आमाको विलाप
जलन भण्डारी
एडिलेड, अष्ट्रेलिया
निरुत्तर ती ओठहरु,
मौन ती आँखीभौंहरु,
चञ्चल ती भावनाहरु,
चुपचाप ती विवादहरु !
चलाऊ ती ओठ केही छिनलाई,
चम्काऊ ती आँखिभौंहरुलाई,
सञ्चाल ती भावनाहरुलाई,
चलाऊ ती विवादहरुलाई !
विशाल अतीतलाई कल्पिएर,
झर्छ आँसु थोपा नअल्झिएर,
रमाइलो विगतलाई अल्पेर,
तिमि किन गयौ ढल्केर ?
मेरा प्रश्नको उत्तर नपाउँदा,
मौन ती ओठहरु नचल्दा,
विषाक्त विगतले घेरी दिन्छ,
यो जीवनलाई अन्धकारले बेरी दिन्छ !
धेरै परिश्रम गरें मैले,
केवल आफैं जिउनलाई,
धेरै प्यार दिएँ मैले,
केवल प्यार पाउनलाई !
धेरै माया गरें मैले,
केवल माया पाउनलाई,
धेरै निरुत्तर रहें म,
केवल निर्दोष रहनलाई !
धेरै कम्ति लिएँ मैले,
केवल धेरै दिनलाई,
धेरै कम्ति खाएँ मैले,
केवल धेरै जोगाउनलाई !
दोबाटोहरुमा ढुकी रहें,
केवल हतास हुनलाई,
त्येसैले आज निष्फल बनें,
केवल रित्तो हुनलाई !
भग्नावाशेष विगतको सम्झनाले,
र अतीतको कल्पनाले,
नाश हुन्छ मेरो आँसुको,
धड्कन बढ्छ मेरो मुटुको !
गयौ किन जान्छु नभनी,
एक फेर पनि दर्शन नगरी,
मेरो भन्नु नै को छ र,
तिमीहरु सबै छौ पर पर !
दशधाराको मूल्य के हो ?
बुझ है नानी तिमी त्यो,
जब एक शिशुको जन्म हुन्छ,
तब एउटी आमा पूर्ण हुन्छे !
ए–भोक, एक–शोक, एकपन,
हुन्नथ्यो तब किन एक मन ?
लौ हेर यहाँ मेरो एक्लोपन,
जल्दैछ जलेझैं विशाल वन !
उदाश–उदाश छ यो मन,
काँडासरि छ यो मन,
पतझडसरि छ यो पन,
तब त ज्वालो भएछ पन !
तिम्रो अमर प्रेमको निम्ति,
केवल म रोइदिन्छु,
तिम्रो साहसीपनको निम्ति,
केवल म धन्य हुन्छु !
तिम्रो भाग्यको निम्ति,
केवल म धिक्कारिन्छु,
तिम्रो पलायनको निम्ति,
केवल म मर्माहत हुन्छु !
त्यो अमर प्रेमको निम्ति,
मेरो आँसु उपहार तिमीलाई,
तिम्रो साहसीपनको निम्ति,
मेरो धन्यवाद उपहार तिमीलाई !
त्यो तिम्रो भाग्यको निम्ति,
धिक्कार छ तिमीलाई उपहार,
तिम्रो पलायनको निम्ति,
मेरो मृत्यु तिमीलाई उपहार !
मृत्यु एक सपना हो भने,
म त एक ज्यूँदो लाश हुँ,
मृत्यु एक धुवाँ हो भने,
म त जलिसकेको खरानी हुँ !