उखु

यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया 

न हाँगाहरू छन् मेरा
तिमीलाई ओत दिन
न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू
न छ मसँग तिम्रो अतृप्य वासनालाई
तृप्त तुल्याउने पराग नै
छैनन् मसँग तिम्रो भोक मेटाउने फलहरू,
कुन देवतालाई कुन फूल चल्छ
कुन देवतालाई कुन फल चड्छ भन्ने नजानेर नै
मैले फुल्न पनि जानिनँ
फल्न पनि जानिनँ
त्यसैले म चिनिन्न
यहाँ फल र त्यसको आकार
तथा परिमाण हेरेर वृक्ष चिनिन्छ
नचिनिनुमै मेरो अस्तित्व छ
चिन्नेहरूले त मलाई काट्छन् र चुस्छन्
कविताभित्र हराएको रस जस्तै
मसँग केवल छ
मभित्र लुकेको मधुर तरल वस्तु
जसको माधुर्यमा तिमी रम्न
मैले काटिनु, पिसिनु र चपाइनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *