इर्श्या
डिल्लीराम रेग्मी
ओहाइयो, अमेरिका
मैले सुन्न नचाहेको
सुनेरै पनि
नसुने झैँ नाटक गर्न चाहेको
तिमीले मेरा लागि
परैबाट दिएको मेरो बयान
बुझेरै पनि बुझ्न नचाहेको।
मलाई थाहा छ
तिमी मेरो मानवतालाई धान निफने झैँ
सिङ्गो नाङ्गलामा पट्याँस पट्याँस निफन्न चाहन्छौ
पानीमा मिसिएको दूध छुट्याउने
असफल प्रयास झैँ
मेरो अस्तित्वलाई मैदेखि छुट्याउन चाहन्छौ
थाहा छ?
सुन्छु तिमी
सैयौँ भेला भएको गोष्ठीमा
मेरो नामलाई अर्धनग्न बनाउने
कोसिस गर्छौ रे
मेरो उपस्थितिको घोर विरोध गर्छौ रे
सडक-सडकमा गल्ली-गल्लीमा
मेरै उपनामहरुको खिल्ली उडाउदै हिँड्छौ रे!
तिमीलाई धेरै धन्यवाद छ
मेरो व्यवसायका पर्चाहरु
निःशुल्क बाँडिदिएका छौ
मेरै नामका भिजिटिङ कार्डहरु
सित्तैमा बेचिदिएका छौ
सायद तिम्रै कारण मेरो बढुवा भयो
देख्दै छु मेरो घर अगाडिको बाटोमा
कालोपत्र पोत्दैछ आज।
मैले भनेकै थिएँ
सुन्तलाको बोटमा सुन्तला ढकमक्क फलेझैं
ख्याती फल्दैन
बडरको रुखमा
सफलता राताम्यै पाक्दैन
कोसिस र धैर्यलाई
कहिल्यै अंगालेनौ तिमीले
त्यागेनौ कहिल्यै रिस र बैभवलाई
एकलकाँटे बन्न पुग्यौ परिणाममा।
मैले नबोलाएको हैन तिमीलाई
सुन्ने कोसिस नै कहाँ गर्यौ र?
नपर्खेको हैन तिमीलाई
मेरो पर्खाईलाई महत्व नै कहाँ दियौ र?
मेरो अपमान भयो भन्दै
बजारमा ढोल पिट्यौ रे
सडक चक्काजाम गर्ने धम्की दियौ रे
मेरो आग्रहलाई अपमानको उपनाम दिँदै
ताजा खबर
मेरै नाममा प्रसारण गर्यौ रे
तिम्रो जलनको तातो ज्वालाले
तिमी आफैँलाई जलायो
सुनेर म त दुखित् नै थिँए।
सक्छौ भने
अझै पनि खेर गएको छैन समय
हातेमालो गरी एउटै बाटो हिडौँ
एउटै सगरमाथा चुम्न
गन्तब्यलाई सरल बनाऊ
आखिर हामी सबैको नशामा
उही मानवतारुपी रगत नै त छ बगेको………