उठ राजा
माया भट्टराई
अमेरिका
हे प्रजाका प्यारा राजा! उठ तिमी!
किन आलस्य भई बस्छौ सधैँ
तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे
कहाँकहाँ टाढा धेरै टाढा।
तिमी त कानमा कपास कोचेर बस्यौ
यही मौकामा तिम्रा भरौटेले जनता लखेटे,
तिमी त प्रिय राजा पो हौ त!
तर खोइ प्रजाको खोजी गरेको
त्यसैले उठ राजा! अब तिमी नसुत।
धेरै सुत्नुहुन्न!
उठेर संसारभर आफ्ना प्रजा खोज
तिमीलाई थाहा छ? तिम्रा हजुरबाले
कहाँकहाँ कुन कुन देशसँग मितेरी
लगाउँदै प्रजा किनेर ल्याएका हुन् र
यी प्रजाका कति प्रिय बनेका थिए? तर मरिहाले,
अनि उनले ल्याएका प्रिय प्रजा पनि लखेटिए,
त्यो बेला तिमी कानमा कपास
कोचेर अटेरी भई बसेका थियौ,
तर आज….
विश्वभरि ओझेलिएको तिम्रो देश,
आज यिनै लखेटिएका जनताले
संसारभर छरिएर तिम्रो देशको छवि
संसारभरि चम्काउँदै तिम्रै देशको गुणगान गाउँदै छन्
त्यसैले अब उठ राजा!
कानमा कपास कोचेर नबस!
तिमीले त तिम्रा हजुरबाको बिडो थाम्नुपर्छ,
आज संसारभरबाट तिम्रा देशमा
बैरी नजर लाग्न दिएका छैनन्,
तिम्रो देश बचाउन आफैँ मरिरहेकाछन्,
त्यसैले तिमी उठ राजा,
कानमा कपास कोचेर नबस,
तिमीले तिम्रा हजुरबाको बिडो थाम्नुपर्छ,
त्यसैले अब उठ! संसारभर नजर डुलाऊ!
र हेर आफ्ना प्रिय प्रजालाई
र बन प्रिय प्रजाका प्रिय राजा,
उठ राजा! तिमी छिट्टो उठ!