एउटा नछापिएको भूमिका

शिवलाल दाहाल
केन्टकी, अमेरिका

भूमिकाको भूमिका
कवि लक्ष्मण रसाइलीसँग व्यक्तिगत रुपमा साक्षतकार भएको खासै सम्झना छैन । उनका पूर्वप्रकाशित दुईवटा कृतिहरु चाहिँ पढेको छु । गतसाल उनले नयाँ कविता कृति तयार परेछन् –मलाई नसुहाएको टोपी । त्यसका लागि मलाई भूमिका लेखिदिन धेरै पटक आग्रह गरे । अनेक व्यस्तताका बीच पनि उनको आग्रहलाई टार्न नसकेपछि, हुन्छ भन्नु पर्यो । उनले कृति चाडै निकाल्ने भनेपछि, मैले हतारमा एउटा भूमिका लेखिदिएँ । बिचमा भएका सम्वादहरुमा उनको कृति व्यक्तिगत लगानीमा काठमाडौँको मञ्जरी प्रकाशनबाट निकाल्ने सुनाए । गजबको कुरा कृतिले धेरै पाठक पाउने भयो भन्ने लाग्यो । त्यसमा नेपाली साहित्यको केन्द्रबाट प्रकाशन हुने कुराले मलाई गर्व लाग्यो ।
पछि कृति प्रकाशन भएपछि मैले एकप्रति मगाएँ । त्यसमा मलाई लेख्न लगाइएको भूमिका परेनछ । बीचमा भएका सम्वादहरुमा भूमिका नराख्न चाहेको बारेमा कहिल्यै कुरा गरेनन् । भूमिका राख्ने वा नराख्ने त लेखकको निजी कुरा होला तर आफैले लेख्न लगाएर, त्यसलाई इनकार गर्नु लेखकीय इमान्दारीता कि बेइमानी ? हुन त उनले चाहे जस्तो भूमिका भएन होला, त्यसतो राम्रो लेख्न म नसकौलाँ पनि । व्यक्तिगत लगानी गरेर कृति निकाल्नेलाई प्रकाशकले के कुरा अटाउँने के नअटाउने भन्ने नाकडोरी त नलाउनु पर्ने । जे होस् कृति प्रकाशन गरेर साहित्यको सेवामा लागेका कवि मित्रलाई शुभकामना सहित “मलाई नसुहाएको टोपीलाई” नसुहाएको भूमिका एकपटक पाठकहरु माझ लान चाहान्छु ।

हाँगाहरुमा पालुवा अल्झाउँदै आउने कविका नाउँमा –
कवि लक्ष्मण रसाइली कविका रुपमा करिव एक दशक अघि नै उदाएका हुन् । उनले भूलेको वेग संयुक्त कवितासंग्रह (सन्?) साथै गरिमा खण्डकाव्य (विसं २०६०) को समेत रचना गरेका छन् । यस पटक उनी अर्को एउटा कविता संग्रहका साथ पाठकहरु समक्ष प्रस्तुत् हुँदैछन् । सगरको बादल जस्तै थातथलो फेर्दै हिँडे पनि उनको कवितात्मक धरातल छुटेको छैन, टुटेको छैन ।

प्रेम सलिला बदन कलिला
अथक पथका ए पथिक !
छाल छरिता चाल चलिला
ए सागरका प्रिय अधिक !

सायद त्यो रुखो बादल होइन, काव्यरसयुक्त वर्षाले ओतप्रोत छ । जीवनका विभिन्न कठिन परिस्थितिमा पनि यो साहित्यिक पथिकको यात्रा रोकिएको छैन । कुनै न कुनै रुपमा साहित्य साधनामा लागिरहेको छ । कवितासंग्रहको पाण्डुलिपि प्राप्त गरेको निकै समय बितिसक्ता पनि यस बारेमा केही लेख्ने समय जुराउन मलाई निकै कठिन भइरहको थियो । धेरै पछि एक दिन उनको फोन आउँछ — चाडै प्रकाशन गर्ने मनसाय सहितको । अब भने मलाई साँच्चै नै सकस पर्छ । कवितासंग्रहको पाण्डुलिपि प्रिन्ट गरेर, गाढीमा बोकेर हिँडन थालेँ कतै समय निस्कियो कि तिनै कविताहरुका बारेमा चिन्तन गर्न थालेँ । उनका कविता एक सर्को पढेपछि लाग्यो उनी दौँतरी भूटानी कविहरुभन्दा अलिक पृथक छन् । खास गरिकन उनका केही कवितामा एक किसिमको गद्यात्मक फ्लेबेर छ — सौम्य भाषा, मिठासपूर्ण वाक्यविन्यास अनि लयात्मकता । कताकता यस्ता कविताको लयले, मृदुलताले मनको अन्तकुन्तर छोइदिन्छ अनि लेख्न बस्छु यससंग्रहका बारेमा केही गन्थन । भूमिका नै किन भन्नु पर्‍यो –मलाई लागेका केही गन्थन ।
उनका कवितामा चिन्तनशीलता छ । मानवीय पीडा, जीवन, प्रकृति र आध्यात्मिकताको सानिध्यमा उभिएर उनका रचना आएका छन् । उनी कवितामार्फत मावन जीवन र प्रकृतिको रहस्यात्मकताको चित्रण गर्दछन् । रोमान्टिक कविहरुको यो एक किसिमको प्रवृत्ति पनि हो । जीवनमा अनेक कुराहरु यस्ता छन् जो बोध गर्न सहज छैन । प्रकृतिको स्वरुप पनि बदलिरहन्छ । जस्तो कि उही आकाश हो, उही बिहान, उही घाम, उही जून, उही फूल कति फरक रुपमा हामी देख्छौँ, फरक अवस्थिति र मनका भावलोकहरुमा । सुखका क्षणहरु अनुभूति गर्दा उही जून, उही फूल कति खुलेको र मुस्काएको लाग्छ । दुःख र बिरहको पलमा उही जून, उही फूल, उही बिहान कति फिक्का र उदास । कवि रसाईली प्रकृति र जीवनमा तादात्म्यता खोज्दछन् ।

कहाँ होला यो कताबाट आयो ?
भयंकर वन बीच जन्म पायो
कसले रोप्यो गर्यो मलजल ?
सकल सृष्टि पार्यो झलमल ।
अर्को एउटा सन्दर्भमा कवि लेख्छन् —
रित्तियो आकाश चल्यो बतास
फुल्न छाडे ती बादल फूल
झर्ना छाँगा आकाश उदास
जगत लीला फगत भूल

उनका कवितामा ठिमाहपन देखिन्न । पाश्चात्य संसारमा आइपुगेर पनि उनी यताको तडकभडक र रङ्गरोगनले छोइँदैनन् बरु उतैतिरको असारको सम्झना संगाल्न पुग्दछन्, झ्याउँकिरीको गीतको धुनमा हराउँदछन् अनि मानो रोपेर मुरी फलाउने असारको मिठो कल्पना गर्दछन् —

अनि उम्रिन्छ बीज
अनि अम्रिन्छ आत्मा
जाग्छ जे जता छोए
फल्छ जे जसो गरे
एक दानो—
फल्छ मानो
मानो –फल्छ मुरी
सृजना यो अपार
कति कोमल यो आसार

यसरी उनले गाउँ सम्झेका छन्, असारको रमाइलो सम्झेका छन्, कृषि जीवनको गरिमा र महत्वलाई प्रकाश पारेका छन् । मान्छेको मन कहाँदेखि कहाँसम्म उड्न सक्दोरहेछ । कहाँदेखि कहाँसम्म आइपुग्दा पनि मनमा गडेर रहेको त्यो अतीतको सुमधुर सम्झना सधैँ ताजा भएर आइरहँदो रहेछ । तर यथार्थ कति फरक भइसक्यो ।
स्वतन्त्रता र अधिकार खोज्दा देशबाट निर्वासिनु पर्ने नियति भोगेका कवि चरा जस्तै उन्मुक्त भएर उड्ने दिनको प्रतीक्षा गर्दछन् । समय र निरङ्कुशताको त्रासदीसँग जुद्धै हिँडेका कविलाई स्वाभिमान र आत्मगौरवको रापले सधैँ पिरोलिरहन्छ ।

खुल्ला आकाशको पंक्षी झैँ
आफ्नै गति आफ्नै गीत
आफ्नै चारो आफ्नै चुचो
चर्दै चर्दै खोजी गर्दै

उनका कवितामा आध्यात्मिक चेत र जीवनप्रतिको दार्शनिक दृष्टि छ । जीवनको क्षणिकता, अनित्यता र रहस्यात्मकता त्यही आध्यत्म चिन्तनको धरातलसँग गाँसिएर प्रकटित भएको छ । चमेलीको चर्खा चल्यो यसभावको प्रतिनिधि कविता हो । यस कवितामा आएको चर्खा केवल एउटा भौतिक चर्खा मात्रै होइन, आध्यात्मिक जीवनदृष्टिको द्योतक पनि हो । जीवन एक वृत्त हो —जन्म र मृत्युबीचको । यो एउटा दुःखका अनेक भुवरीमा परिक्रमा गर्दै रगेटिरहने चर्खा हो । यो जीवनदृष्टि हिन्दु धर्म–दर्शनबाट पनि प्रभावित छ । उनी आत्मज्ञानविना मानिस अज्ञानरुपी अन्धकारमा डुबिरहेको देख्दछन्—

यता जीवन खेदिरहेको
उता मृत्यु ढुकिरहेको ।
………………..
ओरिपरि सब सान्सुन्नै छ
मानिस नींदमा चुर्लुमै छ ।

चमेलीको चर्खा चल्यो चमेलीको दुःखमय जीवन कथामा आधारित कविता हो । यो जस्तै कथा भन्ने अर्को एउट कविता पनि छ भूलेको वेग । यो कवितामा वर्णित कथा घामका नजिक नजान चेतावनी दिँदादिँदै इन्कार गर्ने र जाँदा घामले मैन पग्लिएर, पखेटा खुस्किएर झरेको इकारसको कथा जस्तै छ । यी दुवै कविता चाखलाग्दा छन् ।
कविले मानिसका दुःख, पीडा, वेदना र चित्कारलाई कवितामा उतारने प्रयत्न गरेका छन् । नारी, विधवा, गरिवी, शान्ति जस्ता विषयले पनि कवितामा स्थान पाएका छन् । जताततै अशान्ति, वैमन्यता, होडबाजी चलिरहेको विश्वमा निरीह र निमुखा मानिसहरुले दुःख पाइरहेकोप्रति कवि चिन्ता व्याक्त गर्दछन् । वास्तवमा शान्ति विज्ञापन गरेर स्थापना हुने होइन त्यसप्रतिको चाहना र प्रतिबद्धता मानिसहरुको भित्री मनबाटै आउनु पर्दछ —

बुद्ध तिमी भित्रै तड्पी रहेछ
शान्ति तिमी भित्रै सुतिरहेछ ।

घृणालाई प्रेमले, हिंसालाई अहिंसाले, शत्रुतालाई मित्रताले जित्न सके बुद्ध खोज्न कहिँ जानु नपर्ने कवि औँल्याउँदछन् । चमेलीको चर्खा चल्यो, विधवा, बुद्धू अनि शुद्ध बुद्ध जस्ता कवितामा उनको मानवतावादी दृष्टि पढ्न पाइन्छ ।

उनका कवितामा क्रान्ति र विद्रोह छैन । चिन्तन, चेतना र आग्रहशीलता उनका कविताको चरित्र हो । कविले फरक फरक शैलीका कविता रचना गरेर पाठकलाई फरक किसिमको स्वद दिन खोजेका छन् । कहिँ कविता लयात्मक छन् भने कहिँ लयमुक्त छन् । संरचनात्मक रुपमा केही कविता फितला देखिन्छन् । जुनरुपमा केही कवितामा विशिष्टता र स्तरीयता देखिन्छ त्यस्तो अधिकांशमा कायम भएको देखिँदैन । तर साधना ठूलो कुरा हो । निरन्तरता ठूलो कुरा हो —

तर उड्ने वेग होइन बिर्सेको
मात्र पलाउन प्वाँख पर्खेको ।

म यहाँ दुर्बलताहरु कोट्याएर, उनका कवितामा देखिँएको ऊर्जा र सबलतालाई नकार्न खोजिरहेको छैन । सुन्दरता र विशिष्टता बोकेका अनेक पदावाली त छँदैछन् । पढेपछि त्यो पाठकले थाहा पाउने नै छन् । अनि पाठक समक्ष पुगेपछि, यससंग्रहले समिचिन माया र स्थान पाउने कुरामा म विश्वस्त छु । अब भूमिकामा पाठकलाई धेरै अल्झाउनु भन्दा मेरो यो परिचयात्मक लेखनलाई यही रोक्नु मनासिब होला । अन्त्यमा, कविलाई शुभकामना र बधाई भन्दै संग्रहभित्रबाट तलका पंक्ति पाठकसमक्ष छोड्न चाहान्छु—

गोरेटो मेटियो त के पो भो
लक्ष अझै आँखामा तारो भो
अर्को एउटा तहर—
नांगा मेरा हाँगाहरुमा
पालुवा अल्झाउदै आऊ !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *