‘आकाश गर्जिएर जन्मिएका गर्जमान’

तथ्यमिश्रित केही किस्साहरुः

भक्त घिमिरे

उनको प्रभावी हैसियत हेरेर रिन्पुङ राजा (पारोस्थित रिन्पुङ जोङमा पेन्लपको अड्डा भएकाले पारो पेन्लपलाई रिन्फू वा रिन्पुङका राजा पनि भनिन्थ्यो)  यसै लोभिएका थिए । दालचनलाई आफ्नो पक्षमा राख्नपाए ठूला उपलब्धिहरु हातपर्ने दाउ रिन्पुङ राजाले हेर्दैथिए । ऐन मौकामा दालचनले पनि राजा फकाउने प्रयत्न जारी नै राखेका थिए । यस्तो सिलसिलेवार प्रयासपछि रिन्पुङ राजाबाट ‘काजी’ पद्वी बक्स पाएर दालचन आफ्नो क्षेत्रमा अझ शक्तिशाली भए । उनले चमर्चीमा स्थानीयहरुको लागि सातामा एकदिन लाग्ने बजार ‘मंगलबारे हाट’ स्थापना गरे । नून-तेलको आयात, सुपारी, सुर्ती, कपास र कपडासमेतको निर्यात हुने मंगलबारे हाट चल्न थालेपछि उपभोग्य वस्तुको अभाव सृष्टि भयो भने स्थानीयस्तरमा खेती गर्ने मानिसहरुको खाँचो पनि बढ्दै गयो । यस्तो खाँचो टार्न दालचनले आफ्नो पुर्ख्यौली थलो (वर्तमान नेपालको इलाम जिल्ला) पुगेर केही मानिसहरुलाई आफ्ना रैतीका रूपमा चमर्ची ल्याए र खेती-किसानीमा लगाए ।

 

सन् १८५३ देखि ‘मुगलान’का विभिन्न कुना चहार्दै एउटा गुरुङ परिवार १८५५ मा कालेबुङ नजिकै दलपचन् भन्ने गाउँमा आएर रहन थाल्यो । एक बाहुन जमीन्दारको ‘कराँसे’ भएर बसेको सो गुरुङ परिवार अरु कोही नभएर दालचन-गायत्रीदेवीको युगल जोडी, र दालचनका बाबु, यानिकि गायत्रीका ससुरा-तीनजनाको टोली थियो ।

रहँदै बस्तै उनीहरु त्यहीँका रैथाने भए । सन् १८६१ को एक रात गायत्रीदेवीलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई रुँग्न गाउँका धेरै चेलीबेटीहरु भेला भए । आकाशमा कालो बादल मडारिँदै’थ्यो । ठूलो दर्के पानीको भनक चलिरहेको  थियो । तर, आकाश यसै यसै पहेंलो हुँदै आयो र, ठूलो स्वरमा बादल गर्जन थाल्यो । गड्याङ-गुडुङ गरेर रातभरि गाउँ-पाखा थर्किइरहे तर, पानी भने ठूलो परेन । बिहानपख गायत्रीले छोरो जन्माइन् ।

नाति जन्मेको हर्षमा भोलिपल्ट बिहान दालचनका बाबुले पुरोहित बोलाए । गाउँका गन्य-मान्यहरुलाई पनि निम्ता गरे । भेला भएका सबैले रातभरि बादल गर्जना र चट्याङ परेको किस्सा सुने । गुरुङ बाजेले ज्योतिषशास्त्रको नक्षत्र गणना गरिकन न्वारनमा मात्र नातिको नाम राख्ने विचार व्यक्त गरेका थिए । तापनि सबैको रायमा सोही दिन बच्चाको नाम राखियो ‘गर्जमान’ । बादलको गर्जनसँगै आमा गायत्रीदेवीलाई व्यथा शुरु भएर जन्मिएको लाक्षणिक अर्थमा उनलाई गर्जमान नाम दिइएको थियो ।

गर्जमान गुरुङसँग जोडिएका थप दुइवटा किस्साहरु छन् । पहिलो किस्सा अनुसार आधारातमा गायत्रीदेवीले घाम झुल्किएको सपना देखिन् । झुल्के घामलाई फलझैं टिपेर गायत्रीदेवीले कप्लक्क निलिन् । यस्तो सपना देखेपछि अत्तालिँदै उठेर उनले श्रीमान दालचनलाई पनि उठाइन् । त्यसपछि श्रीमानको रायमा उनी फेरि ननिदाउने गरी पलङमा बसिन् । दुवैजना जागृत रहे । सोही बिहान गर्जमानको जन्म भयो ।

अर्को एकदिन बालक गर्जमानलाई कोक्रोमा हालेर गायत्रीदेवीलगायत सबैजना जमीन्दारको खेतमा काम गर्न गएका थिए । खेतालालाई खाजा-पानी लिन बाहुनी बज्यै घरतिर आइन् ।

घरको दलानमा झुण्डाइराखेको कोक्रोमा बालक गर्जमान निदाइरहेको अनि कोक्रोलाई एउटा गतिलो सर्पले बेह्रिराखेको दृश्य बज्यैका लागि उदेकलाग्दो थियो । बज्यै धेरै डराइन् । कोक्रोमा बेह्रिएर सर्पले निदाएको बालकको रक्षा गरिरहेझैं भान बज्यैले पाइन् । अत्तालिँदै उनी खेतमा पुगेर सर्प र कोक्रोको कथा सबैलाई सुनाइन् । खेतालाहरु हुर्दुराउँदै दगुरेर कोक्रो झुण्डाएको ठाउँमा आइपुगेपछि सर्प बिस्तारै ओर्लिएर आफ्नो बाटो लाग्यो ।

यो घटना विचार्न बोलाइएका ज्योतिषले भाग्यरेखा हेरेर ‘भविष्यमा गर्जमान राजासमान हुनेछन्’ भन्दिए । ज्योतिषले यति भनेपछि दालचन र उनका बाबु छक्क परे, अल्पअल्प खुशी पनि भए ! तर, भाग्य उदाउनका लागि दालचनले परिवार लिएर दक्षिण-पूर्वी दिशामा बसाइँ सर्नुपर्ने ज्योतिषको उपदेश थियो । कालेबुङबाट दक्षिण पूर्व भनेको आजको भारत-भूटान सीमाको द्वारक्षेत्र थियो । त्यो क्षेत्र उतिबेला जङ्गलामुलुक । अनेक वन्यजन्तु, हैंजा-रोगहरुको गुँडसरह त्यो जंगलक्षेत्र औलोप्रभावित पनि थियो । उसबेला औलो लागेपछि जोकोही बाँच्न सम्भव थिएन । यही कारण पहाडेहरु उतिबेला ‘देउरालीमा उभिएर उँधो औलतिर औंल्याइयो भने पनि औंलै झर्छ’ भन्थे । मैदानी तराइलाई औल भनिन्थ्यो भने पहाडलाई लेक । यी सब कुरा मनमा गमेपछि ज्योतिषको उपदेश मान्न गुरुङ परिवारलाई निक्कै हम्मे पऱ्यो ।  यद्यपि, छोराको राजा बन्ने भाग्यमा दखल नहोस् भन्ने ठानेर दालचनले बसाइँ सर्ने सोचलाई दृढ् बनाए ।

अन्ततः सन् १८६३ मा गुरुङ परिवार चमर्ची-द्वारपानीमा आएर थान्को लाग्यो । शुरुमा यो क्षेत्र ब्रिटिश शासित भारत वा भोटाङ अन्तर्गत पर्ने भूमि हो भन्ने कुराको यकिन दालचन परिवारलाई भएको थिएन । तर, खोजी गर्दै जाँदा सो क्षेत्राधिकार भोटाङसित भएको पत्तो लगाएर गुरुङले पारोका राजालाई कर बुझाउन थाले । पछि यो अड्डा कालेबुङमै सऱ्यो । काजी उगेन दोर्जीका छोरा सोनाम तोब्गे दोर्जी (एस.टी. दोर्जी) ब्रिटिश-भूटानबीचको बिचौलिया बनेपछि केही कुरा राम्रा भए, केही राम्रा कुरा लथालिङ्ग-भताभुङ्ङ पनि भए ।

शुरुमा गुरुङ परिवारको जीवनयापन निक्कै कष्टकर थियो । तर, सीमा पारिका ब्रिटिश चिया कमानहरुमा काठ, बाँस, खर, लाबर र चुना निर्यात गर्दै दालचनले आफ्नो परिवारको जीविकोपार्जन गर्नथाले ।

सन् १८२३ देखि नै द्वारक्षेत्रमा चियाखेतीको विकास गर्न ब्रिटिशले ठूलो एकाग्रता केन्द्रित गरेको थियो । यहाँसम्म कि चियाखेती शुरु गरेको तीनवर्षमै ब्रिटिशले असमसम्म आफ्नो प्रभाव फैलाइसकेका बर्मेलीहरुलाई लेखेटेर चियाबगान लगाउने ठूलो क्षेत्रफल तयार गऱ्यो । यही सिल्सिलामा भोटाङसँग पनि ब्रिटिशले केही युद्ध गऱ्यो, सम्झौतामा भोटाङलाई कायल गरायो ।

सन् १८६४/६५ को ब्रिटिश-भोटाङ युद्धको पूर्वसन्ध्यामा सिमानाको चमर्ची-द्वारपानीमा बस्न पुगेका गुरुङ परिवारलाई पनि युद्धले प्रभावित पारेकै थियो । तर, हरेक परिस्थितिलाई प्रयोग गरेर आफ्नो अनुकूल बनाउन सक्ने खूबी भएका दालचन छोटै समयमा एकातिर ग्रामीणस्तरको कुटनीतिज्ञ, क्षेत्रीय  ठेकेदार तथा राजनीतिज्ञ र व्यापारीसमेत बनेर अकुत सम्पत्तिका मालिक भए ।

उनको प्रभावी हैसियत हेरेर रिन्पुङ राजा (पारोस्थित रिन्पुङ जोङमा पेन्लपको अड्डा भएकाले पारो पेन्लपलाई रिन्फू वा रिन्पुङका राजा पनि भनिन्थ्यो)  यसै लोभिएका थिए । दालचनलाई आफ्नो पक्षमा राख्नपाए ठूला उपलब्धिहरु हातपर्ने दाउ रिन्पुङ राजाले हेर्दैथिए । ऐन मौकामा दालचनले पनि राजा फकाउने प्रयत्न जारी नै राखेका थिए । यस्तो सिलसिलेवार प्रयासपछि रिन्पुङ राजाबाट ‘काजी’ पद्वी बक्स पाएर दालचन आफ्नो क्षेत्रमा अझ शक्तिशाली भए । उनले चमर्चीमा स्थानीयहरुको लागि सातामा एकदिन लाग्ने बजार ‘मंगलबारे हाट’ स्थापना गरे । नून-तेलको आयात सुपारी, सुर्ती, कपास र कपडासमेतको निर्यात हुने मंगलबारे हाट चल्न थालेपछि स्थानीयस्तरमा खेती गर्ने मानिसहरुको खाँचो बढ्दै गयो । यस्तो खाँचो टार्न दालचनले आफ्नो पुर्ख्यौली थलो (वर्तमान नेपालको इलाम जिल्ला) पुगेर केही मानिसहरुलाई आफ्ना रैतीका रूपमा चमर्ची ल्याए र खेती-किसानीमा लगाए ।

समयक्रममा दालचन ब्रिटिश र भोटाङ दुवैतर्फका शासकहरुका लागि ‘कामलाग्दो कारिन्दा’ बनिसकेका थिए । सन् १८८७ मा, जब गर्जमान २६ वर्षको लक्का जवान भइसकेका थिए, रिन्पुङ राजाले दालचन र गर्जमान, दुवै बाबु-छोरालाई आफ्नो इलाकामा रैती-बस्ती बसाल्ने र तिनको प्रशासनिक रेखदेख गर्ने अख्तियारीसहित सनद-पत्र प्रदान गरे । भोटाङमा यस्तो अख्तियारी पत्रलाई ‘कासो’ भनिन्छ । पारोका राजाले प्रदान गरेको सो अख्तियारी पत्र नेपाली भाषामा लेखिएको विभिन्न दस्तावेजहरुमा उल्लेख गरिएको छ ।

परिबन्दले पछिल्लो समय चमर्ची भारतपट्टि पऱ्यो भने द्वारपानी भोटाङमा रह्यो । गुरुङ बाबु-छोराले चर्चिएको त्योबेलाको चमर्ची-द्वारपानी क्षेत्र वरिपरि अहिले रेड-ब्यांक, डाइना, चुनाभट्टि, बन्दापानी, कठलगुडी, राजबारी, लखीपारा, बानरहाट, मोराघाटलगायतका चियाकमानहरु पर्दछन् । त्योबेला आधुनिक राज्यसंयन्त्रको शुरुवाती चरण भएकोले भूमि व्यवस्थापन सुचारु भइसकेको थिएन । जमीनको पञ्जीकरण र करप्रणाली निर्धारित नभएर कुनै हप्ता-असुली गर्ने गुण्डालाई बुझाउने चन्दाझैं थोक-जिन्सी वा नगद तिर्ने चलन भएका कारण इलाकामा जो आएर कर उठाउँछ, भूमि उसैको शासनअन्तर्गत जान्थ्यो ।

यसकारण देशको भौगोलिक सिमानाको खास्सै अर्थ थिएन ।  भोटाङको दक्षिणी क्षेत्र कालेबुङमा मुख्यालय भएका दोर्जी खलकको राजाकाज अन्तरगत सञ्चालित हुनाले द्वारपानी भोटाङको भूमि भए पनि भारतकै एउटा मौजाझैं चलेको थियो । सिमानाले कुनै फरक पारेको थिएन । सिमानाले भारतमा परेकाहरु भोटाङमा खेती, व्यापार-व्यावसाय गर्ने अनि भोटाङमा परेकाले भारतमा सरकारी नोकरी, चियाकमानका मजदूरी गरेका अनेकौं तथ्यांकहरु अझै पनि छँदैछन् ।

दालचनको उत्तराधिकार सम्हाल्ने पात्रहरुमध्ये मुख्य गर्जमान गुरुङलाई पछि रिन्पुङ राजाले नै षड्यन्त्र गरी हत्या गरे । गर्जमानपछिका जसराज, हेमराज, मोतिराज नाम गरेका भाइहरु र तिनका सन्तानहरू अझै पनि भोटाङमा   छँदैछन् ।

गर्जमानका नाति डिबी गुरुङले भूटानस्टेट कंग्रेस नामको राजनीतिक दलकै नेतृत्व गरेका थिए । सर्वस्व हरण गरी उनलाई भोटाङका तेस्रो राजा जिग्मे दोर्जी वाङचुकले देशनिकाला समेत गरे । तर, सन् १९६९ मा राजाले घोषणा गरेको ‘आममाफी’ लाई सकारेर उनी भोटाङ फिर्ता भए ।

गर्जमानका कुटुम्बेरी नाताकाहरु पनि भोटाङ-भारत दुवैतिर प्रशस्तै छन् । राजा जिग्मेसिंगेको शासनकालमा राज्यको उपल्लो निकायका निजामति कर्मचारीहरुमध्ये भीम सुब्बा, रनबहादुर बस्नेत, मान्धोज तामाङ, ओम ढुंगेल आदि गुरुङ परिवारकै तेस्रो पुस्ताका ज्वाइँहरु थिए ।

सन् १८६५ भोटाङबाट ब्रिटिश-भारतले छिनेको कालेबुङ र वरिपरि गुरुङ सन्ततिका धेरै परिवारहरु छन् । बितिसकेकाहरुको पौरख द्वारपानी र कालेबुङमा दुवैतिर अझै पनि छँदैछ । साम्ची नजिकै सौरेनीमा ५२ ढोके दरवार केहीवर्ष अघिसम्म भग्नावशेषको रूपमा थियो । हालचाल के अवस्था छ, हेर्न जान सकिएको छैन । समाचार ल्याउनेहरुले पनि त्यसबारे उल्लेख गर्न भ्याएका छैनन् शायद !

 

गर्जमान प्रसंगबाहेक बिर्सनै नहुने केही ऐतिहासिक पक्षहरुः

  • उहिले एकबेला नेपाल टिस्टा नदीसम्म फैलिएको थियो । अंग्रेजसित युद्धमा हारेको कारण सन् १८१६ मा सन्धि गरी मेची पूर्वको जमीन भारतमा गाभिएको थियो । त्योबेला भूमिसँगै भारतीय बनेका नेपालीहरुको लेखाजोखा भएको छैन !
  • सन् १७७४ सम्म भूटानको दक्षिणी भाग कुचबिहारमा टुंगिन्थ्यो । युद्धमा जितेर कुचबिहार अंग्रेजले हडपेपछि बंगालको एउटा जिल्ला बनेको हो । सन् १८४१ सम्म भूटानको पश्चिमी सीमाक्षेत्र कालेबुङमा र पूर्वदक्षिण भाग ग्वालपाडामा पुगेर टुंगिन्थ्यो ! त्यहाँ पनि अंग्रेजसितको युद्ध हारेकै कारण सन् १८६५ मा सन्धि गरी कालेबुङलगायत अहिले आसाम र पश्चिम बंगालमा पर्ने १८ वटा द्वारक्षेत्र अंग्रेजी भारतमा गाभियो ।
  • धेरै लामो अन्तरालसम्म भूटानका विभिन्न क्षेत्र कबिला सरदारहरुको अधीनमा थिए । तर, सिब्चु (नयाँ नाम सिब्सु) चाहिं केन्द्रीय शासनमै रहेको तथ्य भेटिन्छ । सन् १८९१ मात्र तत्कालीन देवराजा साङ्गे दोर्जीले पत्र लेखेरे दार्जीलिङ मौजाका लक्ष्मीदास प्रधानलाई बोलाई माथिल्लो सिब्चु र तल्लो सिब्चुको काजी नियुक्त गरेका थिए । लक्ष्मीदासकै पछिल्लो पुस्ताका झुलिन्द्रबहादुर र ओम प्रधानहरुको ख्याती भूटानमा राम्रै गरी चलिरहेको छ । यसको अर्थ १८६५ मा सन्धिमार्फत ब्रिटिशको भूभाग मानिए पनि पछिसम्म दार्जीलिङ भूटान अधीनस्थ एउटा स्वायत्त क्षेत्रकै रूपमा कायम रहेको थियो ।

माथिका यी तीन प्रसंगबाट यहाँहरुले बुझिसक्नुपर्छ; इतिहासको कुनै कालखण्डमा आज भूटान भनिने मुलुक र नेपाल देश आपसमा सिमाना जोडिएका भूगोल थिए । अझ प्राचीन इतिहासको कुरा गर्ने हो भने नेपाल हाल आसामको कामक्षसम्म फैलिएको प्रसंग पनि छँदैछ । पछि विभिन्न युद्धका कारण खुम्चिँदै आएको तथ्यलाई नकार्न सकिँदैन ।

सिमाना जोडिएको भूगोलमा एकतिरका बासिन्दाहरु अर्कोतिर जानु वा आउनु, कुनै सारन-तारन गर्नुलाई खास्सै ठूलो कुरो मानिँदैन । युद्धको स्थितिबाहेक उहिले आजजस्तो अनेक नाम राखिएका कुनै देशको पनि राज्यव्यवस्था सुदृढ भइसकेको थिएन । यसर्थ को कुन देशको नागरिक भन्ने त कुरै भएन ! त्योबेलाको परिस्थिति नकेलाईकन आजको सन्दर्भमा कसले कसलाई कहाँबाट कता लग्यो भन्ने कथा बेढंगको बुद्धिविलासमात्र हुन्छ ।

आजकै परिवेशमा पनि नेपाल-भारत-भूटानबीच खुल्ला सिमानाको प्रभाव र असर देखिसकेका मानिसहरुलाई त्यो प्राचीन अवस्थाको व्याख्यान गरिरहन आवश्यक छैन शायद ! सबैले सहजै बुझ्ने कुरा हो । आज पनि सिमाना सरेको/सारिएको कारण एक देशका नागरिक अर्को देशमा परेका अनेक घटनाहरु छँदैछन् ।

सन् १८७३ देखि शुरु भएर सन् १९७३ मा मात्र टुंगो लागेको भारत-भूटान सीमा निर्धारणको क्रममा राति भात खाएर भूटानमा सुतेका मानिसहरु बिहान उठ्ता भारतीय भएका घटना ताजै दिमागमा बोक्ने मानिसहरु अहिले पनि जीवितै भेटिन्छन्।

यस सरोकारमा गमेर सोच्नुस् त, सन् १८१६ मा नेपाल खुम्चिएपछि कति नेपालीहरु पारीपटि छुटे होलान् ! त्यसअघि कति मानिसहरु टिस्टा तरेर पारितिर पसेका थिए होलान्? अथवा टिस्टाको सिमाना जोडिएका आज भूटान भनिने देश र नेपालबीच कति मानिसहरु वारिपारि भए होलान् ! त्यसै गरी उत्तरतिर सिमाना जोडिएको भोटबाट कति भोटियाहरुको आउजाउ भयो होला ? हाल नेपालमा वा भूटानमा भएका भोटियाहरुमध्ये को कताबाट आएका होलान्? त्यसबेलाको अंग्रेजी भारत, भूटान र नेपालमा रहेका आज ‘नेपाली’ संज्ञाले चिनिने मानिसहरु को को कताबाट आए वा कहाँ गए होलान् ! यो आएको, गएको वा लगेको र लगिएको सन्दर्भ आजको विश्वमा किन मुद्दा बनिरहेको छ, कसको कारण? यसबारेमा चिन्तन/विश्लेषण जरुरी छ।

“सन् १६२४ मा गोर्खाका राजा रामशाह र भूटानी लामाराजा शाब्ड्रुङ नावाङ नाम्गेलबीच सम्झौता गरी बिसुन थापा मगरको नेतृत्वमा ५० परिवार भूटान लगिएको भनिन्छ तर, हामी बिसुन थापा मगरका सन्तती हौं भन्ने मान्छे भूटानमा भेटिँदैनन्? छन् भने कहाँ होलान् ?” भनेर मलाई कसैले प्रश्न गऱ्यो, प्रश्नकर्ता भुलें तर, प्रश्नचाहिं याद छ।

नभेट्नेहरुले भेटेनन् भन्दैमा इतिहासमा भएको कुरो फेरिँदैन । ती प्रश्नकर्तालाई म सविनय निवेदन गर्दछु कि आजको भूटान भनिने भुगोलमात्र त्योबेलाको देश थिएन । आजको पश्चिम बंगाल भनिने राज्यको कुनै देहाती गाउँमा बिसुन थापा मगरका सन्ततीहरु अहिले पनि छन् । अझै पनि उनीहरुसित जिजु-च्याब्जुको नासो छ; उनीहरुको स्मरण र श्रुतीमा आधारित इतिहास मरेको छैन । यस विषयमा म स्वयंले धेरै अध्ययन गर्न भ्याएको छैन । स्वयं अध्ययन नगरेको कुरामा धेरै व्याख्या गर्न चाहन्न । तर, उनीहरु छन् भन्नेसम्मको जानकारी दिन यति कुरा जोडें । केही समयभित्रै सो विषयको खोजबीन हुने कुरामा पाठक र प्रश्नकर्ताहरुलाई आश्वास्त रहन अनुरोध छ।

अब शुरु गरौं भूटानमा नेपाली सांस्कृतिक पृष्ठभूमिका मानिसहरुको प्रवेशबारेको कुरा ! सातौं शताब्दिमा गुरु पद्मसम्भवको भूटान यात्रा, प्राचीन नेपालकी छोरी भृकुटी देवीका खसम, तिब्बती राजा सोङ्सेन गेम्पोको समय र शाब्ड्रुङ नावाङ नाम्गेलका कुरा धेरै पुराना भए-तिनको सन्दर्भ छोडौं। नयाँ ताजा समयकै विषय उठान गरौं!

सन् १७८० मा शाब्ड्रुङ व्यवस्था अन्तर्गतको देशी वा देवराजा मुख्य प्रशासक रहने प्रणालीमा उम्जे ‘थापा’लाई देशी बनाइएको प्रसंग डा. डि.एन.एस. ढकालले पनि उठाएका छन् । (The movement in Exile: P-116) ।

यद्यपि, भूटानले राखेको शासकहरुको तथ्यांकमा चाहिं डा. ढकालको टिपोटविपरित ती देशीको नाम र कार्यकाल फरक छ । भूटानको सरकारी तथ्यांकमा उम्जेको कार्यकाल सन् १७९२ मा शुरु भएर सोहीवर्ष अन्त्य भएको उल्लेख छ भने उनको नामथर पनि उम्जे थापा नभएर ‘उम्जे चाबछाब’ लेखिएको छ। हुन त जोङ्खा भाषाको अपूर्ण उच्चारणविधि, भाषान्तरको सुविधा अभाव, भोटिया शासकीय कर्मचारीहरुको उदासिन्ता वा धुर्त्याइँले पनि ‘थापा’ लाई ‘चाबछाब’ बनाउने काम गरेको हुनसक्छ ।

सन् १९८८ को ‘कालो’ जनगणना र ‘सी.ओ.’ को समस्या भोगेकाहरुले भूटानमा नामथरको हेरफेरबाट हुने पीडाबारे राम्रै ज्ञान लिएका छन्। अनि ती ‘थापा’ देवराजा बनेको प्रसंग त झण्डै दुइसयवर्ष अघिको कुरा थियो; कुरो जे पनि हुनसक्छ ! जे होस्, यस्ता कुराको तथ्य पुष्टि गर्ने ठोस आधार नपाइए पनि नेपालीभाषीहरु सन् १८०० पूर्व नै भूटानका प्रशासकीय पदहरुमा समेत विद्यमान थिए र नेपालीहरुको भूटानप्रवेश कहिलेदेखि भयो होला भन्ने अनुमान लगाउन गाह्रो छैन ।

त्यो समयभन्दा अझ धेरै पछि सन् १८९० मा जोहन क्लड ह्वाइटद्वारा लिखित ‘Sikhim And Bhutan Twenty-One Years On The North-East Frontier 1887-1908’ मा एउटा चाखलाग्दो प्रसंग यस्तो छः

“विगत १५ वर्षदेखि भूटानको दक्षिणी भेग-समतल क्षेत्र सिब्चु (सिब्सु) वरिपरिका गौचरनलाई नवप्रवेशी नेपाली वासिन्दाहरुले ओगटिदिएका कारण ‘हा’ का पशुपालकहरु रुष्ट बनेका छन्। उनीहरुको सम्पत्तिको प्रमुख स्रोत गोधन र दुग्ध पदार्थको उत्पादनमा यसरी बाधा परेपछि उनीहरु [हा जिल्लावासी] र पहाडिया [नेपालीहरु] बीचमा उठ्ने गरेको झगडाले धेरै चिन्ता र चासो बढाएको छ।”

ह्वाइटको यो भनाइले के पुष्टि गर्दछ भने नेपालीभाषीहरु भूटानमा जग्गाको स्वामित्वसहित बसोबास गरेको समय सन् १९०० भन्दा धेरै पहिले हो ।

ह्वाइटभन्दा एकवर्ष अगाडि नै चार्ल्स वेलले पनि भूटानबारे लेखेको पुस्तकमा “सिब्चु र ‘साङ-बी’ का मुखिया ठिकादारहरु काजी नन्दलाल क्षेत्री, गर्जमान गुरुङ र लालसिङ गुरुङले आ-आफ्नो अख्तियारीमा जम्मा २ हजार ७ सय ३० परिवारको रेखदेख गरेको जनाएका छन् जसको कूलसंख्यामा १५ हजार व्यक्तिहरु थिए र तीमध्ये १४ हजार नेपालीहरु मात्र थिए” भन्ने उल्लेख छ । (AC SINHA-2004 P-29)

लेखक अवधेश कुमार सिन्हाले सन् १९३० को ‘राजकीय भारतीय श्रमिक आयोग’लाई उद्धृत गर्दै ‘सन् १९११ देखि १९२१ सम्म असीमित संख्यामा नेपालीहरु भूटान प्रवेश गरेका’ जनाएका छन् । भूटानका तत्कालीन शासकहरुले अत्यधिक प्रलोभन देखाएपछि खेती-किसानी र पशुपालन गर्दै सीमासुरक्षाका लागि राजालाई साथ दिने वाचाबन्धनमा भारतका चियाकमानको मजदुरी त्यागेर अधिकांश भारतीय नेपालीहरु त्यता भागेका सिन्हाको आरोप छ ।

यस्ता कैयौं प्रसंगहरुबाट समुदायको वास्तविक इतिहास खोतलेर निकाल्नु जरुरी छ । सबै सम्भव छैन भने पनि धेरै मिलेर अध्ययन गर्दै जाउँ, अनुसन्धान जारी राखौं !

सबैमा सिर्जनशील, अध्ययनशील चेतना बढोस्, ‘सर्वे भवन्तु सुखिनः’ इति शुभम् !

सन्दर्भ स्रोत [हरु]

  1. BHUTAN AND INDIA: A Study in Frontier Political Relations: ARABINDA DEB
  2. Bhutan: A Kingdom in the Himalayas: NAGENDRA SINGH
  3. Memoirs of a political Officer’s wife in Tibet, Sikkim and Bhutan: MARGARET D WILLIAMSON
  4. Himalayan Kingdom BHUTAN: Tradition, Transition, and Transformation: AC SINHA
  5. Unbecoming citizens: Culture, Nationhood, and the Flight of Refugees from Bhutan: MICHAEL HUTT
  6. DB Gurung: 1960:  Bhutan’s Woes, Mankind, Vol. 4, No. 7, pp.33-45
  7. THE NEPALIS IN BHUTAN: PAST AND PRESENT: JSTOR Journal Article: Vol 56: DEBAMITRA MITRA

Leave a Reply

Your email address will not be published. Required fields are marked *