आशा अझै बाँकी नै छ
डिल्लीराम शर्मा आचार्य
नर्वे
सपना झैँ बर्बराइरहेका छन् दिन र रातहरु
मेरै देश र पुर्खाका गाथाहरु समेटेर
आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन्
इतिहासका ती काला रातहरुसँग
पारि डाँडामा डुव्न लागेका सूर्य झैँ
अर्थहीन जीवनसँग गाँसिएको तितो इतिहासको दोसाँधमा
घडीको प्रतीक्षा गर्दै जीवन परीक्षामा घोलिरहेका छन् ।
हामीले आँखा चिम्लिसकेका छैनौँ
आशाहरु बाँकी नै छन्
रेर छिर्ने गोरेटो न हो केवल त्यो
वीरहरुले आँखा खोलेका दिन
धमिलो पानीमा माछा मार्नेहरुका निम्ति
अनि राजा स्वयम् बौलाउँदा
हामी चेतशुन्य थिएनौं, तर विडम्बना
त्यति बेला राँचीका पागलखानाहरु
भारतका मन्त्री महोदयले भरिसकेका थिए ।
यति मात्र फरक छ विद्वानहरु बौलाए सिर्जना गर्छन्
शासक बौलाएपछि जनताको खून प्यूँछन्
अनि मतान्धो भएर जनता लखेट्छन् ।
जबजब म स्तव्ध हुन्छु अनि म यी दुवैथरीलाई देख्छु
सर्जकहरु आकाशमा उडिरहेका हुन्छन्
बादलसँग मिसिएर
अनि गुन्गुनाइरहेका हुन्छन् तिनै सिर्जनाहरुमा
शासकहरु भने जनताका आँसु र रगतका पिण्डहरु बटुलेर
राँगामा चडी दक्षिण दिशा–
उही पागलखानामा पुग्छन् मिसिएर पिसिएर ।
टाई बाँध्नेहरु अधिकारका पोका बोकेर
घरघरमा पुर्याई दिने तर्खर गरिरहेका छन्
तर विडम्बना–
जहाँ मान्छेले मान्छेलाई नै चिन्दैनन्
आत्मा अनि परमात्माको पूजा हुँदैन
अनि मर्नु अघि एकफेरा बौलाउँछन्
तिनै मानव पिंजडाभित्र कुँजिएर ।