ऊ र म

माया भट्टराई
केन्टकी, ओहायो

जब साँझ पर्दै जान्छ,
म सोच्छु उसको बारेमा,
यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै
उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला,
अनि म एसएमएस (sms) गरेर उसलाई सोध्छु- के गर्नु हुँदैछ?
ऊ भन्छ- चिया पिउँदै छु,
म फेरि सोध्छु- कसले पकायो?
ऊ भन्छ-आमाले,
ऊ फेरि भन्छ- तिम्रो अभाव भो प्रिय यहाँ,
तिमी कहिले आउँछौ आफ्नो घरबार सम्झेर?
अब त आऊ प्रिय, म अब अझै कहिलेसम्म एक्लै बसौँ,
मेरो माया सम्झेर आऊ……..
म, म यी सब कुरा सुनेर बुझेरपनि ऊबाट टाढिएर एक्लै बस्न विवश छु,
म उसलाई ’म त्यस्बेला आउँछु’ पनि भन्न सक्दिन, किनकि मेरो विवशता,मेरो बाध्यता उसलाई थाहा छ,
तर किनकिन आजभोलि मलाई उसको सामिप्यताको अभाव भइरहेछ……….
यता मपनि जबजब रात ढल्दै जान्छ…..
उसको यादले पलपल सताउँछ मलाई,
मध्यरातमा सम्झन्छु, झस्कन्छु-
यतिबेला उसको गाउँमा दिउँसो छ,
ऊ यस्तो टन्टलापुर घाममा नुनिला पसिना पुछ्दै काम गरिरहेको होला,
मलाई आत्मग्लानि भइरहेछ, यसबेलापनि उसलाई साथ सहयोग दिन सकिनँ,
म विवश छु, तर मेरो मन सधैँ ऊसँगै हुन्छ,
हाम्रो सामिप्यता कति नजिकिएको छ, हामी एकार्कामा दुखसुख बाँड्छौँ,
हरेक कुराको अभावमा,अनेक दुखमापनि ऊ र म रमाइरहेका हुन्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *