एउटा प्रश्न

‘दियालो’ सुसन माझी / टेक्सास, अमेरिका Susan

नियतीले यतिखेर
दुनियाँको सपनाको देशमा
विपनीमै जिइरहेको मान्छे म,
सधैं एउटा
सरल अनि नियमित प्रश्नसँग झस्कन्छु-
तपाईं कहाँबाट ?
हो, यही एउटा प्रश्न, सरल प्रश्न
मानिसलाई सोध्न जति सहज छ,
अनि त्यत्ति नै सरल छ उत्तर दिन,
तर मलाई ? कति गाह्रो
मानौं यो छातिमा
सिंगो ब्रह्माण्ड नै आएर थिचेजस्तो !
कसैलाई भनी दिन्छु, म नेपाली हुँ, नेपालबाट
सोच्छु, मातृभूमिलाई अन्याय भो,
त्यसैले भन्ने गर्छु, भूटानी मूलको नेपाली म ।
नेपालबाट हुँ भन्दा
कसै कसैले बुद्धका कुरा गर्छन्,
कोही भने एभरेष्टको !
भूटानलाई त चिन्दा पनि चिन्दैनन्
बरू सापटी लिनुपर्छ भारतको !

आजभोलि दोधारमा छु / दोसाँधमा छु
मातृभूमिलाई चिनाउँ या नेपालीपनलाई ?
म आफैंलाई चिनाउँ या देशलाई ?
आखिर,
नारीहरूको कुनै थर नभएजस्तै
नागरिक भन्नु पनि त त्यस्तै रै’छ
तर,
जन्मभूमि, स्वर्ग भन्दा प्यारो हुन्छ
त्यो त मनमा हुन्छ, मुटुमा हुन्छ;
चाहे कर्मभूमि जहाँसुकै होस्
र, जतासुकैको नागरिक बने पनि …!
खैर जे होस्,
यसघरि म त्यही एउटा प्रश्न / सरल प्रश्नको
उत्तर खोज्नमा सोचमग्न छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *