ईश्वर

हरिप्रसाद निरौला
पी ए ,अमेरिका

अनुष्टुप छन्द
मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता
सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा
योगी साधक सर्वस्व साध्य पनि ति हुन् स्वतः
सुनी कैलै नसक्कीने कृष्ण लीला छ अद्भुत ॥

तिमी माता तिमी नै हौ पिता सखा गुरु पनि
दाजु दीदी र वैनी सब् हौ तिमी ईश्वरै पनि ॥
हाँगा पात र फूलै हौ सिङ्गो वृक्ष तिमी स्वत:
सुनी कैलै नसक्कीने कृष्ण लीला छ अद्भुत ॥

माटो हौ अनि तिमी हौ ढुंगा कंकण पत्थर
सर्वत्र छौ तिमी एकै विश्व ब्याप्त चराचर ॥
देख्ने नेत्र हुँदा ईश कण्-कण् मा छौ तिमी स्वत:
सुनी कैलै नसक्कीने कृष्ण लीला छ अद्भुत ॥

ज्ञान विज्ञान हौ एकै साध्य-साधक हौ तिमी
साधु साधकका पुञ्ज हौ तिमी दिव्य सद्गुणी ॥
नदी नाला लता वृक्ष हो सवै अंश ईश को
सुनी कैलै नसक्कीने कृष्ण लीला छ अद्भुत ॥

रामश्याम अनि कृष्ण हौ तिमी बलराम् पनि
लक्ष्मी सरस्वती सीता रुक्मिणी पार्वती पनि ॥
ब्रह्माविष्णु महेश् साथै हौ बुद्ध बटु वामन
आकाशमा रमण् गर्छौ वसी गरूढ आशन ॥

अद्भुत छन् प्रभुलीला अति मीठा र स्वादिला
मान्नेलाई सिरीखण्ड न मान्नेका त हौ शिला ॥
सम्पूर्ण धर्मशास्त्रै ती लेखिएका लिला स्वत:
सुनी कैलै नसक्कीने कृष्ण लीला छ अद्भुत ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *