एउटा पत्र
दिपक थापा
अमेरिका, भर्जिनिया
भूतपूर्व मित्र,
पैसाको समुन्द्रमा पौडी खेल्दै मित्रताको स्मृतिलाई कुल्ची निसास्सिएर मर्न बाध्य पार्ने हजुरको अठोट ढोकामा चालेको बालुवा जस्तै अविश्वासी बन्यो ।
स्कुले जीवनमा चटपटेको थाली पालै पालो गरी जिब्रो मिठ्याउँदै रित्याउँदाको परिणाम ओठमा बल्झिएर आउँने जुठोको घाउ नथाकेकै बेस लाग्थ्यो मलाई । एउटा भिखारीलाई मुस्कान दिलाउन असमर्थ अर्को गरिबको दशा कसले बुझ्ने? जाबो फेसबुकको रिक्वेस्ट त आजसम्म तपाईँको लागि अोझेलमै रहयो। पिरो अचार मुखमा पर्ने बित्तिकै सबै मोमो तपाईँकै यादहरुमा सेलाएर जान्छन् तर मेरो अनुपस्थितिमा तपाईँलाई दसैँ बन्दो हो।स्वार्थी हजुर! त म भन्र सक्दिन, तर हजुरको व्यवहारलाई प्रष्ट्याउने अर्को शव्द नै पाइन मैँले। उट्पट्याङवश कार्कीको उखु चोर्दा अँध्यारोमा हजुरले भूत बनी तर्साउँदा काटेको हातको दाग मित्रताको चिनो मानी आज पनि हेरिबस्छु। मन त लाग्छ घोटेर मेटाउँ तर सकिन “चिनोसँगै तपाईँसँग भेटिने भाग्य जाने त्रासमा”।
मित्रताको फूलबारीमा निस्वार्थी मनहरुको फूल फुलाउने जमर्को गरी गोडमेलमा अहोरात्र खटेको मालीलाई सहजै दूध र पानी छुट्याउने हाँसको त्यो शक्ति त मिल्दो हो त खड्किएका हरेक काँडाहरुबिच पनि सुन्दर कोपिलाहरु रमाइलो भोलिको अभिलासामा संसार चिहाइरहेका हुन्थे हाम्रो साथहरुमा पनि तर अबुझ मनहरुको असिनाले मित्रताको मुनाहरु चुटेर मारे पछि मुस्कुराउन भुलेको, यो जिउँदो लास धोकाहरुको कात्रो अोडेर विगतका स्मृतिको चितामा जलिरहेछ एक्लै।
सबै सम्झनाहरुको आँसुले हजुरको दिल चिस्याएकै थिएँ नि केवल डलरको समुन्द्रको बाँध उल्टयाउन नजान्नु मात्र मेरो भुल हो; म पनि कति मूर्ख? त्यत्रो खेती, मेरो प्रत्येक हप्तामा नयाँ मुना चुड्दा भइहाल्थ्यो नि “आखिर चिया पत्तीँझै बररर उम्रेकै थिए मेरो पसिनाको बगानमा डलरका बोटहरु” हजुरले कल्पे अनुरूप।
स्मृतिहरुको पोकालाई अबुझ मनको डिलबाट पल्टाएर कसरी पो हाँस्न सक्नु भयो तपाईँले? विगतका खुसीहरुको पङ्खा हालेर रात भर तपाइकै सपनीमा उडिरहन्छु; आँखा चिम्लिएर तपाईँले फड्को मारेको आभास कहिल्यै भएन बरु झन् नजिकिए हजुर सामिप्य नचाहेरै अनुपस्थितिमा केवल कल्पिँदै खुसी हरेक प्रहर तपाइकै । मनको ढोकामा कसिलो प्रहणहरुको तगारो लगाएर उभिएका हजुरका विचारहरू भित्र फूलहरूका गुच्छा अनि माला लिएर बिगतकोझैँ हाँसो फर्काउन सयौँ काँडाहरुको गोडमेलमा खटिरहकै छु अझै पनि।
अनजान भुलहरुको भुमरीभित्र हाम्रो साइनो कता मोडिँदै छ ? पिरमा गलेको छ मन। कठोरताको सुन्दर पोतेमा रङ्गिएर निष्ठुरतामा सुहागरात बिताएको हाम्रो साइनो अपबित्र ठानेर अग्नि परीक्षामा आलिंगन नकार्दिन म । सुधामा र कृष्ण कनैयाको मित्रताको कथाझैँ हाम्रो साथहरुले पनि नयाँ कोसेलीहरु साटिइरहन पाउन् ।।
उही तपाईँको साथी
दिपक अभागी