ईख विहीन मान्छे
नविन प्रभात
क्यानाडा
कति लेखेँ, आखिर लेखेर
कसले पो पढ्छ र
कसले पो मनन गर्छ र
उसको निर्धक्कताको वर्णन
उसको आत्मबलको व्याख्या
अनि उसको सरम
विहीन अभिव्यक्ति I
उसमा आज भोलि एक
किसिमको आत्मबल बडेको छ
उ निर्धक्क सङ भन्ने गर्छ
हो म विपक्षमा थिए
म विरोधमा थिए
मलाई मन परेको थिएन
मलाई कुनै चाहना नै थिएन
म असहयोग गर्थे
म सिर्फ बहाना बनाउँथे
मलाई लोकाचार
राम्रोसँग थाहा थियो
मलाई अन्धाको देशमा
अनि लङ्गडाको देशमा
कस्तो नाटक गर्नुपर्छ भनेर !
त्यसैले मैले सोही
अनुसार आफूलाई नचाएँ
उ प्रस्टसँग भन्न सक्छ आज
प्रस्ट वक्ता भएको छ आज
अनि फेसबुकमा बहसहरूमा
निचोरिँदै ,निमोठिँदै आउँछ
र लेख्ने गर्छ निर्धक्क
आहा कस्तो आत्मबल उसको !
हो म उही मानिसको कुरा गर्दै छु
उसको चरित्रको कुरा गर्दै छु
जलाइ दुखेको थिएन
जसको चीत्कार सुन्ने कान थिएनन्
जसले आफ्नै सन्तानका लास
खेतहरूमा देखेको थिएन
जसलाई बलात्कृत चेलीहरूका
नाङ्गा शरीर हेर्न
कुनै अपसोच थिएन
जसले निमुखाहरूका
शरीरका चोट हेर्न
मज्जाले सक्थ्यो I
उसलाई अनाहकमा जेलमा
कोचिएका आफ्ना दाजु-भाइमाथि
गरिएको क्रूरता प्रति
कुनै गुनासो थिएन
बरु उ त खुच्चिङ मार्थ्यो
अनि भन्ने गर्थ्यो
मुलाहरू लु गर आन्दोलन
खायौ होइन ?
हो म उहीँ विद्वानको कुरा गर्दै छु
कुरा गर्दै छु जो स्वदेश फिर्ती विरोधी थियो
न्यायको विपक्षी थियो
स्वतन्त्रता विरोधी थियो
जसलाई माटो चाहिएको थिएन
जसलाई बाटो चाहिएको थिएन
जसलाई खुन र पसिनाले
सिचिएको आफ्नो जमिन
चाहिएको थिएन
अनि जसको इख थिएन, रिस थिएन ।
उसले प्रत्येक अभियानको विरोध गर्यो
कयौँ पटक भाँजी हाल्यो
पचास माथिका बुवाहरूले
चलाएको सत्याग्रह
अनि मेची पुलको धर्नामा
अल्लारेहरूको भिड जम्मा गर्यो
र उपद्रो गर्न खोज्यो !
आज उ खुलेर भन्छ
मूर्खहरू अझै नर्कैमै छन्
भुटान जान्छु पो भन्छन्
यत्राको भुटान !
बस कुहिएर
स्वर्ग आउन छोडेर
भोटेको देश
जान तातिएका मूर्खहरू !
सायद उसले नसोचेको
स्वर्ग पाएर होला
दुई छाकको लागि
भौँतारिने उ आज
दिनमा दस पटक खान्छ
कयौँ वर्ष नफेरिएका
लुगा उ दैनिक फेर्छ
चाडबाडमा मात्र खान पाएको मासु
आज प्रशस्त भएर होला ,
उकलाइ हिजो पनि दुखेन
अस्ति पनि दुखेन
अनि भोलिको त झन् के चिन्ता !
हो म उहीँ वरिष्ठको कुरा गर्दै छु ,
जो पुनर्वासपछि
अत्यन्तै खुसी छ
अति नै फुर्किएको छ
उसले लाउन पायो
उसले खान पायो
उसले आफ्नै गाडी चढ्न पायो
त्यसैले त उसको भुइँमा
खुट्टा छैनन् आज
देश भन्ने , भेष भन्ने ,
भाषा र साहित्य भन्ने
इतिहास भन्ने सहिद भन्ने
सबै मूर्ख मानिन्छन्
उसको नजरमा
उसको परिभाषाले
यस्तै यस्तै भन्छ
अनि निर्धक्क भन्छ
म स्वदेश फिर्तीको
विरोधी थिएँ
मलाई माटो चाहिएको थिएन ,
बाटो चाहिएको थिएन ।