आधुनिक युवा

कवि
कवि

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

फेरि त्यही उत्ताउलो अनुहार लिएर
फेरि त्यही आक्रोशित स्वर लिएर
तिमी
मेरो छेउमा नआउनु
तिमी मेरो वरिपरि नघुम्नु
मलाई आक्रोश मन पर्दैन
मलाई उत्ताउलोपन मन पर्दैन

तिमी सोर्ह-सत्र वसन्त मात्र पार गर्दैछौ
तिमीले गन्य भोटा मात्र फटाउँदैछौ
तिमी आमाको दूध भर्खर छोडेको जस्तै हौ
तिमी बाबाको हात समाएर हिँडिरहने जस्तै हौ
तिमीले यो समाज चिन्नुछ अझै
तिमीले सिंगो संसार जान्नुछ अझै

हातमा चुरोट लिएर समाज बुझिँदैन
कानमा कुण्डल लगाएर संसार चिनिँदैन
बरु ! पर पर जान्छ समाज
बरु ! टाढा टाढा भाग्छ समाज
तिमी एक्लो भइरहन्छौ
तिमी, मात्र तिमी भइरहन्छौ

तिमी कहिले सामाजिक कार्य भाँड्न आतुर दिखिन्छौ
तिमी कहिले घर भत्काउन लालायित देखिन्छौ
बाबालाई पत्याउँदैनौ तिमी
आमालाई ढाँटिरहन्छौ तिमी
दाजुलाई दुश्मन सम्झन्छौ
दिदीलाई पराइ सम्झन्छौ
कसैलाई सम्मान गर्न जान्दैनौ तिमी
कसैलाई शिर झुकाउन जान्दैनौ तिमी

अरु रुँदा हाँस्ने बानी छ तिम्रो
आफ्नै लागि मात्र सोच्ने स्वभाव छ तिम्रो
खोइ ! पशु भनौं कि मानव तिमीलाई
मानव भनौं भनें पशुको व्यवहार देखाउँछौ
पशु भनौं भनें मान्छेको जुनि लिएका छौ
त्यही दाल खान्छौ तिमी
त्यही तरकारी खान्छौ तिमी
त्यही अक्सिजन लिएर कार्बन्डाइअक्साइड ओकल्छौ तिमी
त्यही एउटा मुटु छ तिम्रो
मेरो जस्तै आँखा कान मुख, खुट्टा र हात छ तिम्रो
तर आश्चर्य
तिमी मानव जस्तो छैनौ
तिमी म जस्तो छैनौ
तिमी ! मात्र तिमीजस्तै छौ
तिमी ! मात्र तिमीजस्तै छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *