आमाको माया
हाम्रो सानो परिवार, रमाइलो वातारण ! आमा-छोराको आफ्नै दुनियाँ थियो ! एकदिन मेरी आमाले भन्न लागिन्, छोरा ! हेर मेरो उमेर ढल्किंदै गयो, दिनदिनै म बुढी हुँदैछु, हात-खुट्टा कम्जोर हुनथाले, वास्तवमा म भीरमाथिको घामजस्तै भैसकें ! तेरो पनि त उमेर पुग्यो, अब बिहे गर्ने बारेमा सोच छोरा ! आमाले यति भनिसकेपछि मैले आमाको सम्पूर्ण मनसाय बुझिहालें ! आमा चाहन्छिन् कि म अब बिहे गरेर उनलाई स्याहार-सुसार गर्ने, पकाएर खान दिने बुहारी लिएर आउँ, अनि बुढेसकालको साथी एउटा नाती दिउँ ! मैले भने, आमा तिमीले सोचेजस्तो कसरी हुन्छ-यति छिटो, अनि फेरि भन्ने बित्तिक्कै कहाँ पाउनु तिम्ले खोजेजस्ती बुहारी ? तिमीलाई त थाहै छ आजकलका केटीहरु कस्ता हुन्छन् भनेर ! तिम्ले सोचे जस्तो घरमै बसेर तिम्लाई पकाएर खान दिन कहाँ फुर्सद हुन्छ उनीहरुलाई ! आफ्नै स्याहार सुसार गर्न भ्याई-न-भ्याई हुन्छ । फेरि आमा भन्छिन- हेर नानी सबै केटीहरु तैंले भनेजस्ता पनि त हुदैनन्, एकचोटि विचार गर, मलाई हेर अनि मेरो चाहना पुरा गर, मर्ने बेलामा कमसेकम बुहारीले पकाएको २-४ छाक खान पाऊँ । बुहारीले कोरीबाटी गरेको कपाल लिएर हिड्न पाऊँ !आमा यस्तै यस्तै गनगन गरिराकी थिइन् म भने आफ्नै कोठाभित्र पसें ! कोठामा पसेर यसो ढल्केर आमाका कुराहरु बारबार दोहोर्याउन थालें, अनि सोच्न थालें साँच्चै अब एउटी नखर्माउलीलाई बिहे नगरी भएन !
अब म दिनरात गरेर आफन्तलाई एउटी केटी चाहियो भनेर फोन गर्नथालें । साथीभाइ, दिदी-बहिनीहरुलाई पनि एउटी खोज है मेरो लागि भनेर आग्रह गरें, नभन्दै त्यसको दुई हफ्तापछि एउटा फोन कल आयो अनि भनियो-“एउटा तस्वीर पठाइदिएका छौं ।” भोलिपल्ट नै हुलाकी दाइले एउटा तस्वीरको खाम आमाको हातमा थमाइदिएछन् । म भित्रै थिएँ- आमाले कराउनु भो- छोरा…बाबू…यहाँ आइज त, तल झर त, यी हेर त यो तस्वीर कस्तो छ ? मलाई त राम्री लाग्यो बुहारी ;तलाई कस्तो लाग्छ हेर त ? खोई त हेरौं- भनेर मैले आमाको हातबाट तस्वीर फुत्त तानें अनि कोठामा गएर हेरें-आहा ! कति सुन्दर, तस्वीरमै यति राम्री, साँच्चिकै कस्ती होली, यति सुन्दर मिलेको नाक, लामो कालो कपाल, ठूल्ठुला आँखा अनि ठूलो निधार, कति राम्रो मुस्कान, मैले मनभित्रैबाट चिच्याएँ अनि आमालाई सुनाएँ, आमा मलाई केटी मन पर्यो, म बिहे गर्न तयार छु । मैले यति भन्दा आमा पनि खुशी भइन् ; अनि कल्पनामा रमाउन थालिन् । “सायद मेरा सुखका दिन आए ।बसी बसी खाने दिन आए । अब त बुहारीले पकाएको खाना खान पाउने भएँ । बिहे भाको एक सालमा त एउटा नाति पक्कै देलान् नि”-भन्दै आमा मुसु मुस्कुराउन थालिन्, म पनि लजाएझैं फेरि घोप्टो परेर ओछ्यानमा ढल्कें ! अब भने हामी बिहेको चाँजोपाँजो मिलाउने तर्फ अघि बढ्यौं ।
निमन्त्रणा पत्रदेखि खानपिनको बन्दोबस्त, पाहुनाहरुलाई बस्ने-सुत्ने व्यवस्था, आदि इत्यादि ! नभन्दै सबै साथी-भाइ अनि आफन्तहरुको सहयोगले बिहे सम्पन्न भयो ! दुलही घरमा भित्र्याएदेखि आमाको मुख जोडिएको थिएन ! सारालाई आफू खुशी भएको कथा गर्दा गर्दा ! खुशीको सिमानाले संसार जितिसकेको थियो आमाको ! यसरि नै समय बित्दै गयो । बिहे सम्पन्न भयो, सबै आफन्त पाहुना अनि साथीहरु आ-आफ्नो घर लागे । हाम्रो घर पल भरलाईशून्य भयो ! एक दिन बिहानै म उठेर बाहिर कौसीमा बसेर पत्रिका पढ्दै थिएँ ; आमा कफीको कप हातमा लिएर म भए ठाउँ आइन् ! म अचम्ममा परें । मैले आमालाई सोधें-आमा यो के हो ? खोई त बुहारी ? किन तिम्ले कफी बनाको ? आमा भन्छिन्-बुहारी सुतिराकी छिन्, मैले उठाउन खोजेकी, निन्द्रा पुगेकै छैन भन्छिन् ! आ ! हुन्दे नत सुत्न दे बुहारीलाई, थाकेकी होली-दुईचार दिन त भयो बिहेको धन्दा सकिएको ! भोलिदेखि उठ्ली नि त-यति भनिसकेर आमा कफी राखेर फटाफट घर भित्र गइन् ! म त्यो दिन जागीर नगई कन घरमै बसें, मलाई सन्चो पनि थिएन ! तर त्यो दिन बुहारी उठी दिनको १० बजे । त्यसरी नै भोलिपल्ट देर्दा हेर्दै आमाले नै धन्दा गरेको देखें अनि सोद्धा आमाले भनिन्-बुहारीको हात दुखेको छ रे ! अर्को दिन रसोइघरमा आमालाई नै देख्छु, आमा भन्छिन्- बुहारीलाई धुवाँ भयो रे अनि कोठामा बसेर खै किताब पढ्दै छ रे! यसरी हरेक दिन कहिले थाकेको बहाना, कहिले धुवाँको बहाना, कहिले के को बहाना गरेको अनि आराम गरेको चरित्रमा दिनदिनै देख्न अनि सुन्न थालें मैले ! मैले एक रात आमालाई सोधें, आमा यो के भैरहेको छ? आमा सजिलैसँग भन्छिन्- छोड्दे न, के भो त, नयाँ छिन्,बेला छ निःविस्तारै सब ठिक भैहल्छ नि ! म सिकाउँछु सब कुरा ! समय लाग्छ आफै थाहा पाउछिन् कति बेला उठ्ने, कसरी धुवाँसँग खेल्ने अनि कसरीघर-धन्दा गर्ने ! म छँदैछु निः, हात खुट्टा लागेसम्म, शरीरले साथ दिएसम्म ठिकै छ !बुहारी ले हेर्छिन्, देख्छिन् अनि जान्नेछिन् ! यसरी आमाले सब कुरालाई हल्का रुपमा लिइन्! यसरी नै दिन बित्यो, हफ्ता बित्यो, महिना बित्यो । अब साल पनि बित्न लाग्यो तर, बुहारीमा केही परिवर्तन आएन !
यस्तैमा बुहारीले एक दिन घर सल्लाह गर्ने इच्छा प्रकट गरिन् ! हामी दुई आमा-छोरा खुशी भयौं ! नभन्दै हामी बेलुका साँझपख बाहिर बसेर घर सल्लाह गर्न लाग्यौं ! सबभन्दा पहिला मेरै श्रीमती बोल्ने जमर्को गरिन् र अगाडि बढिन् ! उनी भन्न थालिन्-“म आज एउटा खुशीको कुरा सुनाउँदैछु ! खास गरेर आमाको लागि । मलाई थाहा छ, आमालाई गफ गर्ने साथी चाहिएको छ, बुढेसकालको साथी नभएर कति बिरक्त लागेको छ । मलाई यो पनि थाहा छ अब आमाले पकाएर खान दिन सक्नुहुन्न ! आमालाई बसीबसी खान मन लागेको छ र बसीबसी खानेबेला पनि भएको छ आमाको ! यो सब कुरालाई मध्येनजर राख्दै आज म आमालाई उपहारस्वरुप एउटा सेवा गर्न चाहन्छु ! उनले यति भनिसक्दा मेरो मनभित्रैबाट प्रसन्न भएर आयो ! र, आमा पनि खुशी भएर मुस्कुराइन् अनि भन्न थालिन् ! देखिस त छोरा- मैले भनेकी थिएँ निःबुहारी एक दिन समझदार हुन्छे, एकदिन मलाई खूब माया अनि सुख दिन्छे, मेरो मनको पढ्छे भनेर? कस्तो लग्यो ? घर छोडेर कहिँ जान नदिनू, पार्लर पनि जान नदिनू अनि बेलैमा उठाउनु भन्थिस् ! हेर त आज घरदेखि बाहिर नै कति कुरा सिकेर आइछन् बुहारीले ? आमा हर्षविभोर हुनुभएको देखेर म पनि गदगद भएँ खुशीले !
अब फेरि मेरो श्रीमती बोल्न थालिन्- आज मसँग ठूलो उपहार छ आमा क लागि ! आमाले हतार गरेर सोधिहालिन्, उपहार ? कहाँ छ,के हो छिटो भन न बुहारी, खोई मेरो उपहार ? आमाको उत्सुकतालाई छर्लंग पर्दै बुहारीले पर एउटा लामो भ्यानको अगाडिचारजना मानिस देखाउँदै भनी-वहाँहरु तपाईंलाई लिन आउनु भाको हो वृद्धाश्रमबाट ! तपाईंले चाहेका, तपाईंले सोचेका सपनाहरु त्यहाँ पुरा हुन्छन् ! त्यहाँ पाउनुहुनेछ तपाईंले गफ गर्ने साथी, बसीबसी खान अनि बिना पैसाको कपडा लाउन ! तपाईंको बृद्धाश्रममा मैले बन्दोबस्त मिलाइदिएकी छु !
यति भनी सक्दा नसक्दा आमाका आँखाहरु आँसुले भरिइसकेका थिए !बोल्न सक्ने स्थिति थिएन आमाको ! म पनि के भन्नु भएर अक्क न बक्क भएँ ! त्यत्रो खुशी एकैछिनमा बगाएर लाने भईयसले ! म रुन पनि सकिनँअनि रिसले चिच्याउन पनि सकिनँ । अनि मैले जसोतसो थोरै शक्ति जम्मा गरेर भन्नथालें-हेर केटी, तँलाई सायद अन्दाजा पनि छैन होला कि भर्खरै के भनिस भनेर ! तेरो हिम्मत कसरी भयो कि मलाई यतिका वर्षसम्म हुर्काएर, बढाएर,पढाएर आज यत्रो बनाउने मेरी आमालाई मबाट छुट्याएर बृद्धाश्रम पठाउने ?तेरो आँट कसरी भयो कि मबिना मेरी आमा खुशी हुन्छिन् भनेर? तँलाई थाहा छ, मलाई दुलही भित्र्याउनुभन्दा मेरी आमालाई बुहारी भित्र्याउन हतार थियो । कति धेरै खुशी अनि आनन्दको आशा गरेकी थिइन् मेरी आमाले !कत्रो कल्पना राखेकी थिइन् ! जिन्दगीमा मलाई तिमी भनिनन् होला तर तँलाई एक दिन तँ भनेर बोलानन् ! कति सेवा गरिन् तेरो, जुन तैंले गर्नुपर्थ्यो ! त्यसको बदला, गुण यसरी चुक्ता गर्न खोज्दैछेस? मेरी आमा जो मेरो खुशीको लागि एक छाक खाइन्, एक जोडी कपडा एकवर्षसम्म लगाइन् ! मलाई दिन को चारछाक पकाएर खुवाइन्, आज म बाइस वर्षको हुँदा कतिपटक पकाइन् अनि खुवाइन् होला ? ३२ हजार १ सय २० पटक ! मैले कपडा धुँदा मेरो हात दुख्छ भनेर हरेक हफ्ता पाँच जोडी कपडा धुँदा आजसम्म कति जोडी अनि कति पटक धोइन् होला ! एक हजार ५६ पटक ५ हजार २ सय ८० जोडी कपडा धोइन् !दिनको दुईपटक चिया वा कफी मलाई दिन्थिन्,आजसम्म कति पटक दिइन् होला ? एक हजार ६० पटक ! मेरा लागि कति लिटर आँसु बगाइन् होला ? कति रात नसुतीकन रात बिताइन् होला ? के खायो के खाएन, लगायो लगाएना, सुत्यो कि छैन, सबको चिन्ता लिने मेरी आमालाई छुटाउन खोज्ने ? यतिका दिन एउटै घरमा बसेर मेरी भगवानजस्ती आमालाई चिन्न सकिनस? धिक्कार छ तँलाईं ! खबरदार जो मेरी आमालाई मबाट छुटाएर बृद्धाश्रम त के यो घरबाट बाहिर निकाल्नसम्म खोज्नेलाई ! चाहिँदैन मलाई कसैको सहारा, चाहिँदैन तँजस्ती बुहारी मेरी आमालाई अनि तँजस्ती श्रीमती मेरा लागि ! म आफैं स्यहार्छु मेरी आमालाई ! यति भनेर म आमापट्टि फर्कें, आमा त धेरै अघिदेखि नै रोइरहेकी रै’छन् ! मैले भनें,आमा तस्वीर हेरेर तँलाई सुन्दर लाग्यो, खुशी दिन्छेजस्तो लाग्यो होला तर देखियो आज नतिजा !
मलाई माफ गरिदेऊ आमा, तिम्रा लागि यस्ती बुहारी यस घरमा राख्न सक्दिनँ !आजै म यसलाईपारपाचुके दिएर मेरो यो घरबाट र मेरो जिन्दगीबाट सधैंका लागि बिदा दिन्छु ! अनि हामी फेरि पहिलेको जस्तै जीवन जिउनु पर्छ ! मैले पारपाचुकेको कुरा गरेपछि मेरो श्रीमती भनाउँदी मेरी आमाको खुट्टामा समातेर भन्न थाली,आमामलाई माफ गर्दिनुस, मैले हजुरलाई चिन्न सकिनँ ! म अन्धी भएकी थिएँ, मेरो जवानी र मेरो उमेरले गर्दा ! मैले मेरो जिम्मेवारी र कर्तब्य बिर्सिएकी थिएँ ! मलाई एकचोटि मौका दिनुस्, म आफूलाई सुधारेर हजुरले सोचेजस्तीर, चाहेजस्ती बुहारी बन्ने प्रयास गर्नेछु ! मैले उसको कुरा नसकिँदै भनिहालें- यो कुनै नेपाली फ्लिमको कथा होइन जो कि तीन घण्टासम्म सताएर, पाप गरेर दुःख दिएर अन्तिमको दुई मिनेटमा माफ मागेर पाप छुटाउने ! आजदेखि तेरो र मेरो सम्बन्ध सकियो !तेरो बाटो अलग, मेरो अलग !
मेरो कुराको टुंगो नलाग्दै आमाले मेरो मुख थुनेर भनिन्, त्यसो नभन छोरा ! जस्ती भए पनि बुहारी हुन् ! मेरो मनले खोजेकी बुहारी भने पनि छोरी भने पनि यही हो !मैले यिनलाई छोरीको रुपमा हेरेकी छु । अब म कसरी यसलाई यो घरबाट निकाल्नु त ? म खुशी छु बुहारीदेखि अनि बुहारीले पनि त माफ मागी सकेकी छिन् ।एकपटक मौका सबैलाई दिनुपर्छ ! बरु यिनलाई यस घरबाट निकाल्ने कुरा गरिस् भनेचाहिं म दुःखी हुनेछु बुझिस् ?आमाको यस्तो कुरा सुनेर मलाई पनि सोच्न बाध्य बनायो ! अनि मैले पनि उनलाई माफ दिएर फेरि मिलेर यो घरलाई स्वर्ग बनाउने वाचा गर्दै एक भयौं ! आज बिहेको तेस्रो वर्ष ! आमाका सपनाहरु पूरा हुदैछन् !एउटा नाति दिएकी छिन् मेरी श्रीमतीले ! बिहान-बेलुका घरमै बसेर घरको काम गर्छिन् अनि दिउँसो जागिर खान पनि जान्छिन् सरकारी स्कूलमा शिक्षिका हुन् उनी ! आमा दिनभरि त्यही नातिसँग हुन्छिन् ! म मेरो आफ्नै जागिर गर्छु ! छोरो पनि हुर्किँदैछ ! आमा पनि प्रसन्न छिन् बुहारीको परिवर्तन देखेर ! आज हाम्रो घर खुशीको फूलबारी,उमंगको बगैंचा अनि रमाइलोको मेला भएको छ !