उल्लासमय नयाँ वर्ष

गंगाराम रिजाल
टेनिसी,अमेरिका

हावा चल्दछ मन्द मन्दगतिले आकाश नीलो हुँदै !
नाचे पंछी मयूर बागभरिनै छम् छम् गरि उफ्रँदै॥
गर्छन् सुन्दर भावले नयनका संकेतमा स्वागत।
आयो वर्षनयाँ गरौँ सबमिली उद्योग नै हिम्मत॥

मीठो तान भरेर कोयली कुहू गर्दै सुनिन्छन् वन ।
भाका न्याउलको अथाह गहिरो पग्लिगयो झन् मन॥
हिँड्छन् लस्कर साथमा मृगहरू नाचे मयूरै पनि ॥
लेखौँ के प्रकृति मसक्दिन सबै छन् धन्य धेरैअनि ॥

मौरी भुन् भुन बागमा पुतलीले पंखा चलाईघुमे।
छानी छानी पिए सबै महजति त्यो फूललाई चुमे ।।
गाउँ खेतभरी किसान सबका बालीनिकै सप्रिने !
देख्छु मस्त सबै उमंगमयले सौभाग्यले भर्दिने ॥

पंछी भुर्र उडेर माथि रूखमा आफ्नै बनाए घर ।
अर्कालेपनि प्वाल पार्छ विचरो सानैछ केहो थर॥
पत्ता घाँस दुवो टिपेर खिरिला पारे गुँडै सुन्दर।
आशानै दरिलो रहेछ पृथिवी नौला बनिन्छन् घर !!

खेती गर्न किसान हर्षमनमा रोपेर बालीहरू ।
गर्दैछन् सबउद्यमी नगरका गाउँघरैका अरू ॥
अग्लायुग्म विशाल राजभवन निर्माणमा तल्लिन ।
लागे जुट्नसबै ती उद्यमीहरू सन्देश राम्रो दिन॥

पारिजात र बाबरी मखमली बेली चमेली कतै॥
फुल्छन् बोटभरी सुगन्धमयका रङ्गी बिरङ्गी सबै॥
फक्रिन्छन् सयपत्रि हाँसीबहुतै यो धर्तीमा स्वागत।
गर्छन् दिब्य वशन्तमा मनभरी यो धर्तीको इज्जत॥

नेपालीहरूको वशन्त ऋतुयो वैशाख नौलोबनी ।
आयो है सपना सजाई मनमा केहुन्छ होला भनी॥
सारा विश्वभरी दिदी र बहिनी छन् दाजुभाई सब।
संझिन्छन् जब हर्षले हृदयमा फिर्दा वशन्तै जब॥

लेखेँ गद्गदभै यिनै प्रकृतिका यात्रा सुनौला दिन।
उर्लियो खहरेसरि मकनता संवेगले यो किन॥
देखेँ झट्ट अगाडी कल्कल नदी त्योरङ्ग नीलो सफा।
सारा विश्वभरी रमाउन सकुन् हाँसीखुसी सर्वदा॥

छन्दः- शार्दूलविक्रिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *