आग्रह
डिल्लीराम रेग्मी
ओहियो, अमेरिका
विशाल पहाडकाे फेदमा,
घना जङ्गलकाे बिचमा,
जहाँ म खुल्ला सास फेर्न सक्छु
महासागरकाे किनारै किनार
मलाई उडाएर लैजाउ ए परी,
याे निरङ्कुश समाजदेखि
याे भयानक शताब्दीदेखि
जसले म जस्ता धेरैलाई
किताब लेख्न हुने उपनाम दिएकाे छ।
म थाकिसकेँ,
म हारिसकेँ,
ममा लड्ने शक्ति विलीन भैसक्याे
म शिथिल भैसकेँ,
भाे मलाई पर्दैन डिस्एबल [1] काे उपाधी दिनु
भाे मलाई पर्दैन एडिएचडि [2] काे उपनाम दिनु
मेराे टिप्पनबाट स्पेसल निड्स [3] हटाइदेऊ
एएसडी [4] ले मलाई खाेक्राे बनाइसक्याे
मलाई तिम्रै घुम्टाेले बेरेर
सबैकाे अाँखाकाे सीमादेखि धेरै टाढा अाेझेलमा
लैजाउ न ए परी तिम्रै समशानमा
मैँले जिउने जिवनकाे सार पाउन सक्छु कि
मेराे शरीरकाे नशाहरूमा
दाैडिरहेकाे रगतझैं
एक बेमिसाल यात्रा म दाैडिरहेकाे छु
मेराे व्यवहारले देखाएकाे
एसपरजर [5] काे अस्तित्व खाेजिरहेकाे छु
कतै नपाउने पाे हाे कि!
अटिसम [6] ले लेखिएकाे
रगतकाे गाडा रङ झैँ
मेराे भाग्यरेखाकाे अस्तित्व
कतै नपाउने पाे हाे कि!
मेराे मस्तिष्कले देख्ने आकाश
याे समाजले देख्ने आकाशभन्दा
सयाैं गुना भिन्न छ
म कसरी भनाैं
मेराे संसारमा उदाएकाे घाम स्थिर रहँदैन
म कसरी सम्झाउँ
मेराे सपनामा झुल्केकाे जुन मलिन रहँदैन
मेराे मस्तिस्कले खटाएकाे म
म नै नभएर
पराय भान हुन्छ शरीर
यहि मात्र फरक छ मेराे आकाशमा
मेराे भावना अभिव्यक्तिमा
अाक्राेस जमेकाे भान हुन्छ सबैलाई
मेराे मायालु व्यवहारमा
रिसकाे ज्वाला सल्किन्छ सबैलाई
म आफैँलाई थाहा भएर हाेइन
मेराे अमानवरूपी मानवले
यसैलाई सही तुल्याइदिन्छ
मैँले काेशिस नगरेकाे हाेइन
सयाैं चाेटी आफूलाई सम्हाल्न
मैँले काेशिस नगरेकाे हाेइन
तिम्राे हेराइले मेराे आकाश हेर्न
मैँले काेशिस नगरेकाे हाेइन
तिम्राे साथलाई सहजै स्वीकार्न
मेराे गल्ती नै यसमा के छ र
मेराे अाँखाले तिमीले देख्ने आकाशलाई पत्याएन
मेराे वास्तविकताले तिम्राे साथलाई अङ्गालेन
म जाे छु त्यसमै सीमित छु
मेराे संसार नै मेरालागि स्वच्छ छ
ए मेरी आमा
मलाई तिम्राे पटुकामा
भुटेका मकै लुकाएझैँ
भित्र लुकाएर एकादेशमा लैजाउ
मैँले काेशिस गरेकाे नदेख्ने याे समाज
काेशिस गर्दा गर्दै भत्काइदिने याे समाज
मेराे वास्तविकतालाई
सयाैं उपनाम दिने अप्ठ्याराे याे समाज
मेरा लागि विसालु बन्न पुग्छ कि!
मलाई लाेइ लाेइ लाेइ भन्दै
काेक्रामा हल्लाएर गाएकाे गीत गाउँदै लैजाउ
खेतालालाई खाजा दिने बहानामा
घरबाट भागेकी बुहारी झैँ
सुटुक्क भगाएर लैजाउ मेरी आमा
काँधमा चडाएर देश देखाउन लगेझैँ
फेरि एक चाेटी नफर्काउने हिसाबले लैजाउ मेरा बाबा
धेरै टाढा, अझै टाढा
जहाँ मजस्ता अरू धेरै
यस्तै उपनाम पाउनेहरु
खुल्ला आकाशमा सपना बुन्न सकुन्
आफ्नै छायालाई हेरी खुसी बटुल्न सकुन्
आफ्नै छाती ठाेकेर भन्न सकुन्
हाे…….म यहाँ जिउन सक्छु!
Editor’s Note
Meaning and/or description of some English words and/or medical terms used in the poem:
1. असक्षम
2. Attention deficit hyperactivity disorder (ADHD) is a mental disorder of the neurodevelopmental type. It is characterized by problems paying attention, excessive activity, or difficulty controlling behavior. Source: Wikipedia.
3. विशेष आवश्यकता
4. Autism spectrum disorder (ASD) is the name for a group of developmental disorders. ASD includes a wide range, “a spectrum,” of symptoms, skills, and levels of disability. Source:The National Institute of Mental Health.
5. Asperger syndrome (AS), also known as Asperger’s, is a developmental disorder characterized by significant difficulties in social interaction and nonverbal communication, along with restricted and repetitive patterns of behavior and interests. Source: Wikipedia.
6. Autism is a neurodevelopmental disorder characterized by impaired social interaction, verbal and non-verbal communication, and restricted and repetitive behavior. Source: Wikipedia.