इतिहास मोडिन सक्छ

खगेन्द्र गौतम
क्यानडा

मानस, धनसिरी, टिस्टा ,सप्तकोसी
र मिसिसिप्पी हुँदै
नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श
लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि
मेरो गन्तव्य अनिश्चित नै छ।

जीवनले भोगेका अनगिन्ती खुसी/पीडा
यी नयनले देखेका आधुनिकताका यान्त्रिक उपजहरू
मानवीयतामा देखिने भिन्न आचरण
यिनै त हुन यात्राका साथीहरू।
यी सबैलाई एकै लाम लगाउॅंदा पनि
गन्तव्यसम्म पुग्न निकै लामो दुरी पार गर्नु छ।

अझै कहॉं कहॉंसम्म बग्नु पर्ने हो?
कहिलेसम्म दगुर्नु पर्ने हो?
कहिलेसम्म लेखिनु पर्ने हो..
यो अपुरो कथा?
अनि कसले लगाउला
अन्तिम बिन्दु त्यो हाम्रो कथा समेटिएको
अन्तिम वाक्यमा?
म चाहन्छु, हाम्रो कथा बदलिनु पर्छ
किनकि
यहाँ परिवेश बदलिएको छ
समय बदलिएको छ।

इतिहास मोडिन सक्छ
जातीय पहिचानकालागि
भावी सन्तति अलमलिन सक्छ
त्यसैले म चाहन्छु
तिम्रो कलमले एउटा दस्ताबेज तयार पारोस्
जहाँ हाम्रो इतिहासले जीवन्त रूप पाओस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *