आमा को दुखेसो
खगेन्द्र गौतम
क्युबेक, क्यानाडा
खै ! कहाँ गयौ तिमीहरु, कहिल्यै नफर्कने गरी ?
आमा रुवाएर हिँड्नेहरु, दुःख त पक्कै भयो होला!
सुनेको थिएँ,पाहुना लागेको पहिलो दिन नै
तिम्रोपाखुरी सिराने थिए रे,
अनि खुला धर्तीलाई ओछ्यान बनाई
आकाशे छानामा टल्केका तारा गन्दै थियौ रे ?
मेरा सन्तानहरु कहिल्यै फर्केनन् –
संसार चुक घोप्ट्याएजस्तो अन्धकार भयो-
धर्ती अनि आकाश अन्धकारमा विलीन भए –
निभ्न लागेको दीयो जस्तो
यी आँखाहरु धिपधिप गरिरहे
तर तिमीहरु कहिल्यै आएनौ !
तिमीहरुको सम्झना;
सिमसिमे पानी पछि लागेको
सप्तरंगी इन्द्रेणीका रंगहरुमा,
कहिले चम्कीलो त कहिले मधुरो मुस्कान बनेर
आँखाभरि झुलिरह्यो, मुटुभरि फुली नै रह्यो-
तर तिमीहरु कहिल्यै आएनौ –
तिमीहरुको मुस्कान;
यी बादल लागी ज्योति गुम्दै गएका आँखाहरुमा,
टिलपिल आँसु बनी बसिरह्यो –
अनि आँसुको भेल छातीभरि पोखियो,
मुटुभरी पोखियो -तर तिमीहरु कहिल्यै आएनौ !
तिमीहरुले छुट्ने बेलामा ,
झिलिमिली फुलबनेर-
तिम्रै वरिपरी फुली दिउँला भनेको होइन ?
फुल्न नसके कोपिला भै तिम्रै छेउमा बसौंला भनेको होइन?
तर खोई ? बरु तिम्रा आँखाभरि आँसु बनेर,
छातीभरि पोखिउँला भनेको भए हुने थियो !
दश धारा दूध चुसाएर हिमालय बनाउने,
अनि त्यसकै फेदीमा बसी धित मरुन्जेल
तिम्रो शिर हेरिरहने मेरो सपना कहिल्यै पुरा भएन !
सक्छौ भने, अन्तिम गाँस त्यहाँ खाएर यहाँ चुठ्न आऊ!
म तिम्रा लागि हजार जुनी बाँचुंला !