ईश्वरसँग

एक्जाईल्ड भूट्निज्
बेल्डाँगी, झापा

पृथ्वीले
स्याउको जस्तो आकार
निकै पछि मात्रै पाएको हो,
उहिले त यो
रोटी जस्तै थियो, थाल जस्तै थियो ।

भर्खर भर्खरै हो
पृथ्वीले घामको परिक्रमा गर्न थालेको,
उहिले त
पृथ्वीको वरिपरि ‘रिङरोड’ थियो
२२० ‘सिसिको पल्सर’ चढेर कुनै तन्नेरी
तरुनी वरिपरि घुमे जसरी
घाम त्यही रिङरोडमा घुमिरहन्थ्यो
पृथ्वीलाई आँखा झिम्क्याउँदै ।

उहिले त
विश्वासले महसुस गर्थ्यो
विश्वासले नै सुन्थ्यो
हेर्थ्यो, सुँघ्थ्यो र स्वाद लिन्थ्यो
हो, उहिले त विश्वासकै राज थियो
तर हिजैबाट मात्रै
अकबरी सुनलाई कसी लगाउन थालियो र
विश्वासले पनि अब दसी जुटाउनु पर्ने भयो ।

अस्तिबाटै त हो
पृथ्वी गुरुत्वको बलमा अडिएको
उहिले त यसलाई
माछाले सकी नसकी बोकेर हिँडिरहेको थियो ।

तर आज, कसी लगाउनु पर्ने भएपछि
दसी जुटाउनु पर्ने भएपछि
उहिलेका यस्ता सबै निरीह विश्वासहरूले
मृत्युवरण गरेर समाइसकेका छन् घाटको बाटो
त, हे ईश्वर !
यस्तै विश्वासको त्यान्द्रोमा अडिएर तिमी चाहिँ
ह्याण्डपम्पको सहाराले कहिलेसम्म लिइरहन्छौ स्वस ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *