एउटा आधा कथा
विशु निछा
अस्ट्रलिया
बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित अङ्ग्रेजी उपन्यासको आफूले पढ्दै गरेको पाना पल्टायो र पढ्न थाल्यो, दत्तचित्त भएर । अचेल ऊ कतै जाँदैन । एउटा पुस्तक पसलेको पुस्तक पसलमा काम गर्छ । ऊ त्यहाँ जान्छ। त्यसपछि आफूलाई चाहिने सरसौदा गर्न बजार जान्छ। त्यस बाहेक ऊ अन्त कतै जाँदैन । घरैमा पुस्तक पढेर बस्छ ।
पहिले ऊ जान्थ्यो । पुस्तकपसल र बजार बाहेक कहिले काहीँ ऊ बिम्लीकहाँ जान्थ्यो । ऊ बिम्लीलाई मन पराउँथ्यो । आफ्नो बनाउन चाहन्थ्यो । एकदिन ऊ हातमा एक गुच्छा रातो गुलाब बोकेर गएको थियो । त्यो भ्यालेन्टाइन-डे अर्थात् प्रेमदिवसको दिन थियो । बिम्लीले उसको प्रेम प्रस्ताव स्वीकार गर्नेछिन् । यही बिश्वासले भ्यालेन्टाइन डे-को शुभ साइत पारेर ऊ बिम्लीलाई प्रेम प्रस्ताव राख्न गएको थियो । तर…
…तर त्यसो भएन । उसले एक पत्र नझारी बडो सम्हालेर लगेको रातो गुलाबको गुच्छाले कुनै सार्थकता पाउन सकेन । बिम्लीले उसको हातबाट त्यो गुच्छा खोसी। भुइँमा पछारी । खुट्टाले बेस्सरी कुल्चिई र थुकी । गुलाब धुजाधुजा भयो । गुलाब होइन, उसको सपना, उसको भावना धुजाधुजा भयो ।
“तैँले मलाई के ठान्या छस्, हँ ?”- आग्नेय भएकी बिम्ली कड्किएकी थिई ।
“म तँलाई साँच्चै माया गर्छु, बिम्ली ?”- बिजुले बिम्लीको आँखामा आँखा जुधाएर भनेको थियो ।
“तँजस्ताको गुलाब मैले समाउनु ? आफूलाई ऐनामा हेर्या छस् के ?”- बिम्ली अझ उच्च स्वरमा चिच्याएकी थिई ।
उसको उच्च स्वर सुनेर फाट्टफुट्ट रमितेहरु भेला हुन थाले । मान्छेलाई अर्काको रमिता हेर्न मज्जा लाग्छ । यो मान्छेको औकातको एक पाटो हो ।
“माया गर्न ऐना हेर्न पर्छ र ?”- बिजुले प्रतिप्रश्न गरेको थियो ।
साँच्चै, माया गर्न ऐना हेर्न पर्दैन । माया गर्न मन चाहिन्छ। सफा, निस्छल, निस्कपट अनि सुन्दर मन । मन ऐनामा देखिँदैन । ऐनामा देखिने भनेको रुपमात्र हो। ऐनाले मन देखाउन सक्दैन। मन कुरुप छ भने ऐनामा देखिएको रुप फिका र निरर्थक सिवाय केही हुन सक्दैन ।
“कस्ताकस्ताहरु मलाई प्रपोज गर्न आए, पत्याइनँ। मेरा आँखा फुट्या छन् र तँजस्ता चुत्थोसँग जानलाई!”- बाक्लिँदै गएको रमितेहरुको भीड देखेर अझ उत्साहित बिम्लीले आफ्नो भाउ देखाउन खोज्दै भनेकी थिई । बिम्लीले यस्तो प्रतिक्रिया दिन्छेजस्तो बिजुलाई लागेको थिएन । प्रेम प्रस्ताव राखेकैमा ऊ यसरी बम्किन्छे र दुनियाँसामु यत्रो बबाल गर्छे, यो पनि उसले सोचेको थिएन ।
“म चुत्थो हुँ भने तँ पनि त कुनै स्वर्गकी परी होइनस नि ।”- बिजुले पनि मुखको स्वाद लिएको थियो ।
“मजस्तालाई पाउन तैँले फेरि जन्मेर आउनु पर्छ, बुझिस् ।”- रमितेहरुको अगाडि बडो शानका साथ बिम्लीले भनेकी थिई । सामाजिक रित अनुसार भीडमा कोही हाँस्दै थिए । कोही सिटी बजाउँदै थिए । कोही ताली पिट्दै थिए । बिजु भने चुपचाप बाटो लागेको थियो ।
बिजु पढ्दै गरेको पुस्तक सिरानीमा राखर चाउचाउ पकाउन थाल्यो । यस घरमा ऊ एक्लै हो । नितान्त एक्लै। उसलाई माया गर्ने आमा थिइन् , जो वर्षौँअघि ऊ सानै छँदा बितिन् । यो निष्ठुरी दुनियाँमा उसलाई नितान्त एक्लो छाडेर फेरि कहिले नआउने बाटो भएर उनी गइन्। आमा बितेपछि बाबुले कान्छीआमा ल्यायो। उसले कान्छीआमाबाट पनि आफ्नी आमाबाट पाएको मायाममता पाउने आशा गर्यो । तर पाउन सकेन । बरु नमिठो गाली र कुटाइ खानु उसको दैनिकी बन्यो । बाबू त पहिलेदेखिकै कठोर र निर्मम छँदै थियो । कान्छीआमाको होस्टेमा हैसे गरिहाल्थ्यो ।
घरमा मात्र होइन, स्कुलमा पनि ऊ गाली र कुटाइ खान्थ्यो, दिनहुँजसो । कहिले अबेर स्कुल पुगेको, कहिले मैलो ड्रेस लाएको, कहिले होमवर्क नगरेको त कहिले स्कुलबाट भागेको जस्ता विभिन्न निहुँमा सर, मिस र मेमहरुले उसका कोमल हात, पिठ्युँ र छेपारीमा छडी बर्साउँथे । आफूलाई असाध्यै आधुनिक पठित ठान्ने ती शिक्षक-शिक्षिकाहरुमा उसको घरको र उसको मानसिक अवस्था बुझ्ने क्षमता थिएन ।
ऊ त अझ यस्तो स्कुलमा पढ्थ्यो, जुन स्कुलमा विद्यार्थीहरु साइकल चडेर गए शिक्षक-शिक्षिकाहरु आफ्नो अपमान भएको ठान्दथे। र, साइकल चडेर जाने विद्यार्थीहरुको साइकल जफ्त गरिन्थ्यो । उनीहरूलाई सबैका सामु सख्त सजाय दिइन्थ्यो, साइकलमा स्कुल गएको निहुँमा । त्यसैगरी, प्रेम गर्ने विद्यार्थीका जोडीहरुलाई पनि खोजीखोजी सबैका सामु ल्याएर उभ्याइन्थ्यो र, भाटे कार्वाही गरिन्थ्यो । उनीहरूलाई औधी निर्ममतापूर्वक कुटिन्थ्यो । मलबाँसको मोटो भाटा धुजाधुजा हुन्थ्यो । अर्कोतिर, विद्यार्थीलाई कठोर भौतिक सजाय दिएर नैतिकताको पाठ सिकाउन लागिपरेका त्यही स्कुलका कयौं शिक्षकहरु भने छात्राहरुसँग कहिले ट्वाइलेटमा, कहिले बाँसघारीमा त कहिले केराको झ्याङतिर भेटिन्थे, अँध्यारोमा, अत्यन्त आपत्तिजनक अवस्थामा !
एकदिन ऊ भाग्यो । स्कुलबाट मात्र होइन, घरबाट नै भाग्यो । घरका बाबु र कान्छीआमा, स्कुलका सर, मिस र म्यामहरु उसलाई एकै लाग्यो । दुवै थरी क्रूर अनि निर्मम ! त्यसैले ऊ भाग्यो । हरायो । बेपत्ता भयो । ऊ कहाँ गयो, कता लाग्यो, कसैले खै गरेन । कसैले सोधेन। हुन पनि सोध्नेखोज्ने भनेको माया गर्नेले न हो । उसलाई माया गर्ने को नै थियो र! ऊ त ज्यान लिन खोज्नेहरुको भीडमा थियो, निरीह, एक्लो ! त्यसैले भाग्यो । त्यसरी भागेको ऊ आएन । निक्कै वर्ष आएन ।
तर, निक्कै वर्षपछि एकदिन ऊ आयो । आउँदा दाह्रीजुँघा लिएर आयो । गतिलो ज्यान र मोटो खल्ती लिएर आयो । यसरी आएको उसले बाबू र कान्छीआमा भेट्टाएन । झ्याउ र जंगलले पुर्नपुर्न लागेको घरमात्र भेट्टायो । ऊ फर्किआएको केही समयपछि शरणार्थी शिविरकी एउटी तरुनीसँग उसको चिनजान भयो । चिनजान भइसकेपछि भेटघाटको क्रम बड्यो । बड्दो भेटघाटको क्रमले उनीहरूबीच मायापिरती बस्यो । अनि उसले आफूले कमाई ल्याएको मोटो खल्ती खर्चिन थाल्यो । ऊ आफ्नी प्रेमिकालाई कहिले तारे होटेलतिर, कहिले सिनेमा देखाउन सिनेमा हलतिर लग्यो । फेरि कहिले भेडेटार, कहिले कन्यामतिर साथीको भट्भटे मागेर भए पनि घुमायो । महंगा र अत्याधुनिक डिजाइनका फेसनेबल लुगाकपडा पनि धमाधम किनिदियो । अन्ततः उसको खल्ती रित्तियो । खल्ती रित्तिएको थाहा पाएपछि प्रेमिकाले बडो प्रेमका साथ उसको कपोलमा मिठो म्वाई खाएर आफू विदेश जाने र उसलाई पनि उतैबाट पार्ट्नर भिजामा तान्ने कुरा गरी । उसलाई प्रेमिकाको यो कुरा प्रेमिकाको म्वाईजस्तै मिठो लाग्यो । उसले आफू विदेश पुगेको, महँगो कार किनेर वान-वेमा सरर हाँकेको जस्ता दिवास्वप्न देख्यो । ऊ अत्यन्त हर्षित भयो । फुरुक्क पर्यो । प्रेमिका विदेश हिँडी । काठमाडौं पुग्दासम्म बिछोडको पीडा सहन नसकेर फोनमा घ्वाँघ्वा रुँदै थिई। काठमाडौंबाट उडेपछि सम्पर्कविहीन भई । जाँदाजाँदै आधा बाटैमा हवाई जहाजबाट चिप्लिएर समुद्रमा झरी कि विदेश पुगेर कुनै भुस्तीघ्रेसँग पोइल गई, उसले कहिले केही थाहापत्तो पाउन सकेन ।
चन्द्रमा झैँ सुन्दर मुहार परेकी, जिरो फिगर भएकी फिलिमकी हिरोइनजस्ती त्यस धोकेबाज कुटिलालाई बिर्सिन उसलाई निक्कै समय लाग्यो। तर बिर्सेरै छाड्यो। त्यसपछि उसको मनमा प्रेमप्रति घृणा जाग्यो। एकदिन उसको भेट बिम्लीसँग भयो । बिम्लीसँग भेट भएपश्चात प्रेमप्रतिको उसको प्रेम पुनः एकपटक सजीव भएर आयो । तर त्यसपछि उसको जुन हाल भयो, त्यो तपाईंलाई अघि नै थाहा भइसकेको छ ।
पानी पनि पर्न थाल्यो। ऊ तात्तातो चाउचाउ खाएर ओछ्यानमा पस्यो । सिरानीको पुस्तक हातमा लिएर पढ्न थाल्यो । यतिकैमा बाहिरबाट कसैले ढोका ढकढकायो । यतिखेर को आयो होला ! ऊ विष्मयाधिबोधक भएर उठ्यो र ढोका खोल्यो । जसै ढोका खोल्यो, ढोका ढकढक्याउने मान्छे देखेर ऊ अझ छक्क पर्यो ! किनभने, ढोका ढकढक्याउने मान्छे बिम्ली थिई । पानीले सर्वाङ्ग निथ्रुक्क भिजेकी बिम्ली जाडोले थर्थर काँपिरहेकी थिई ।
“भित्र आउन दिन्छस् ?”- बिम्लीले सानो र कम्पित स्वरमा भनी ।
“मलाई दुनियाँको माझ बदनाम गर्ने तँलाई मेरो घरभित्र किन पस्नु पर्यो ?”- उसले यसो पो भन्नू पर्थ्यो कि !
तर त्यसो भनेन । अनेक कठोरताहरु सहँदै आउनु परे तापनि ऊ आफू त्यस्तो कठोर हुन सक्दैन । हुन चाहेर पनि हुन सक्दैन । सम्भवतः यो उसको कमजोरी हो कि ?
“पस् ।”- उसले भन्यो ।
बिम्ली जाडोले काँप्दै भित्र पसी र मुडामा बसी । उसको शरीरबाट पानी चुहिरहेको थियो ।
“कहाँबाट आइस् ? उसले सोधेन ।
“किन आइस् ?”- अहँ ! यो पनि उसले सोधेन ।
बिम्ली जाडोले काँपेको देखेर उसले बरु आफ्नो न्यानो लुगाहरु झिक्यो । प्यान्टी-ब्रा लाउने लिङ्गमा ऊ नपरेकोले ती कुरा ऊसँग थिएन । स्वेटर, पाइन्ट, मफ्लर र सर्ट बिम्लीलाई दियो । बिम्ली लुगा फेर्न थाली । बिम्लीले लुगा फेरिरहुन्जेलमा उसले चुलोमा आगो फुक्यो । सुकेका चिर्पट ल्याएर आगोमा हाल्यो । आगो मज्जाले दन्कियो । बिम्ली आगोनिर आएर बसी । आगो ताप्न थाली ।
“तँलाई भोक लागेको होला ?”- सोध्नु के खाँचो थियो र ? तर उसको मन मानेन । सोध्यो।
“लागेको छ ।”- बिम्लीले टीठलाग्दो स्वरमा भनी ।
“ला, आगो ताप्दै यो तातो दुधचिया खाँदै गर् ।आङ मज्जाले सेका । नत्र सर्दी लाग्छ ।”- उसले स्टिलको ठूलो गिलासमा बाक्लो दुध हालेको तातो चिया बिम्लीको हातमा थमाउँदै भन्यो । आफूले कुनै समयमा त्यतिबिघ्न तिरस्कार गरेको मान्छेले यत्रो मायालु ब्यवहार गरेको देख्दा बिम्लीको छातीभित्र भक्कानो फुट्न खोज्यो । पश्चातापको अग्निरापले नमज्जाले पोल्यो । बिजुले धमाधम दाल, भात, तरकारी, अचार सबथोक पकाई सक्यो । पाकेको खाना पस्काएर बिम्लीलाई खान दियो । साँच्चै भोकाएकी बिम्लीले मज्जाले खाई ।
“यो राती कता हिँडिस् एक्लै, त्यो पनि यस्तो पानीमा रुझेर ?”- अब भने बल्ल बिजुले सोध्यो ।
“तेरै घरमा आएकी ।”- बिम्लीले मन्दस्वरमा भनी ।
“के काम परो नि त्यस्तो ?”
“मेरो केटा सधै मातेर मेरै घरमा आएर निहुँ खोथ्यो । आज त ठूलै झगडा भो । मलाई कुट्यो पनि । मार्ने नै पो थियो कि ? तर म भागेर यहाँ आएँ । अब त्योसँग मेरो कुनै सम्बन्ध छैन ।”- बिम्लीले सत्य कुरा भनी । बिजुले प्रकट: नभने पनि मनमा अवश्य खुच्चिङ मच्चाउनु पर्थ्यो । तर उसले खुच्चिङ मच्चाएन । अँ, बिम्लीको कुरा सुनेर ऊ मौन भयो । गम्भीर अवश्य भयो। एकछिनपछि बिम्ली नै बोली ।
“बिजु, मैले त्यसदिन त्यतिका मान्छेको छेउमा तँलाई तथानाम भनेँ । तेरो साह्रै बदनाम गरेँ । तँलाई चोट पुर्याएँ । अहिले त्यसैको फल भोग्दैछु कि जस्तो लाग्छ।”- बिम्लीको आवाज केही भारी भयो ।
” चोट पाउनु र तिरस्कृत हुनु मेरो नियति नै बनेजस्तो छ । माया, ममता, न्यानोपन त मैले खै को-बाट नै पाएँ र! भो ! विगतहरु नकोट्या बिम्ली, छातीभित्र एकतमासले पोल्छ । साह्रै दुख्छ ।”- बिजुले यसै भन्यो । बिजुको कुरा सुनेर बिम्ली निक्कैबेर बोलिन । भुइँतिर हेरिरही । सायद उसलाई बिजुको कुराले निक्कै आहत पार्यो । बिजु पनि बोलेन ।
“मलाई माफ गर्दैनस् त?”- मौनता भङ्ग गर्दै बिम्लीले रसिला आँखा पारेर सोधी ।
“तँलाई भात पकाएर ख्वाइसकेँ । माफ गरेर त ख्वाएँ नि।”- बिजुले हाँसेको अभिनय गर्दै भन्यो ।
“बिजु, तँ ओठमा हाँसेर मनमा धेरै कुरा लुकाउँदैछस्। साँचो भन् न, मलाई माफी दिन्छस् ।”- बिम्लीको स्वर अझ भारी सुनियो ।
“ए ! बाबा, लु माफी दिएँ तँलाई । भो अब? चित्त बुझ्यो ?”- उसले हाँसेरै भन्यो ।
बिम्ली फेरि एकछिन मौन भई । त्यसपछि बिजुको हात समाई र मधुर स्वरमा भनी-“बिजु, म तँलाई माया गर्छु । म तँ-सँग बिहे गर्न चाहन्छु ।”
बिजु बोलेन । आफूले यति भनिसक्दा बिजु मुस्काउने छ । खुशीले उसको अनुहार चम्किलो हुनेछ । बिम्लीले यस्तै सोचेकी थिई । तर उसको कुरा सुनेर बिजु मुस्काएन । न खुशीले उसको अनुहार चम्किलो नै भयो ।
“म अचेल आफैमा रम्न थालेको छु । एकान्त अब मेरो आत्मीय बनेको छ । मेरो हरेक पीडालाई सधैसधै सुनिदिने यही एउटा एकान्तमात्र थियो र, छ । मेरो एकान्त नखोसिदे बिम्ली, मेरो बिन्ती छ ।” बिजुको कुरा सुनेर बिम्ली छक्क परी ।
“मसँग इत्रिँदैछस् तँ, होइन बिजु ?”- बिम्लीले बिजुको आँखामा आँखा गाडेर भनी ।
“होइन, साँचो भनेको हुँ ।”- बिजुको आवाजमा दृढता थियो ।
“हेर्दै जा, तेरो यो साँचोलाई एकदिन म झुठोमा बदल्ने छु ।”- बिम्लीले अठोट गरी ।
“तेरो समय यसै बर्बाद हुनेछ ।”- बिजुले उस्तै दृढ़तवरले भन्यो ।
अब बिम्ली आफू बसेको ठाँउबाट उठी । एकदिन बिजुको मन जितेर छाड्ने संकल्प मनभरि बोकेर अँध्यारोमा बिलाई । पढ्न भनेर ओछ्यानमा पल्टेको बिजु भुसुक्कै निदायो ।