आमा र तस्बिरहरू
‘क्षितिजको मित्र’ प्रकाश धमला
अस्ट्रेलिया
पहिले पहिले मेरी आमा
थालभरि ममताका राता अक्क्षा
आस्थाका फूलपाती
निश्चलताका अम्खोरा बोकेर
मन्दिर धाउनुहुन्थ्यो
र
हरेक बिहानी शिला पुज्नु हुन्थ्यो
सायद आमालाई ढुङ्गा भगवान् भनी सारै विश्वास थियो ।
म देखिरहन्थेँ पूजा कोठाको दायाँपट्टि
एक निर्जीव तस्बिर
एक अपुरो तस्बिर
एक अपूर्ण तस्बिर
आमा
उही तस्बिर छुनुहुन्थ्यो
र भन्नु हुन्थ्यो-
“नानी मन्दिरमा बाबाको दीर्घायुको कामना गरिर’छु
तिम्रो प्रगतिको कामना गरिर’छु
बहिनीको सफलताको कामना गरिर’छु ”
फेरी छुनु हुन्थ्यो तस्बिर र भन्नुहुन्थ्यो-
“हामी सबैको कामना यिनले पुरा गरिबक्संछन”
सायद आमा महाराजालाई विष्णुको अवतार मान्नुहुन्थ्यो ।
पोहोर सालको आगलागीमा घर जल्यो
लुगाफाटा जले
बाख्रापाठा जले
भगवान् कृष्ण, भगवान् राम, लक्ष्मी, सीता
सरस्वती माताको तस्बिर पनि जले
यति मात्र होइन
मेरी आमाको सौभाग्य पनि जलेछ
तर आमाले जतन गरी राखेको उही तस्बिर
जल्नबाट बँचेछ
आमासँग अहिले उही तस्बिर छ
अलि फाटे जस्तो
अलि दोब्रे जस्तो
अलि पुरानो जस्तो
तर चिनिने जस्तो ।
मेरी आमा तस्बिर हेर्दै अतीत सम्झेँ भन्नुहुन्छ
मेरो पुरानो घाउ सम्झेँ भन्नुहुन्छ
साँच्चै
एउटा कहालीलाग्दो इतिहास सम्झेँ भन्नुहुन्छ
मेरी आमा यो समय
तस्बिर सार्वजनिकरणको पक्ष लाग्नु भा’छ
फोटोकापी गरी
बाटा बाटामा तस्बिर छर्नु भा’छ
रुख रुखमा तस्बिर झुन्डेउनु भा’ छ
खोला नालामा बगाउनु व्यस्त हुनुहुन्छ
अनि बर्बराउनु हुन्छ कि
“म तस्बिर को सामूहिक हत्यामा छु।”
तर तस्बिर रुख रुखबाट हराउँदै छन्
खोला नालाबाट बट्टूलिदैछन्
बाटा बाटाबाट समलिदैछ्न्
छिमेकी दाइ तस्बिरको खोजीमा व्यस्त छन्
ओरिगिनल कापीको बार्गेनिंग गरी राछ
म्युजियममा राख्नु पर्छ भनी राछ
डिमोग्राफिक इम्ब्ल्यान्सको प्रसङ्ग उठाई राछ
आमा मौन हुनुहुन्छ
नि:शब्द हुनुहुन्छ
आमा ऐतिहासिक स्तम्भ झैँ एकोहोरो हुनुहुन्छ
सायद आमा स्तम्भ नै हुनुपर्छ
इतिहासको
अतीतको
पीडाको
अनि ब्रिहंगनाको ।
म पहिले पहिले जस्तो देखिराछु सबै सबै
तर आमामा किन किन सधैँसधैँ
तस्बिरको जस्तो शालिनता पाउँदिन
आमा र तस्बिर किन हो किन
म सतप्रतिसत फरक पाउँदैछु ।