरो अराजक लाग्ने मनोवृत्तिको विकास हुनु सामान्य हो । यस्तो नतिजाले गर्दा नयाँ पुस्ताले न सम्पूर्ण रूपमा आफ्नै संस्कार-संस्कृतिबारे ज्ञान हासिल गर्दछ न त अर्काकै सिकेर त्यसको अभ्यास गर्नसक्तछ । हाम्रो समाज दिनदिनै पुच्छर र टाउको बिनाको प्राणीसरह बन्नथालेको छ । यसमा कसको कमजोरी वा कोचाहिं दोषी होला भनेर चर्चा नगरौं । त्यो बितेको कुरा भयो, भविष्यको चिन्तनतर्फ लागौं ।
भविष्यको सवालमा चर्चा उठाउनलाई हाम्रो सामाजिक पृष्ठभूमि केलाउनु पर्दछ । किनभने हिँजो नभई आज र आजबिनाको भोलि सम्भव छैन । त्यसैले आजको मूल्यांकन र भोलिको आँकलन गर्न हिँजोलाई पनि मिहिनरूपमा बुझ्नुपर्ने हुन्छ । आजको हाम्रो समाज हिँजोजस्तो कृषि र पशुपालनमा आधारित छैन । पौराणिक कथाका चक्रवर्ती राजाले एकछत्र राज गर्ने रैतीको रूपमा पनि सीमित छैन आजको समाज ! प्रविधिले समाजको पहुँचलाई फराकिलो बनाइदिएको छ भने ठूलो ब्रह्माण्डलाई साँघुरो बस्तीको रूपमा खुम्च्याउँदै लगिरहेको छ । उहिलेको समाज व्यवस्थामा बाबु र छोरा सधैं सँगै हुन्थे । खेती-किसानी गर्ने, भारी बोक्नेदेखि चारदिनको बाटो पैदल हिँडेर नून बोक्न जाने यात्रासम्म बाबु-छोरा सँगै हुन्थे । तर, आज अर्थतन्त्रमा कायापलट भइसकेको छ । केही राजनीतिक कारण तथा मुख्यरूपमा अर्थतन्त्रमा आएको रूपान्तरणका कारण बसाईं सर्ने र वैदेशिक रोजगारमा जाने नयाँ पुस्ताको ताँतीबारे सबै जानकार हुनुपर्छ । ‘आफ्नो देश’ भनिने भूगोलभित्र कोही पनि अँटाएको छैन आज ! अतः एउटै परिवार संसारभरि छरिएको छ ।
समाजको आधारभूत इकाई-परिवारमा यसरी आएका परिवर्तनहरुले वर्तमान समाजमा खैलाबैला पैदा गरिदिएको छ । पुरानो शैलीको पारिवारिक ढाँचा तीव्ररूपमा विघटित हुँदैछ भने नयाँ परिवारिक धारणाको विकास पनि भइरहेको छ । नाता-सम्बन्धप्रतिको धारणामा पनि व्यापक परिवर्तन भइरहेको छ । यो अवस्थामा सांस्कृतिक अभियन्ताहरुले समाजको गतिलाई ठोसरूपमा बुझी सामाजिक परम्पराका ऐतिहासिक आधारसमेत केलाएर, तिनको वैज्ञानिक सन्दर्भसहित औचित्य पुष्टि गर्नु आवश्यक छ ! यो समयमा पनि ११ औं शताब्दिको सामाजिक व्यवस्थामा आधारित धार्मिक अभियन्ताहरुको शैलीलाई कसैले पनि सहजै अपनाउन सक्तैन । अहिलेको पुस्ताले गति छाड्यो, विवाहसम्बन्धमा हाड-नाताको विवेक गरेन, यसो गर्नेहरु गतिछाडा हुन् भनेर गाली गरेरमात्र पनि पुग्दैन । शान्त र शालीन ढंगमा नयाँ पुस्तालाई हाड-नाता विवाह नगर्नु धर्म होइन; समाजको नैतिक अनुशासन र कुशल वंशज निर्माणको उपाय हो भनेर स्पष्ट बुझाउन सक्नुपऱ्यो । आजमात्र भएको होइन हाड-नाता वा मामा-फुपूका सन्तानबीचको वैवाहिक सम्बन्ध । वर्तमान नेपालका संस्कृतिविद तथा इतिहासकार जगमान गुरुङको कथन छ,“विसं १९९४-१९९५ मा आफू नेपालका प्रधानमन्त्री हुँदा रंगनाथ पौडेलले पश्चिम सतथौलाका बाहुनहरुलाई एउटा रुक्का (आदेश पत्र) पठाएर ‘तिमीहरुले भाञ्जी बिवाह नगर्नु’ भनेका छन् । मनुस्मृतिमा पनि लेखिएको छ– ‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेभक्षण ।’ यो भनेको भारततिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरका बाहुनहरुले मासु खान्छन् । तात्पर्य ती दुबै नराम्रा हुन् भन्ने अर्थ लाग्दछ ।” समाजका सबै नियमहरु ईश्वरकृत भएका भए, अनादीकालदेखि चलेर आएका तर, अहिलेको पुस्तामात्र ‘बिग्रिएको’ (कथित रूपमा) भए पुरानो समाज यहाँ मास्तिर भनेजस्तो नहुनुपर्ने हो ! कुरो जे होस्, ‘तमसोमा ज्योतिर्गमय…’ को नारा बोकेर हिँडेको समाज आफैंमा धेरै सचेत हुनुपर्दछ । समाजलाई नयाँ गतिमा लिएर जानका लागि नयाँ नयाँ बन्दोबस्त, चालचलन र विश्वासहरुको विकास गर्नुपर्दछ जसले आफ्नो सामाजिक आस्थालाई दीर्घकालीन बनाएर राख्न सहयोग पुऱ्याओस् ।
समाजका पुरातन चालचलनले आजको समाजलाई क्षति पुऱ्याएको छ भनेर सुधारको लागि याचना गर्नेहरुलाई थुम्थुम्याउन ‘आज उहिलेको जस्तो कट्टरता छैन, विस्तारै परिवर्तन भइहाल्छ; किन आत्तिनु पऱ्यो ?’ भन्दै चित्त बुझाउन खोज्दा अब उम्कन पाइने सम्भावना छैन । परिवर्तन प्रशस्तै भएका छन् तर, ती परिवर्तनहरु सांस्कृतिक संरक्षणको दृष्टिले सकारात्मक दिशामा केन्द्रित छैनन् । यसरी रूपपक्षमा धेरै फेरबदल आए पनि धर्मको नामबाट विकसित वंश-परम्पराको चल्तीमा कुनै परिवर्तन भएको छैन, भइहाले पनि हाम्रो समाजको आवश्यकता अनुसार ठ्याम्मै भएको छैन । हिन्दू-दर्शनशास्त्रमा भएका अनेकन विज्ञानसम्मत शिक्षासूत्रलाई हाम्रो समाजले पिताम्बरको टालोबाट बाहिर निकालेर बुझ्ने अवसर पाएकै छैन । आजसम्म हामीले मानेको धर्म कसरी स्थापित भएको थियो भनेर खोज्नु, बुझ्नु, अध्ययन अनुसन्धान गर्नु पक्कै पनि जरुरी भएको छ ! अतः माथि राखिएका बुँदाहरुमा ठोस निष्कर्ष ठिम्याउन सकियो र तिनलाई सफा गर्न सकियो भने हिन्दू वा सनातन संस्कृति अब्बल भएर अझै केही युगसम्म अघि जानेछ । नभए त न्वारन, ब्रतबन्ध, विवाह र किरियाकर्ममै टुंगिने भयो हाम्रो सांस्कृतिक विरासत !
लेख अतिनै समय सापेक्ष छ । मेरो पनि मत कहाँ हो भने यो सबै छताछुल्ल पार्ने समाजका ठेकेदार (जो शोर्गको ठेगान गोजिमा बोकेर नर्कको बाटो हिडनेले बिगारेको हो) ई नैलाई जबसम्म राजनैतिक हस्तछ्यप हुदैन तबसम्म हार्मो समाजले बाहुनबादी ऊपनिबेशबाट छुटकारा पाऊँन सक्दैन।