आमा
इन्दिरा घिमिरे / एक्रोन-अमेरिका
सृष्टिस्वरूपा हौ तिमी विश्वकी जननी
पुकार्छु म हे आमा हौ ममताकी खानी ।
पीर-व्यथा खपी सारा हुर्कायौ काखमा
प्यार दियौ आमा बढायौ मलाई साथमा ।।
ढाडमा बोकेर भारी, चुसायौ स्तन स्नेहले
राखिनौ थलमा आमा हुर्कायौ अति प्रेमले ।
“नानी”,“नानी” डाक्यौ बुबु माम देखाएर
खुवायौ लीटो मलाई आफ्नो पेट सुकाएर ।।
झरी बादल खडेरीमा मेरै निम्ति डट्यौ कति
छोरी मेरी भनी भोकै मेरै निम्ति लड्यौ कति ।
चिनायौ संसारमा मलाई वसन्तझैं हराभरा
सुनायौ ज्ञानका शब्द मेरी आमा कठैबरा !!
आस्थाकी प्रतीक हौ आमा प्रेमकी धरोहर अनि
सारा तीर्थ तिमी मेरो लागि सागर-सरोवर पनि ।
तिमी प्रेम गुणले भरिएकी सागरकी मोति हौ
तिमी न्यानो स्नेह दिलाउने सूर्यकी ज्योति हौ ।।
आमा तिमी धर्ती आकाश, मेरो लागि प्रकाश
तिमी नै मेरो सारा जीवनको अर्थ र विश्वास !
आमा तिम्रै सामु झुकीकन पूजा गर्न पाउँ
आमा युगौंयुगसम्म तिम्रै शरण पर्न पाउँ !!
(मै १६ को दिन अमेरिकाको क्लिभल्याण्डमा आयोजित ‘श्रष्टा संगम’ कार्यक्रममा वाचित कविता)