आमा

दुर्गाप्रसाद रिमाल
अल्बेरी, अष्ट्रेलिया

हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ
मलाई हेरेर,
आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ
मलाई नै हेरेर,
तिमीमा खास परिवर्तन केही भेट्दिन,
तिमीमा खास निराशपन केही देख्दिन ।
लाग्छ,
तिमी सयौँ वर्षदेखि हिलोमा रोपिएकी कमल फ़ुल हौ,
दु:खको फोहोरमा हुर्केर
सुन्दर सन्तानहरू फुलाउने
सुखको वृक्षहरू वरिपरि उमारेर
आफू बिचमा धर्ती थाम्ने ।

हिजो मलाई,
काखमा सजाएर मेरै निम्ति हाँस्थ्यौ,
आज यो बुढेसकालमा पनि
मेरै लागि हासीँरहेकी छौ।
त्यो बेला
तिम्रो जवानीमा तिमी हाँस्दा
तिम्रा लहरै लागेका सेता दाँतहरू
बिहानी पख हिमालमा सजिने हिउँ जस्तै टल्किरहन्थे ।
आज
तिम्रा दाँतहरूका बिचमा प्वालहरू देखिन्छन्
त्यो हिमालको सेतो हिउँ टल्कँदैन
अहिले हिउँ पन्सिएको सग्लो हिमाल झैँ देखिन्छौ
तिमी ऊ-बेला पनि हिमाल थियौ
तर कसैले बुझेन
आज पनि त्यही हिमाल हौँ
फरक यति हो
आज तिमीबाट जवानीका हिउँहरू पग्लि सकेका छन्
सुन्दरताको भग्नावशेष भत्कि सकेको छ
ओठको लाली उडी सकेको छ ।
तर
मलाई हिउँ बिनाकै सिङ्गो हिमाल
मेरै सामुन्ने उभिएको मन पर्छ
यो हिमालको छाँयामा रम्ने रहर अझै मरेको छैन
यो हिमालको काखमा निदाउने रहर अझै मरेको छैन
ती नदेखेका देवता भन्दा
तिमी दुई कदम माथि छौ
खै ! उनीहरूले के गरे?
तिमीले त संसारको श्रृष्टि गरेकी छौ
मेरै लागि हिम्मत जुटाएर
आफ्नो बैँस रित्याएर
खुसी भर्ने आसमा बाचिरहेकी छौ
अझ पनि सन्तानकै लागि हासिँरह्की छौ
त्यसैले त
आमा !
तिमी नै छौ सबै भन्दा जाति ।
तिमी नै छौ सबै भन्दा माथि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *