आफ्नै छाँयाले पछ्याएझैँ

Rup N Pokharel
कवि

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

हिजो प्रियसीको यादले पछ्याएझैँ
आज यात्रा र कार्यमा सानी छोरीको मायाले पछ्याएझैँ
मेरो पिछा गरिरहयो रातोदिन
प्रत्येक गाँसमा मुछिएर मुखमा पस्न पुग्यो
प्रत्येक श्वासमा तरिएर भित्र छिर्न सक्यो
बिछ्याउनाका सबै कपडादेखि
आङका हरेक कपडामा उन्निएझैँ लाग्ने
लॉन्ड्रीमा मिचीमिची धोयो
हातै पोल्ने गरी सुकायो
हरेक बिहान बिछ्याउनाका सबै झुत्रा
सिरक, तन्नादेखि तकियासम्म
थैलोमा खाँदेर मुख बाँधेर राखेँ निसासिएर मार्न
ज्युँको त्युँ पछ्याइरहयो हाट बजार र चर्पीसम्म
हुँदा हुँदा;
मेरा आँखा थुर्रिने हर बस्तुहरूमा
मैले हिड्ने हरबाटाहरूमा
मलाई हेर्ने सबै आँखामा उही देख्न थालेँ
अर्धंाङ्गिनीले पनि थाहा पाइन् जस्तो लाग्न थाल्यो
साथी भाइले पनि देखे कि जस्तो भो
निन्द्रामा पनि बोल्न थालें कि जस्तो हुने, त्यही भएर
कति रात ननिदाई फटाइदिएँ
आजित भएर केही नलागेपछि-
मङ्गलवार हनुमान मन्दिर गएँ
आइतबार इशुको चर्च पुगेँ
मध्यदिउँसो अल्ला पुकारें
गुम्बा छिरी ॐ आ:हुँ… मन्त्र जपेँ
जन्मबारका दिन ज्योतिषी भेट्न पुगेँ
अझ;
शनिवार बरपिपललाई पानी चढ़ाएँ
सडकबासी भोकालाई भोजन पुर्‍याउन गएँ
ठण्डीमा पुलमुनी न्यानो बाँड्न कम्मल जुटाएँ
अनि
अलिकति आनन्द बुटुली घरमा छिर्दा- सँगै छिर्छ

जब;
एलिज़ाबेथ गिल्बर्टका* पुस्तकको नसा पिएँ
बल्ल थाहा भो-
जीवन जिउन
बाँच्नुको अर्थ भेट्न
प्रगति पथमा चढ्ने सिँडी रहेछ
अमूल्य शिक्षा रहेछ
मलाई पछ्याइरहने त्यो
अदृश्य त्रास !

(*एलिज़ाबेथ गिल्बर्टको ‘बिग म्याजिक’ प्रेरणाको स्रोत)

Other articles by Rup Pokharel:

[feedzy-rss feeds=”http://bhutaneseliterature.com/label/writer/r-n-pokhrel/rss” max=”10″ feed_title=”no” meta=”no” summary=”yes” summarylength=”1000″ thumb=”no” size=”80″ ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *