उ बेलाको म र यो बेलाको म

कवि
कवि

उमेश आचार्य
भर्मोन्ट, अमेरिका

उ बेला यस्तो समय थियो
जातिबेला पेट भर्न भोक खानु पर्थ्यो
प्यास मेट्न आँसु पिउनु पर्थ्यो
त्यो पनि रगत मिसिएको।
नुन किन्न पैसा सापटी माग्दा
महिनौँ-महिना पुग्ने गरी
मन नै अमिलो-नुनिलो पार्ने
मुरीका-मुरी वचनका उपहार दिन्थे
मेरी आमालाई
मेरा मनकारी छिमेकिहरु।
मानवतालाई तिलाञ्जली दिएर
लुट अनि झुटको पुच्छर हुने शुभ-कार्यमा
बा अलिकता छिटो हुन नसक्दा
बाछिटोलाई गर्ल्याम्म अङ्गालो हालेर
न्यानो निदाउने आशा राख्दै
आफ्नै हातको सिरानी लगाएर ढल्नु पर्थ्यो
धर्तिको खाट ओछ्याएर ।
कपुरी क खरायो ख पढाउँदै
दिदीले माथि आकाशमा देखाएर
जब आशिष दिनुहुन्थ्यो “तारा छुन सकेस्”
रित्तो पेटमा चट्यङ्ग पर्थ्यो
प्वाल परेको घरको छानोबाट
जिन्दगी यसरी वर्षिन्थ्यो कि मानौँ
उसलाई ममा भएको दुई-चार उत्साहका ज्वालाहरू निभाउनु छ
अनि मलाई ओस्सिएको सलाई बनाएर मिल्क्याउनु छ।
आफन्त भनौदाहरु दिनहुँ
सहयोगका बिउ रोप्थे मनको एउटा कुनामा
बादलामा
वर्षेनी हाम्रा सपनामा आगो लगाएर
हिउँद कटाउँथे
हामीलाई जाडो ताप्न बाध्य गराउँथे
अनि
थोरै रहेको हाँसो अनि खुसीको बाली उठाउँथे ।
दाइ दिनहुँ पसिनाको बिस्कुन फिजाएर
आफ्नो आयु बेच्नु हुन्थ्यो
एक दिन आमाको हाँसो खरिद गर्ने सपना बुनेर।
बाबा,
दम, निमोनिया र टाइफाइटसँग फाइट परे
फोक्सोको एक भाग मुन्साएर शान्त पार्नु हुन्थ्यो
चाडपर्वसँग युद्ध भए
खुसी अनि इज्जतको धुप चडाएर
देवी-देवता खुसी पार्नु हुन्थ्यो
हुँदाहुँदा अभाव र भोकसँगको युद्धमा
अभावहरुले मृत्‍युको मुक्का यसरी हिर्काएछन् कि
कहिल्यै नब्युँझिने गरी निदाउनु भएको थियो बा
परिवरको खुसीका लागि ।
त्यही दिन हो
खडेरीले खाएको रुखो खेतजस्तो
सुख्खा-सुख्खा आमाको मुहारमा
जूनको ज्योति टपक्क टिपेर
उज्ज्यालोले भरिदिने प्रण गरी
जमिनझैँ चिरा-चिरा फुटेको आमाको भाग्य
इन्द्रेणी रङ्ग चोरेर सजाइदिने सपना बुनेर
दाइ परदेश हिँड्या थियो।
एक वर्ष नपुग्दै
दाइसँगै दाइका सपना
अनि मेरा जिम्मेवारीहरु बाकसमा भरिएर घर आएथे।
सम्झनाको तुइनबाट अलिकता वर
मेरा आँखा कोठाको एक कुनामा झुण्ड्याइराखेको
दाइको तस्बिरमा पुगेर ठ्यक्क अढिन्छन्
मिठो मुस्कानमा सजिएको दाइ
मलाई हाँसेरै जीवन काटेस् भन्दै गरेको भान हुन्छ
दाइको तस्बिर मास्तिर देख्छु
मेरा बाबाको फोक्सो जस्तै
प्वालै-प्वाल परेको बा’को कालो कोट ।
दाइको तस्बिर अनि बा’को कोट अङ्गालेर
आँसुको तलाउमा छप्ल्याङ्ग हाम फाल्छु
अनि आफैँलाई रित्याएर
आफैँलाई प्रश्न गर्छु
“कतै यो परदेशी जीवन स्वर्गियको पर्यायवाची त होइन?”

[कवि आचार्यले आफ्नो फेसबुक वालमा पोस्ट गरेको यो कविता कविको अनुमति लिएर यहाँ प्रकाशित गरिएकोछ – संपादक]

Leave a Reply

Your email address will not be published. Required fields are marked *